वातावरण बचाउन जुटे पत्रकारहरू : प्लाष्टिक झोलाको विकल्प खोज्दै - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, March 19, 2021

वातावरण बचाउन जुटे पत्रकारहरू : प्लाष्टिक झोलाको विकल्प खोज्दै

 अन्तरङ्ग  वर्ष– २९, अंक– ३०,  चैत– ५ गते (०७७) प्रकाशित

बेसीशहर– जिल्लामा वातावरण प्रदूषण नियन्त्रणमा पत्रकार आफै जुट्न थालेका छन् । पत्रकार महासंघको जिल्ला शाखाको आयोजनामा जिल्ला सदरमुकाममा ‘‘प्लास्टिक झोलाको विकल्पमा बैकल्पिक झोला प्रवद्र्धन र प्रदूषण नियन्त्रण’ विषयक अन्तरक्रिया फागुन २९ गते गरेर त्यस्तो पुष्टि गरेका हुन् ।

पछिल्लो समय प्लाष्टिकको झोलाको प्रयोग बढ्दै गएको र यसले वातावरणलाई प्रत्यक्ष असर पारेको अवस्थालाई मध्यनजर गर्दै वैकल्पिक झोलाको प्रवद्र्धन गर्ने उद्धेश्य सहित अन्तरक्रिया गरिएको हो । बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले शहरबासीहरू फोहोर गर्न नडराउने भएपनि फोहोरबाट भने डराउने गरेको बताउनु भयो । बढ्दो प्लाष्टिकजन्य वस्तुको प्रयोगको नियन्त्रण तथा फोहोर जन्य वस्तुको व्यवस्थापनमा सवै स्थानीय तहको प्रमुख समस्या रहेको उहाँको भनाई छ । फोहोरमैलाको  व्यवस्थापन र वातावरणलाई सन्तुलित राख्नका निम्ति राज्यको तर्फबाट विभिन्न संघसंस्था र निकायबाट गरिने कार्यन्वयन महत्वपूर्ण भएता पनि यसले सार्थकता पाउन नसकेको उहाँले स्मरण गर्नु भयो । उहाँले फोहोरमैला व्यवस्थापनका लागि बैकल्पिक झोलाको प्रयोग उपयबोगी हुने हुन्छ भन्नुभयो । फोहोर व्यवस्थापनको प्रक्रिया र पद्धती असहज भएपनि यसको व्यवस्थापनमा लाग्नुपर्नेमा उहाँको जोड थियो । प्लाष्टिकका प्रभावले हुने डरलाग्दा रोगबाट सबै नागरिकहरू त्यसबाट बच्नुपर्ने हुन्छ र बच्नका लागि स्वयं आफैं सचेत हुनुपर्ने मेयर अर्यालले उल्लेख गर्नु भयो । नगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापन गरी उर्जा निकाल्नका लागि वल्र्ड बैंकको ४ करोड रुपैयाँमा काम अघि बढाईपनि तत्काल रोकिएको जानकारी दिनुभयो । 

कार्यक्रममा डिभिजन वन कार्यलयका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुबेदीले प्लास्टिकको झोलाको सट्टामा बैकल्पिक झोलाको प्रयोग गर्न सकिने बताउनु भयो । उहाँले प्लाष्टिकबाट बातावरण प्रदुषण हुने र त्यसका कारण विभिन्न प्रकारका रोगहरू लाग्ने जानकारी गराउनु भयो । उहाँले प्रदुषण रोकथाम, नियन्त्रण र यस सम्बन्धि कानुनी  व्यवस्था, फोहोरमैला व्यवस्थापन ऐन २०६८ मा रहेका व्यवस्थाहरू, प्लाष्टिक झोला नियन्त्रण नयाँ निर्देशिका २०६८, झोलामा प्रयोग हुने रंग अक्षर लगायतका विषयमा प्रकाश पार्नु भएको थियो ।

मानिसले दैनिक जीवनमा प्रयोग गर्ने प्लास्टिक जन्य सामग्रीबाट अत्यधिक मात्रामा बातावरणमा प्रदुषण हुने गरेको हुँदा यसको नियन्त्रणमा लाग्न महासंघका जिल्ला अध्यक्ष आश गुरुङले अनुरोध गर्नु भयो । उहाँले प्लास्टिक जन्य सामानको विकल्पमा अन्य झोलाहरूको प्रयोग गर्न सकिने भएकाले सचेतनाको कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘पत्रकारमार्फत यो कार्य गर्दा समाजमा सचेतना सन्देश प्रभावकारी रुपमा प्रवाह हुने हुँदा यो कार्य शुरु गरिएको हो ।’

कार्यक्रममा बेसीशहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेल, घरेलु तथा साना उद्योग महासंघ लमजुङका निर्वतमान अध्यक्ष रामकुमार श्रेष्ठ, महासंघका गण्डकी प्रदेश सदस्य कमला केसी, बेसीशहर नगरपालिका– १ का अध्यक्ष बलराम श्रेष्ठ, २ का अध्यक्ष गणेश कँडेल, ५ का अध्यक्ष बमबहादुर गुरुङ, ६ का अध्यक्ष भोजबहादुर रिमाल, ७ का अध्यक्ष गोविन्द बस्नेत, ८ का अध्यक्ष पवित्रा थापा, ९ का अध्यक्ष शरद बराल, १० का अध्यक्ष पूर्णबहादुर थापा । जिल्लाका पत्रकारकहरूको सहभागिता थियो ।

डिभिजन वन कार्यलयका साहायक वन अधिकृत दिपकप्रसाद पण्डीतले स्वागत मन्तव्य राख्दै प्लाष्टिक जन्य पदार्थको नियन्त्रण गरी स्वच्छ सफा र हराभरा वातवारण बनाउनका लागि जनमानसमा सन्देश प्रवाहका गर्न यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका कोषाध्यक्ष शान्ता कमलीले गर्नु भएको थियो । उहाँका अनुसार उक्त अन्तरक्रिया कार्यक्रम डिभिजन वन कार्यालय लमजुङको सहयोगमा गरिएको हो ।

No comments:

Post a Comment