अन्तरङ्ग संवाददाता
पुस्तुन(बाहुनडाँडा)– राष्ट्रकवि माधव घिमिरेको जन्मस्थल, लमजुङमा साहित्यका लागि पर्यटन काव्य–यात्रा गरिएको छ । यहाँ स्थित चन्द्रोदय माविको हातामा आयोजित काव्ययात्राको संविधान सभाका सदस्य एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार जमिन्द्रमान घलेले चैत १५ गते उदघाटन गर्नु भएको हो ।
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको तत्वाधान, अन्तराष्ट्यि नेपाली साहित्य समाज(अनेसास)को समन्वय तथा ठाडोभाकाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको अयोजनामा काव्य– यात्रा गरिएको हो । आफ्नो प्रमुख आतिथ्य मन्तव्यका क्रममा घलेले ठाडोभाकाको गीत गाउन निकै कठिन हुन्छ भन्दै आफू पनि लोकसंगीतमा रुचि राख्ने मान्छे हुँ तर धेरै प्रयास गर्दा पनि सकिन भन्नुभयो । उहाँले साहित्य संगीतले सकारात्मक परिवर्तनका लागि सन्देश दिने काम गर्दछ यो कार्यक्रमले हौसला र प्रेरणा मिलेको छ उल्लेख गर्नुभयो । उहाँले स्रष्टाहरूले आफ्ना रचना र मन्तव्यमार्फत प्राप्त सुझाबले धेरै मार्गदर्शन गरेको छ, हाम्रो ध्यानकर्षण भएको छ, हामीलाई प्राप्त सुझाबलाई कार्यान्वयन गर्न पहल गर्नेछौं भन्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।विशेष अतिथि मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिकामा तीन विभूति राष्ट्कवि, डा. हर्क गुरुङ र भक्ति थापा रहेको र उहाँहरूको योगदानको सम्मानका लागि नीतिगत रुपमा नै पालिकाले कामको थालनी गरी बजेटको समेत प्रवन्ध गरेको बताउँदै यस कार्यलाई भोलिका दिनमा पनि निरन्तरता दिने उल्लेख गर्नु भयो । उहाँले ती तीन विभूति सहित नेपालको पहिलो सुरुङ मार्ग सहितका विषयवस्तुलाई हाइलाइट गरिदिन साहित्यका तथा पत्रकारहरूलाई आग्रह गर्नु भयो ।
अनेसासका अध्यक्ष सन्ध्या पहाडीले राष्ट्रकविको गाउँ सुनेका मात्र थियौं, आज देख्न पाउँदा अत्यन्त उत्साहित बनाएको छ, लमजुङ लोकसंस्कृतिले सम्पन्न जिल्ला हो, हामी फेरि पनि आउने छौं, यो पुण्यभूमिलाई तीर्थस्थलको रुपमा विकसित गर्न के गर्नु पर्छ हामी हाम्रो तर्फबाट गर्नु पर्ने कार्यमा तयार छौं भन्नुभयो ।
सो अवसरमा डा. शान्तामाया गिरीले नियात्रा तथा निवन्ध लेखनको सैद्धान्तिक अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो । यसैगरी, अनेसासका महासचिव ऋषभदेव घिमिरेले साहित्यका लागि पर्यटन संक्षिप्त विवेचनाको अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । ती दुई कार्यपत्रमा क्रमशः डा. सिर्जना उप्रेती र साहित्यकार एवम् प्रतिष्ठानका सल्लाहकार शालिग्राम अधिकारीले टिप्पणी गर्नु भएको थियो ।
उक्त कार्यक्रमको दोस्रो चरणमा भएको कवि गोष्ठीमा सहभागी सबै साहित्यकार तथा कविहरूले आ–आफ्ना रचना वाचन गरेका थिए । उक्त कविगोष्ठीमा आफ्नो पारिवारिक स्थितिलाई कवितामा सचित्र उतार्दै वाचन गर्ने उक्त माविको कक्षा– १० की छात्रा कविता परियारलाई भोलिका दिनमा उहाँको चाहना अनुसार नर्सिङ शिक्षामा कक्षा– ११ र १२ पढाईमा लाग्ने सम्पूर्ण खर्च काव्य–यात्रामा सहभागी साहित्यकार एवम् अन्तरष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका सचिव सरू सुवेदी जो तुलसादेवी हरिहर फाउन्डेसनको अध्यक्ष– हुनुहुन्छ उहाँले आफ्नो संस्थाले बेहोर गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै लोकसंस्कृतिका क्षेत्रमा काम गर्ने हामीहरूले यसको मर्मलाई बुझ्न जरुरी छ, ठाडोभाकाको नाँच विशेष खालको हुन्छ । जसरी पनि उफ्रदैमा नाँच हुँदैन । रमाइलोका लागि त्यसो गर्न सकिने भएता पनि त्यसको रकेर्ड भइरहेको हुँदा यो र्काक्रममा सहभागी नहुने र यो रेकर्ड हेर्नेहरूले भोलिका दिनमा ठाडोभाकाको नाँच यस्तै हो भनेर बुझ्ने हुँदा लगत सन्देश जाने डरले आफूले ठाडोभाकामा गरिने जस्तो पनि नाच्नका लागि रोकेको बताउनु भयो । उहाँले संगीतको महत्व राख्ने तीन विधा ‘बागीना’का कुशल प्रस्तोता ठाडोभाका लोककला प्रतिष्ठान नेपालका संरक्षक बुद्धिमान दुरा ‘धम्पु’लाई यो वर्ष हुने ठाडोभाकाको प्रतियोगिताको उदघाटनका अवसरमा ‘ठाडोभाका महानायक’को उपाधिले सम्मान गर्ने भएको जानकारी दिनुभयो । उहाँले यो कार्यक्रमले आउँदा वर्षमा पनि निरन्तरता पाउने छ भन्ने विश्वास व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानका सल्लाहकार एवम् ठाडोभाकाका शोधकर्ता मुक्तिनाथ घिमिरेले तीन महिनाको अवधिमा तयार गर्नु भएको ‘ठाडोभाकाको ४१९ पृष्ठको शोधपत्र’को प्रति प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो अवसरमा ठाडोभाकाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानकी सदस्य एवम् गायिका सीता दुरा, गायक द्वय आशबहादुर विक र राधा भण्डारीले ठाडोभाकाको प्रस्तुति गर्नु भएको थियो । वडाध्यक्ष लिलाप्रसाद घले, राष्ट्रकवि माधव घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष लोकनाथ धिमिरेसहितले शुभकामना व्यक्त गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन सोही माविका शिक्षक विनोद पोखरेलले गर्नु भएको थियो ।
यसैबीच, उक्त तीन दिने साहित्यका लागि पर्यटन काव्या– यात्रा नौ बुँदे घोषणापत्र जारी गर्दै समापन गरिएको छ । काव्य– यात्राको समापनका अवसरमा अनेसासका महासचिव ऋषभ घिमिरेले साहित्यका लागि पर्यटन काव्य–यात्रा मस्र्याङ्दी घोषणा पत्र– २०७७ को घोषणा गर्नु भएको हो । उक्त घोषणापत्रमा राष्ट्यि विभूतिहरू राष्ट्कवि माधव घिमिरे, डा. हर्क गुरुङ, आदि कवि भानुभक्त र कविशिरोमणि लेखनाथ पौड्यालका जन्मस्थललाई साहित्यिक गन्तव्य सहित तीर्थस्थलका रुपमा विकास गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गर्ने, साहित्य, कला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका लागि तीनै तहका सरकारद्वारा हरेक वर्ष नीति र कार्यक्रम बनाउदा निश्चित रकम छुट्याउनका लागि नीतिगत व्यवस्था गर्नु पर्ने, लमजुङको मस्र्याङ्दी गाउँपालिकामा निर्माणाधिन कालोढुंगा– बाहुनडाँडाँ– घेर्मु सडक खण्डलाई राष्ट्कवि राजमार्ग घोषणा गर्नुपर्ने आदि रहेको छन् ।
मस्र्याङ्दी गाउँपालिका– ५ को खानी गाउँस्थित रकगार्डेनको सभाहलमा भएको समापन कार्यक्रम सोही वडाका अध्यक्ष लेखमान गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । अनेसासका सन्ध्या पहाडीले काव्ययात्राको शीर्षक सार्थक भएको छ, राष्ट्कविको जन्मथलो कस्तो होला ? भन्ने कल्पना खानीगाउँको आतिथ्यता र यहाँका युवाले गरेको प्रयासले यो ठाउँमा आउँदा गर्व लागेको बताउनु भयो । उहाँले राष्ट्कविबाट हरेक व्यक्तिले प्रेरणा लिनु पर्छ भन्दै राष्ट्कविका बारेमा जान्नका लागि हिजो उहाँ जीवित हुँदाको लैनचौर अब रहेन । त्यसैले, अब राष्ट्कविका बारेमा जान्न चाहने व्यक्ति बाहुनडाँडामै आउँछन् उनीहरू यहाँ आउँदा अनुमानका भरमा फर्कन नपर्ने गरी केही ठोस विषय वस्तु पाउन सक्नु पर्छ, त्यो वतावरण बनाउनका लागि उहाँका नाउँमा स्थापित संस्था, स्थानीय पालिका, यो यात्राको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालसहितका संघसंस्था, प्रदेश र केन्द्रीय सरकार लगायत हामी सबैको कर्तव्य हो भन्नुभयो । उहाँले यसतर्फ सबैको ध्यानकर्षण चाहन्छु र अनेसासका तर्फबाट गर्नुपर्ने कार्यका लागि प्रतिवद्धता व्यक्त गर्दछु भन्नुभयो ।
लेखनाथ साहित्य समाजका सल्लाहकार एवम् स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक राष्ट्यि अध्यक्ष कृष्णप्रसाद बास्तोलाले यो कार्यक्रम महत्वपूर्ण रह्यो र धेरै वर्षसम्म अविस्मरणीय हरने बताउनु भयो । ग्रामीण जनजीवनसँग हातेमालोको अवसर पायौं भन्दै उहाँले कुण्ठाले मानसिक रोगी बनाउँछ, साहित्यले कुण्ठा मुक्त गराउने हुँदा साहित्यको महत्व छ भन्नुभयो । यसैगरी, गोरखापत्रका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले यो यात्राले धेरै सम्भावनाको ढोका खोलेको बताउनु भयो । उहाँले हाम्रा प्रधानमन्त्रीले ऐले सुरुङ युगमा प्रवेशको भन्नुहुन्छ तर लमजुङमा त छ वर्ष अघि(सन् २०१५ देखि) नै सुरुङ मार्ग सञ्चलनमा आइसकेको छ, जसको भ्रमण र अवलोकनको अवसर समेत मिलेको बताउनु भयो । हामीले लेख्ने राष्ट्कविको जन्मथलो, रकगार्डेन आदि विषय नै हुन् यो यात्राले लेखनमा नयाँ विषयवस्तु बिम्वका रुपमा पाएको उहाँले उल्लेख गर्नु भयो ।
डा. सृजना उप्रेती(सिक्किम)ले पूर्वोत्तर भारतमा पहिचानको ठूलै मुद्दा उठ्ने गर्दछ, नेपाली भाषाले भारतको संविधानमा आठौं स्थानमा राष्ट्रिय भाषाको मान्यता पाएको जानकारी दिनुभयो । उहाँले हामीले नेपाली भाषा, साहित्य, संस्कार, संस्कृतिमा गर्व गरिरहँदा यो देश अखण्ड हुनुपर्छ भन्ने हो र त्यसो हुँदामात्र नेपाली सहित्यले जीवन्तता पाउँछ र हामी विश्वमा जहिँतहीँ छरिएर रहेका नेपालीले गर्व गर्न सक्छौं भन्नुभयो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष युवराज घिमिरेको अध्यक्षतामा भएको समापन कार्यक्रममा डा. रेणुका सोलु, ठाडोभाकाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, छन्द अभियन्ता रञ्जु दाहाल, लमजुङे युवा साहित्य समाजका संस्थापक अध्यक्ष तेजनारायण अधिकारीले आ– आफ्ना धारणा व्यक्त गर्नुभयो ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यस्तो कार्यक्रमलाई आउँदा बर्षमा पनि निरन्तरता दिने सहभागीहरूलाई दिनु भएको सन्देश सुनाउनु भयो । प्रतिष्ठानका अध्यक्ष नजराज पहाडीले जारी घोषणापत्रलाई कार्गदर्शकका रुपमा लिएर भोलिका दिनमा कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । सो अवसरमा रक गार्डेन होमस्टेका परिकल्पनाकार कामसार्की गुरुङले रकगार्डेनका बारेमा जानकारी दिदै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको समापन अघि भ्रमण दलका सदस्यहरूले रक गार्डेन घुमेर आनन्द लिएका थिए ।






No comments:
Post a Comment