अन्तरङ्ग संवाददाता
धारापानी(मनाङ)– मनाङमा हिजो चैत ७ गते भएको ट्रक दुर्घटनामा थप एक बालकको निधन भएको छ । उक्त घट्नामा मृतक संख्या छ पुगेको प्रहरीले जनाएको छ । उक्त दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो । एक बालक समेत चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
हिमाल पारीको जिल्लाको उपमा पाएको मनाङमा भएको ट्रक दुर्घटनामा घट्नास्थलमा एक बालक र दुई महिला दुःखद निधन भएको थियो । पाँच जना घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा बेसीशहर ल्याइएकोमा २ जनालाई लमजुङ जिल्ला अस्पताल ल्याउनासाथ मृत घोषित गरिएको थियो । अन्यलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको थियो । भरतपुरमा उपचारको क्रममा मृत्यु हुनेमा नासों गाउँपालिका– १ तालका ४ बर्षीय थियोन गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उनी पनि हिजो मृत्यु हुने मनिषाका छोरा हुन् ।
घट्नास्थलमा ज्यान गुमाउनेमा नासों गाउँपालिका– ४ को ओडार गाउँमा बस्ने अन्दाजी डेढ बर्षीय लियोन गुरुङ, सोही गाउँकी ३५ वर्षीय महिला मनिषा गुरुङ र सोही गाउँकी ३१ वर्षीया महिला जलकाशी गुरुङ तीन जना रहेका छन् । मनिषा र लिउन आमा छोरा तथा मनिषा र जलकाशी दिदी बहिनी भएको प्रहरी भनाई छ ।
मनाङबाट घाइते अवस्थामा उपचारका लागि बेसीशहर पठाइएकोमा लमजुङको सहचालक मस्र्याङदी गाउँपालिका– ५ घेर्मु खोरियाखेतका २१ बर्षीय लक्ष्मण नेपाली, मनाङको चामे गाउँपालिका– ४ बस्ने वर्ष २८ को धनमान विकलाई लमजुङ जिल्ला अस्पताल ल्याउनासाथ मृतक घोषित गरिएको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दुर्घटनामा परी दुई बालक सहित ३ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङमा ल्याएकोमा उनीहरूको अवस्था पनि गम्भिर भएको हुँदा थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
ठेकेदारको सिमेन्ट लोड गरी जाँदै गरेको ध १ ख ५९२ नंबरको ट्रक बेसीशहरबाट मनाङको सदरमुकाम चामेतर्फ जादै थियो । ओभर लोडका कारण उकालोमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको देखिन्छ प्रहरी नायव उपरीक्षक सुभास खड्काले बताउनु भयो । उहाँका अनुसार सो ट्रक सडकबाट करिब १५० मिटर तल मस्र्याङदी नदीमा खसेको थियो ।
उक्त दुर्घटनामा घाइते हुनेहरूमा सो ट्रकका चालक तथा सवारी धनी तनहुँको भानु नगरपालिका– ३ का सुमन तामाङ, तथा अन्दाजी ६÷७ वर्ष उमेरका बालक निहल गुरुङ र थिउन गुरुङ रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । उहाँले भन्नुभयो ‘घाइते बालकहरू पनि नासों गाउँपालिका– ४ को ओडार गाउँकै हुन् ।’ घाइते उनीहरू सबैको उपचारका लागि लमजुङको सदरमुकाम बेसीशहर पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनु भयो ।
घटनास्थलमै मृत्यु भएका ३ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो । उक्त दुर्घटनाको जानकारी पाएपछि तत्कालै आफूहरू तत्काल उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताउनु भयो । उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू मिलेर घाइतेहरूको उद्दार गरिएको थियो ।

No comments:
Post a Comment