अन्तरङ्ग संवाददाता
काठमाडौं– अन्ततः नेपाली कांग्रेसका शालिन नेता नविन्द्रराज जोशीको निधन भयो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५ गते शोक प्रस्ताव पारित गरेको हो । जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा १३ गते बेलुका निधन भएको हो ।
कांग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।
सालिन नेता जोशीप्रति सम्मान प्रकट गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शोकका कार्यक्रमहरू पनि तय गरेको छ । बैठकको निर्णय अनुसार २०७७ चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, उक्त दिनहरूमा शोकका कार्यक्रमहरू बाहेक पार्टीका अन्य औपचारिक कार्यक्रमहरू नगर्ने, २०७७ चैत १७ गते केन्द्र तथा सबै जिल्ला कार्यालयहरू बन्द गर्ने, १३औं दिन सम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने तथा सोही दिन केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय गरेको छ ।
नेता जोशीको अन्तिम संस्कार अघि पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली दिनका लागि १५ गतेका दिन राखिएको थियो । नेता जोशीलाई श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, गगन थापालगायतका नेताहरु सानेपा पुग्नु भएको थियो । यसैगरी, अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, एमाले नेता रघुजीपन्त लगायतका नेताहरूले जोशीलाई श्रद्धाञ्जली दिनु भएको थियो ।
गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

No comments:
Post a Comment