नयाँ वर्षसँगै पालिकास्तरमा भूसेवा : सेवाग्राहीको बेसीशहर बस्नु पर्दा र लेखनदासलाई दिइने अपारदर्शी खर्चमा भारी कटौती हुने - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, March 25, 2021

नयाँ वर्षसँगै पालिकास्तरमा भूसेवा : सेवाग्राहीको बेसीशहर बस्नु पर्दा र लेखनदासलाई दिइने अपारदर्शी खर्चमा भारी कटौती हुने

अन्तरङ्ग   वर्ष– २९,  अंक– ३१,   चैत १२ गते (२०७७) प्रकाशित

बेसीशहर– मालपोत कार्यलय लमजुङले नयाँ वर्षको उपहार स्वरुप जिल्लाबासीलाई स्थानीय तहबाट भु सेवाको केन्द्र संचलन गर्ने भएको छ । उक्त प्रयोजनाका लागि भु सेवा केन्द्र सञ्चालनका लागि मालपोत कार्यलय लमजुङले आवेदनसमेत माग गरेको छ । 

भु सेवा केन्द्र सञ्चालन गर्न इच्छुक व्यक्ति, बैंक तथा वित्तिय संस्था, अन्य संस्था तथा स्थानीय तहहरूले अनुमतीका यही चैत ६ गते देखि २०७८ बैशाख ५ गतेसम्म आवेदन पनि माग गरेको छ । कार्यलयले अनलाईनमार्फत आवेदन माग गरेको जनाएको छ । त्यसपछि छनौट भएका केन्द्र सञ्चालकहरूमार्फत आगामी बैसाखको दोस्रो सातादेखि यो सेवा पालिकास्तरबाट उपलब्ध हुनेछ । 

उक्त सेवा लागू भएपछि मालपोत कार्यलयमा धाएर जग्गा संवन्धि कारोवार गर्ने सेवाग्राहीहरूलाई छिटो छरितो, सरल र सहज हुने मालपोत कार्यलय लमजुङका प्रमुख इश्वरकमल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हालसम्म लेखापढीमार्फत सेवाग्राहीले सेवा लिँदै आएकोमा अब भु सेवा केन्द्र संचालन भएपछि भने योग्यता पुगेका जोकोही व्यक्तिले सेवा केन्द्र सञ्चालन गर्न पाउनेछन् । यसबाट दुर्गम गाउँबाट आएको मानिसले २, ३ दिनसम्म बेसीशहरमा बस्नु पर्ने बाध्यता हट्छ ।  स्थानीय तहबाटै लिखत तयार पारेर कोड लिएर आएपछि कार्यलयले सहज रुपमा सेवा दिने उहाँले बताउनुभयो । उहाँका अनुसार यो सेवा केन्द्र स्थानीय तह, संस्था र व्यक्ति जो कोहीले आँफै सञ्चालन गर्न पाउने छन् । 

संघीयता कार्यन्वयन सँगसँगै यसै आर्थिक वर्षबाट स्थानीय तहमा मालपोत जाने भनिएको थियो । पहिलो चरणमा यो सेवा केन्द्रमार्फत काम गर्न लागिएको बताइन्छ । यसबाट बेसीशहरमै आएर लेखापढी गर्न पर्ने लाइसेन्स भएकाले मात्रै लेखापढी गर्ने अवस्थाको अन्त्य गर्दै स्वयं व्यक्तिले पनि आँफै गर्न पाउने हुँदा खर्चका हिसावले पनि यो सेवा धेरै मितव्ययी भएको श्रेष्ठले बताउनुभयो । 

भू–सेवा केन्द्र सञ्चालनमा आएपछि मालपोत कार्यालयमा दिनभरी भिड लगाएर बस्नु पर्ने झञ्जट समेत हट्नेछ । धेरै काम अनलाइन मार्फत कागजात र निवेदन पेश हुने हुँदा मालपोत कार्यालयमा हुँदै आइरहेको भिडभाड पनि घटाउने छ । 

त्यतिमात्र हैन सेवाग्राहीसँग लेखापढी व्यवसायीहरूले मनलाग्दी सेवा शुल्क असुल्दै आइरहेका भू–सेवा केन्द्र सञ्चालन गर्ने भएपछि लेखापढी व्यवसायीको एकाधिकार अन्त्य हुने र  सेवाग्राहीले सर्वसुलभ रुपमा सजिलै सेवा पाउन सक्ने स्थिति सिर्जिने छ मालपोत कार्यालयका प्रमुख श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार कार्यलयले  घरजग्गा रोक्का र फुकुवाको काम बैंकबाटै गर्न लागेको छ । जसको सेवा शुल्क पनि निकै कम लाग्छ । बैंकले रोक्का फुकुवाको सेवा निःशुल्क दिन पनि सक्छन् ।  

No comments:

Post a Comment