कर्मचारीतन्त्र परास्त, जनप्रतिनिधिहरूले जित : राइनासको नगरस्तीय अस्पताल चक्रतीर्थमा बन्ने सुनिश्चित - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, March 25, 2021

कर्मचारीतन्त्र परास्त, जनप्रतिनिधिहरूले जित : राइनासको नगरस्तीय अस्पताल चक्रतीर्थमा बन्ने सुनिश्चित

अन्तरङ्ग संवाददाता

तीनपिप्ले(लमजुङ)– लमजुङको राइनास नगरपालिकामा निर्माण गरिने नगरस्तरको १५ शैयाको आधारभूत नगरस्तीय अस्पताल अन्ततः उक्त नगरपालिका– ४ को चक्रतीर्थ(अल्काटार)मा निर्माण हुने गरी विवाद टुंगिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १२ गते सो विवाद टुंग्याउँदै राइनास नगरपालिकालाई उक्त अस्पताल चक्रतीर्थमा निर्माण गर्न पत्र पठाएसँगै सो विवाद सल्टिएको हो । योसँगै राइनासको नगरस्तीय अस्पताल चक्रतीर्थमा बन्ने सुनिश्चित भएको छ ।

उक्त नगरपालिका– ४ को चक्रतीर्थ(अल्काटार)मा सो अस्पताल निर्माण गर्नका लागि नगरकार्यपालिकाको पहिलो बैठकले सर्वसम्मत निर्णय गरेको थियो । सो निर्णय सँगै समाजसेवी जगतप्रसाद कट्टेलको संयोजकत्वमा जग्गा व्यवस्थापनका लागि एक समिति गठन गरी अस्पतालका लागि आवश्यक पर्ने १३ रोपनी जग्गासमेत चक्रतीर्थका बासिन्दाले अस्पतालका नाउँमा दान गर्नु भएको थियो । अस्पताल निर्माणका लागि नगरपालिकाले ११ लाख रुपैयाँ खर्च गरी डिपिआर समेत तयार गरेको थियो । लोकतन्त्रमा जनताका प्रतिनिधिलाई सरकार मानिन्छ । ऐले नेपालमा तीन तहको सरकारको अभ्यास चलिरहेको छ । कर्मचारीतन्त्रलाई ती तीनै तहका सरकारबाट गरिएका निर्णय कार्यान्वयन गर्ने सहयोगी अवयवका रुपमा लिइन्छ । तर यो बीचमा धमिलिकुवाका एक रैथाने र सो स्थानका भाञ्जा नाताका दुई जना कर्मचारीको मिलेमतोमा जनप्रतिनिधिहरूले सर्वसम्मत गरेको निर्णयलाई कुल्चदै उक्त नगरपालिका– ६ को धमिलिकुवा स्थित धमिलिकुवा स्वास्थ्य चौकी, जसको स्वामित्वमा एक आना पनि जग्गा छैन– को स्तरोन्नति भन्दै नगरस्तरमा निर्माण गरिने अस्पताल निर्माणको लागि चालु आवमा सरकारले छुट्याएको चार करोड बजेट समेत धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति भन्दै लेखाउन भ्याएका थिए । 

त्यसपछि उक्त अस्पताल चक्रतीर्थमा बनाउने कि धमिलिकुवामा ? भन्ने विवाद उत्पन्न गराउने काम ती दुई कर्मचारीबाट हुन गएको थियो । त्यही विवादका कारण गत मंसिर १५ गतेका दिन मुलुकभरका पालिकामा शिल्यान्यस गरिएका अस्पताल पनि उक्त पालिकामा वडानं– ४ का मेयर सिंहबहादुर थापा र वडानं– ६ धमिलिकुवामा वडाध्यक्ष रुपबहादुर तामाङले सिलान्याश गर्नु भएको थियो । उक्त कथित विवाद तथा अस्पतालको यथार्थ वस्तुस्थितिका बारेको समाचार यसअघि अन्तरङ्गले ‘कर्मचारीले छेके अस्पताल’ शीर्षकमा प्रकाशन गरीसकेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १२ गते नगरपालिकालाई लेखेको(यहाँ संलग्न) पत्रबाट कर्मचारी तन्त्र परास्त भएको र जनप्रतिनिधिको जीत भएको रुपमा हेरिएको छ । सो पत्रले आधारभुत अस्पताल बनाउने विषयमा राइनास नगरपालिकामा भएको विवाद टुङ्ग्याउने काम भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेखेको पत्रमा भनिएको छ, ‘चालु आव २०७७÷७८ को नीति तथा कार्यक्रममा भुगोल र जनसंख्याका आधारमा रहेक स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल स्थापना तथा स्तरोन्नती गरिने व्यवस्था अनुसार तहा नगरपालिका अन्तरग धमिलिकुवा स्वास्थ्य चौकीलाई १५ शैया अस्पतालमा स्तरोन्नती गरी भवन निर्माणार्थ बजेट विनियोजन भएकोमा मापदण्ड अनुरुप जग्गा नभएकोले चक्रतीर्थ स्वास्थ्य चौकी अल्काटारमा स्तरोन्नती हुने गरी स्थान परिवर्तनका लागि तहाँ नगरपालिकाबाट अनुरोध भए बमोजिम श्री अर्थ मन्त्रालयबाट अनुरोध गरिएकोमा श्री अर्थ मन्त्रालयको च.नं.– १७०४ मिति २०७७÷१२÷१० को पत्रबाट चक्रतीर्थ स्वास्थ्य चौकी वडानं ४ अल्काटारमा १५ शैय्या अस्पतालमा स्तरोन्नती गर्न स्वीकृति प्राप्त भएकोले(छायाप्रति यसै पत्रसाथ संलग्न छ) आवश्यक कार्यार्थ तहाँ पठाइएको व्यहोरा अनुरोध छ ।’ 

यो पत्र नगरपाकिलामा प्राप्त भएसँगै अनावश्यक रुपमा कर्मचारीद्वारा उछालिएको नगरपालिकाको अस्पताल निर्माण सम्बन्धि विवादको टुंगो लागेको हो । अर्थ र स्वास्थ्य दुवै मन्त्रालयका निर्णयले अन्ततः जनप्रतिनिधिहरूले नगरकार्यपालिकाको पहिलो बैठकमा गरेको सर्वसम्मत निर्णय कार्यान्वयमा आउने भएको छ– जसले जनप्रतिनिधिको जित भएको र कर्मचारी तन्त्र परास्त हुने गएको पुष्टि भएको छ । अर्थ र स्वास्थ्य मन्त्रालयको यसबारेमा गरेको निर्णयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत पक्ष पोषण गरेको आम बुझाई छ । 

स्मरणीय छ, सरकारले राइनासको चक्रतीर्थ अस्पताल सहित जिल्लाका ७ स्थानीय तहमा १५ शैय्याका अस्पताल निर्माण गर्नका लागि क्रमगत रुपमा निर्माण गर्ने गरी चालु आवका लागि करिव १७ करोड रुपैयाँ विनियोजन गरेको छ । उक्त निर्णयसँगै राइनासमा आएको चालु आवमा खर्चिनु पर्ने ४ करोड रकम फ्रिज हुने हो कि भन्ने आशंका समेत टरेको छ । 

स्मरणीय छ, धमिलिकुवा क्षेत्र(गरमबेसी)मा रहेको सहोदर अस्पतालको स्तरोन्नतिका लागि समेत नेपाल सरकारले २ करोड रकम विनियोजन गरेको छ । नयाँ वर्षसँगै सो अस्पतालले नयाँ भवनमा सेवा शुरु गर्ने निकट भविष्यमै ५० शैय्याको सेवा सुचारु गर्ने सो अपस्पतालले जनाएको छ । 

No comments:

Post a Comment