अन्तरङ्ग संवाददाता
तीनपिप्ले(लमजुङ)– स्थानीय राइनास नगरपालिका– १ र २ को आयोजनामा ज्ञानोदय माविको हातामा एक दिने स्वास्थ्य शिविरको आयोजना गरियो । चैत ७ गते सञ्चालित उक्त शिविरमा स्थानीय ४४० जनाले लाभ लिएका छन् ।
उक्त स्वास्थ्य शिविरको उदघाटन गर्दै राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले शिविरबाट लाभ लिनका लागि सम्बन्धित वडाबासीलाई आग्रह गर्नु भयो । उहाँले नगरबासीका बीचमा नगरस्तरीय अस्पतालको पहुँच पुर्याउन नगरपालिकाले जमर्को गरिरहेको बताउनु भयो । उहाँले नगर अस्पताल निर्माणको काम नगरकार्यपालिकाको पहिलो बैठकले गरेको निर्याण अनुसार चक्रतीर्थमा चालु आवभित्रै थालिने र अस्पताल निर्माणका लागि प्राप्त ४ करोड बजेट फ्रिज नहुने विश्वास दिलाउनु भयो ।
देव अस्पताल प्रा.लि. भरतपुरको प्राविधिक सहयोगमा गरिएको उक्त शिविरमा स्तन तथा क्यान्सर विशेषज्ञ डा. विश्वराम पौडेलको नेतृत्वमा आएको स्वास्थ्यकर्मीहरूको टोलीले प्राविधिक सेवा दिएको थियो । सो अवसरमा हाडजोर्नी विशेषज्ञ डा. कविन न्यौपाने, मेडिसिन डा. सुरेश श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डा. पुष्प चौधरी तथा सर्जरी विभागका डा. रानितकुमार श्रेष्ठ र बालरोग विशेषज्ञ डा. ओमकृष्ण पाठकसमेत सहभागी हुनुहुन्थ्यो ।
शिविरमा फार्मेसी, ल्याव र इसिजी सेवा समेत निःशुल्क उपलब्ध गराइएको थियो । उक्त शिविरमा स्व. गोपिनाथ र दुर्गाकुमारी कडरिया स्मृति प्रतिष्ठानद्वारा सञ्चालित एम्बुलेन्सद्वारा शिविर आसपासका अशक्त तथा अपाङ्गता भएका १५ जना व्यक्तिलाई उहाँहरूको घरदेखि शिविर स्थलसम्म र शिविर स्थलदेखि उहाँहरूको घरसम्म पुर्याउनका लागि निःशुल्क सेवा प्रदान गरिएको उक्त एम्बुलेन्सका सञ्चालक प्रदीप कडरियाले बताउनु भयो ।
ज्ञानोदय माविको व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद पोखरेलको अध्यक्षतामा भएको उक्त शिविर उदघाटनका अवसरमा वडानं २ का अध्यक्ष रामचन्द्र अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा ४४० जनाले सेवा लिएको आयोजकको भनाई छ ।


No comments:
Post a Comment