अन्तरङ्ग वर्ष– २९, अंक– ३१, चैत १२ गते (२०७७)को मुख्य समाचार
घलेगाउँ(लमजुङ)– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको अब बाँकी २ वर्षको अवधिमा केपी शर्मा ओली नै प्रधानमन्त्री रहने ठोकुवा गर्दै उहाँलाई प्रधानमन्त्रीबाट हटाउने खोज्नु फलामको चिउरा चपाउनु भन्दा साह्रो रहेको बताउनु भएको छ । दक्षिण एशियाको नमुना ग्रामीण पर्यटकीय घलेगाउँमा आयोजित वृहत स्वास्थ्य शिविरको उदघाटन गर्दै उहाँले चैत १० गते त्यस्तो बताउनु भएको हो ।
उहाँले सरकार के होला ? भन्ने जिज्ञासा बढी रहेको बेला ओलीलाई हटाउन सोँचेजस्तो सजिलो छैन भन्दै पार्टी अध्यक्ष समेत रहनुभएका ओली नेतृत्वको सरकार नै अबको २ बर्षका लागि कायम रहने र प्रधानमन्त्रीलाई कसैले हटाउन सक्दैन भन्नुभयो । गुरुङले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न गराएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गिराउने चर्को कसरत भइरहे पनि सोचे जस्तो सहज र संभव नभएको दावी गर्नुभयो ।
मुख्यमन्त्री गुरुङले जति चिताए पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन किनकि नेकपा एमालेले जुन पार्टीसंग मिलेर गएपनि सरकार बन्ने एक मात्र पार्टी रहेको प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो, ‘एमाले बाहेक अन्य तीन पार्टी मिलेर सरकार बन्ने अवस्था घाम– जुन मिल्नु जस्तै रहेको अर्को सरकार नबन्ने भएकाले स्थिरताको बाटोमा, विकासको बाटोमा सबैको साथ र सहयोग दिनुपर्ने बताउनुभयो । उहाँले नागरिकलाई अलमलमा नपर्न पनि आग्रह गर्दै प्रधानमन्त्रीलाई अविस्वासको प्रस्ताव ल्याए पनि पारित हुन कठिन स्थितिले सरकार परिवर्तन नहुने उहाँले बताउनुभयो । अहिले देशमा अस्थिरताको प्रयत्न भए पनि रोक्ने र छेक्ने सामथ्र्य र क्षमता एमालेमा रहेको भनाई छ ।
उहाँले भन्नुभयो, ‘‘सांसद किनवेचको स्थिति आउँछ, तानातान हुन्छ, आर्थिक चलखेल हुन्छ भनेर अप्ठ्यारो परिस्थितिमा प्रधानमन्त्रीले लोकतान्त्रिक बाटो चुनाव रोज्नुभएको हो’ पार्टीमा अस्थिरताको स्थिति आउँदा नयाँ चुनावमा जाँदा नै स्थिरता हुने, लोकतान्त्रिक हुने भएपनि अदालतले पुनःस्थापना गरिदिएकाले अदालतको निर्णयलाई सम्मान गर्दै अघि बढेको उहाँको भनाई छ ।
माधवकुमार नेपाल र प्रचण्ड नेतृत्वको समुह सरकार गिराउने खेलमा चर्को मेहनेत गरिरहेको बताउँदै अविश्वासको प्रस्ताव ल्याउनु महत्वपूर्ण हैन, त्यो आउन सक्छ तर त्यसलाई पारित गर्न सक्नु ठूलो हो भन्दै सरकार ढलाएर देखाउन उनले चुनौती दिनुभयो । आन्तरिक किचलोलाई बढाएर अर्को किचलोमा फसेकाहरूमा कसले नेतृत्व गर्ने भन्ने ठूलो द्वन्द्व रहेको उहाँले बताउनु भयो । उनीहरू आफैंमा पनि नेतृत्वको समस्या रहेको र उनीहरूले जसलाई गुहारिरहेका छन् उनीहरूमा पनि त्यही समस्या रहेकाले ओली सरकार ढलाएर अर्को सरकार बनाउने सपना साकार नहुने मुख्यमन्त्री गुरुङले बताउनु भयो ।
नेकपा एमालेले नेपाली काँग्रेस वा माओवादी वा जनता समाजवादी जुनसँग तालमेल गरेपनि सरकार बन्ने बताउँदै अरु पार्टीहरू सरकार बन्ने कुरा जुन र घामको मिलन भए बराबरको अवस्था रहेको पनि उहाँले बताउनु भयो । सरकार आफ्नो अवधिभर रहने बताउँदै सरकारको रोइलो गर्नेहरूको पछि नलाग्न समेत उनले सर्वसाधारणमा आग्रह गर्नु भयो । वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा निकै उल्लेखनीय कार्य गरेको भन्दै सरकारलाई कमजोर सावित गराउन आफ्नै वृत्तबाट राजनीतिक अस्थिरता उत्पन्न गराईएकाले चाहे जस्तो गतिमा काम अघि बढाउन नसकिएको गुरुङले बताउनु भयो ।
अर्को एक प्रस·मा उहाँले गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याएको छ, त्यसले प्रदेशमै जनशक्ति उत्पादन गर्ने र सेवा सुविधा राम्रो दिएर प्रदेशमा राख्ने योजनामा प्रदेश सरकार लागेको छ भन्नुभयो । उहाँले आफू नेतृत्वको सरकार गाउँगाउँमा र जिल्ला अस्पतालमा डाक्टर बसाउने अभियानमा लागेको बताउँदै त्यसका लागि डेढ अरब खर्च लाग्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । नागरिकको जीवन रक्षाको लागि गण्डकी प्रदेश सरकारले कुनै कसर बाँकी नराखेको भन्दै अहिले हरेक गाउँपालिकामा पाँचदेखि १० शैय्या र नगरपालिकामा १५ शैय्याको अस्पतालको व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो । १५ शैय्यासम्मको अस्पताल स्थानीय सरकारले व्यवस्थापन गर्ने २५ देखि दुई सय शैय्याको अस्पतालको व्यवस्थापन प्रदेश र त्यस माथिको शैय्या अस्पतालको व्यवस्था संघ सरकारले गर्नेछ उहाँले सुनाउनु भयो ।
सरकारको सहलगानीमा लमजुङ, तनहुँ र स्याङ्जामा नयाँ भवन निर्माण हुने र मनाङ र मुस्ताङमा निर्माण भइरहेको उहाँको भनाई छ । जिल्ला अस्पतालहरूलाई सुदृढीकरणका लागि विशेष योजना र संरचना निर्माणमा लागेको बताउँदै उहाँले भौतिक संरचनासंगै जनशक्ति व्यवस्थापनमा प्रदेश सरकार लागि परेको जानकारी दिनुभयो ।
शिविर आरम्भका अवसरमा गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङ, प्रदेश मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, जिल्ला अस्पतालका निर्देशक हेमन्त श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष आश गुरुङ लगायतको सहभागिता थियो । गण्डकी मेडिकल कलेज पोखरा, स्वास्थ्य कार्यालय, गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखामा कार्यरत् स्वास्थ्यकर्मीले शिविरमा परीक्षण र उपचार सेवा दिइरहेको स्वास्थ्यकर्मी मोहदत्त ढकालले बताउनु भयो ।
उक्त शिविरबाट चार सय दुई जनाले स्वास्थ्य परीक्षण गरेको क्ब्होलासोंथर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख त्रिलोकचन्द्र गुरुङले बताउनु भयो ।
No comments:
Post a Comment