क्व्होलासोंथर गाउँपालिकाको १ लाख पुरस्कारको फुटबल उपाधी भुजुङलाई - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, March 25, 2021

क्व्होलासोंथर गाउँपालिकाको १ लाख पुरस्कारको फुटबल उपाधी भुजुङलाई

अन्तरङ्ग संवाददाता

लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा सञ्चालित क्व्होलासोंथर गाउँपालिका फुटबल लिग २०७७ को उपाधी उक्त पालिकाको वडा नं. ४ भुजुङले हात पारेको छ । क्व्होलासोंथर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सोही गाउँपालिका– ३ घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा भएको गाउँपालिकास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल भएको हो ।

फाइनल खेल वडा नं. ४ भुजुङ र वडा नं. ५ सिङ्दीबीच भएको थियो । खेल अवधीभर १/१ कुनै पक्षले पनि गोल गर्न नसके पछि पेनाल्टी सुटआउट तथा टाईब्रेकरमा ६ का विरुद्ध ७ गोल गर्दै भुजुङले उपाधी जितेको आयोजकको भनाई छ । उपाधिका साथ भुजुङले १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता सिङ्दीले ५० हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सो प्रतियोगितामा उत्कृष्ट खेलाडीमा सिङ्दीका उक्तम गुरुङ, सर्वाधिक गोलकर्तामा भुजुङका बुद्धिबहादुर गुरुङ घोषित हुनुभएको छ । बुद्धिबहादुरले खेल अवधिभर ७ गोल गर्नुभएको थियो । दुवै जनालाई ५÷५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । अनुशासित टिममा वडा नं. ७ भोजे घोषित भएको छ । 

बिजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेल क्षेत्रको विकासमा गण्डकी प्रदेश सरकारले योजना बनाएर काम गरेको बताउनुभयो । घलेगाउँ गण्डकी प्रदेशकै निकै सुन्दर ठाउँ रहेको र घलेगाउँमा भएको खेलमैदानको स्तरोन्नती गर्ने कार्यमा सहयोग गर्ने बताउनुभयो । उहाँले ग्रामीण पर्यटनलाई शहरको पर्यटनसंग जोड्नुपर्ने र समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । घलेगाउँ देश र विदेशमा चर्चित रहेको र यसलाई अझ प्रचार गरी समृद्धि ल्याउनुपर्ने बताउनुभयो ।

क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिका लिगमा राम्रो खेल खेल्ने खेलाडीले जिल्ला, प्रदेशमा पनि अवसर पाउने बताउनुभयो । जिल्लास्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरीय खेलाडी उत्पादनका लागि सबै लाग्नुपर्ने उहाँको भनाई थियो । 

क्व्होलासोंथर गाउँपालिका खेलकुद विकास समितिका समितिले खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि हरेक बर्ष फुटबल लिग सञ्चालन गर्दै आएको समितिका अध्यक्ष गंगाबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा गाउँपालिकाका ९ वटै वडाका ९ टिमले भाग लिएका थिए । 

क्व्होलासोंथर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गंगाबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङ, वडाध्यक्ष खर्काजङ गुरुङ, वडा नम्बर १ का अध्यक्ष पेमा गुरुङ, ४ का अध्यक्ष खिमबहादुर गुरुङलगायतले खेलाडीलाई बधाई दिनु भएको थियो । कार्यक्रमको सञ्चालन खेलकुद विकास समितिका सचिव दिलेश्वर गुरुङले गर्नुभएको थियो । 

No comments:

Post a Comment