अन्तरङ्ग संवाददाता
धारापानी(मनाङ)– हिमाल पारीको जिल्लाको उपमा पाएको मनाङमा भएको ट्रक दुर्घटनामा एक बालक र दुई महिला समेत ५ जनाको दुःखद निधन भएको छ । मनाङको नासों गाउँपालिका– ३ को खोत्रो गाउँ क्षेत्रमा सो दुर्घटना चैत ७ गते अपरान्ह ३.३० बजे भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी घट्नास्थलमा ज्यान गुमाउनेमा नासों गाउँपालिका– ४ को ओडार गाउँमा बस्ने अन्दाजी ६, ७ वर्षका बालक लिउन गुरुङ, सोही गाउँकी ३५ वर्षीय महिला मनिषा गुरुङ र सोही गाउँकी ३६ वर्षीया महिला लालकाशी गुरुङ तीनजना रहेका छन् । मनिषा र लिउन आमा छोरा भएको प्रहरी भनाई छ ।
मनाङबाट घाइते अवस्थामा उपचारका लागि बेसीशहर पठाइएकोमा
लमजुङको मस्र्याङ्दी गाउँपालिका– ५ घर भएका ट्रकका सहचालक लक्ष्मण नेपाली र मनाङको चामे गाउँपालिका– ४ बस्ने वर्ष ३५ को धनमान विकलाई लमजुङ जिल्ला अस्पताल ल्याउनासाथ मृतक घोषित गरिएको सो अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार दुर्घटनामा परी दुई बालक सहित ३ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङमा ल्याएकोमा उनीहरूको अवस्था पनि गम्भिर भएको हुँदा थप उपचारका लागि चितवन रिफर गरिएको छ ।
उक्त दुर्घटनामा घाइते हुनेहरूमा सोही ट्रकका चालक लमजुङ घर भएका सुमन तामाङ तथा अन्दाजी ६÷७ वर्ष उमेरका बालकद्वय थिउन गुरुङ र निहल गुरुङ रहेको प्रहरी नायव उपरीक्षक सुभास खड्काले बताउनु भयो । उहाँले भन्नुभयो ‘घाइते बालकहरू पनि नासों गाउँपालिका– ४ को ओडार गाउँकै हुन् ।’ घाइते उनीहरू सबैको उपचारका लागि लमजुङको सदरमुकाम बेसीशहर पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनु भयो ।
ठेकेदारको सिमेन्ट लोड गरी जाँदै गरेको ध १ ख ५९२ नंबरको ट्रक बेसीशहरबाट मनाङको सदरमुकाम चामेतर्फ जादै थियो । ओभर लोडका कारण उकालोमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको देखिन्छ प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । उहाँका अनुसार सो ट्रक सडकबाट करिब १५० मिटर तल मस्र्याङदी नदीमा खसेको थियो ।
घटनास्थलमै मृत्यु भएका ३ जनालाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मनाङमा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामीछानेले बताउनु भयो । उहाँका अनुसार अन्यलाई उपचारका लागि बेसीशहर पठाइएको छ ।
उक्त दुर्घटनाको जानकारी पाएपछि तत्कालै आफूहरू तत्काल उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताउनु भयो । उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू मिलेर घाइतेहरूको उद्दार गरिएको हो ।

No comments:
Post a Comment