अन्तरङ्ग वर्ष– २९, अंक– ३० चैत ५ गते (०७७) प्रकाशित
नेपालमा आयुर्वेदजत्तिकै पुरानो चिकित्सा प्रणालीको रुपमा हिमाली उपचार पद्धतिको रुपमा सोवा रिग्पा उपचार प्रचलनमा रहेको छ । शुरुदेखि नै आयुर्वेदले राष्ट्रिय मान्यता र प्राथमिकता पाएकाले यसको विकास र विस्तार हुन सक्यो तर देशको हिमाली क्षेत्रमा प्रचलनमा रहेको सोवा रिग्पालाई भने नीति निर्मातामा जानकारी हुन नसक्दा अहिलेसम्म ओझेलमा पारिएको छ । सोवा रिग्पामा प्रयोग गरिने औषधिहरूको नाम भोट भाषामा लेखिएको हुनाले धेरै बुझ्न कठिन रहेको कारण पनि यसलाई हिमाली उपचारको रुपमा हेरिएकाले राष्ट्रिय मान्यता पाउन सकेको छैन । यद्यपि, सोवा रिग्पा शिक्षासम्बन्धी लिखतहरू सातौं शताब्दीपछि भेटिए पनि संस्कृत साहित्यसँग यसको गहिरो सम्बन्ध रहेकाले यसको इतिहास निकै पुरानो हुनसक्ने अनुमान गरिएको छ । नेपालको दक्षिणी र मध्यपहाडी भेगमा आयुर्वेद चिकित्सा प्रणाली र उत्तरी भेगमा सोवा रिग्पा चिकित्सा प्रणालीको विकास परापूर्वकालदेखि नै हुँदै आएको देखिन्छ ।
आयुर्वेदमा जस्तै सोवा रिग्पा चिकित्सा पद्दतिमा पनि जडीबुटीको सम्बन्ध अत्यन्त घनिष्ठ छ । आयुर्वेदमा पहाडी भेगमा उत्पादन हुने जडीबुटीको प्रयोग बढी मात्रामा हुन्छ भने सोवा रिग्पामा तीन हजार मिटरभन्दा माथि उत्पादन हुने जडीबुटी प्रयोग धेरै भएको पाइन्छ । यसरी सोवा रिग्पा आयुर्वेदसँग मात्र होइन, अन्य विभिन्न परम्परागत चिकित्सासँग मेल खान्छ । यसमा आयुर्वेदका जडीबुटी, चिनीया, तिब्बती, नेपाली जडीबुटीहरु प्रयोग हुन्छ । रोगको पहिचान, निदान र उपचार विधिमा रहेका भिन्नताले गर्दा अन्य उपचारसँग मेल खाँदैन । नाडी छाम्ने, पिसाब जाँच गरी रोग पहिल्याउनु र त्यसका आधारमा निदान गर्नु नै यसको मुख्य विशेषता हो । बिरामीलाई शुरुमा भिजुअल अब्जरभेशन गरिन्छ, जसमा पिसाब जाँच गर्ने, जिब्रो हेर्ने आदि गरिन्छ ।
त्यसपछि नाडी हेरेर, छामेर, एक्सरे, अल्ट्रासाउण्डको रिपोर्ट हेरिन्छ । तेस्रो चरणमा बिरामीसँग संवाद गरी उसको सम्पूर्ण जानकारी लिने गरिन्छ । यो उपचार विधिमा कुनै साइड इफेक्ट छैन । यसमा उपचाररात्मकभन्दा रोकथाममा जोड दिइन्छ । शरीमा प्रतिरोधात्मक शक्ति बढाउन उचित आहारविहारलाई महत्व दिइन्छ । खानपिन, जीनशैली(योगा, व्यायाम आदि), औषधिमा विभिन्न जडिबुटी सम्मिश्रण गरिएको गोली वा धुलो दिएर रोग टीक गर्ने र शरीरमा प्रतिक्रिया गराएर विकार जतिलाई बाहिर निकाल्ने गरिन्छ । साथै यसमा सर्जरीअन्र्तगत मसाज, कपिङदेखि सुनको सुई घोचेर गरिने थेरापीबाट उपचार गर्ने हुँदा यसको आफ्नै विधि र प्रक्रिया रहेको हुन्छ ।
सोवा रिग्पाको ऐतिहासिक विकासक्रमलाई हेर्दा आयुर्वेदभन्दा पनि अगाडि अर्थात सातौं शताब्दीमा पुग्ुनु पर्ने हुन्छ । यी दुई चिकित्सा एकअर्काको प्रतिस्पर्धी नभएर परिपूरक हुन् । दुबैको मुख्य विशेषता भनेकै जडीबुटीलगायत प्राकृतिक उपजहरूको माध्यमबाट बिरामीलाई निको पार्नु र निरोगी तुल्याउनु नै हो । सोवा रिग्पा आयुर्वेदसँग मिल्नुको कारण अष्ट सङ्ग्रहिता संहिता हो । यसभित्र लुई (शरीर), जिपा (बालबालिकासम्बन्धी), मो ने (स्त्री रोगसम्बन्धी), दोन (मानसिक समस्या), छोन (हतियारले काटेर वा लडेर हड्डी टुटफुट भएको), रोचा (नपुंगसता), गेसो (जेष्ठ नागरिकमा हुने समस्या) र हुक (विषाक्त पदार्थबाट हुने समस्या) । सोवा रिग्पा विद्यामा हिन्दू धर्मका चार वेद जस्तै चारवटा घ्युसी छन्, जसमा उपचार पद्दति, विधि आदि कुराहरूको वर्णन गरिएको छ ।
चीनको उहान प्रान्तमा सन् २०१९ मा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै छोटो समयमै यसले विश्वव्यापीरुपमा फैलिन पुग्यो र आजसम्म पनि विश्वका प्रायः सबै देशका यसको सङक्रमण फैलिएको छ र लाखौ मानिसको ज्यान गएको छ । चीनले आधुनिक उपचार विधिको सँगसँगै सोवा रिग्पा(तिब्बतीयन विधि) अनुसार प्रतिरोधात्मक क्षमता बढाउने औषधिलाई तत्कालै प्रयोगमा ल्याएका कारण चीनमा सोचेजस्तो सङ्क्रमण फैलिन सकेन । विश्वका अन्य कतिपय देशले पनि यस्ता विधिलाई प्रयोगमा ल्याएका छन् । विश्व समुदाय नै कोराना भाइरसबाट प्रभावित भएको अवस्थामा यसलाई रोकथाम गर्न आधुनिक उपचार पद्दतिसँगै परम्परागतरुपमा अभ्यास गरिँदै आएको सोवा रिग्पालगायत अन्य वैकल्पिक उपचार पद्दतिलाई पनि जोड दिइएको छ । नेपालमा पनि कोराना भाइरस रोकथाममा वैकल्पिक चिकित्सामा जोड दिने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका ल्याएको छ । हिमालयन आम्ची एशोशिएसनले विभिन्न जिल्लामा कोरोना महामारीको समस्याका कारण आधारभूत स्वास्थ्य सेवासमेत पाउन बञ्चित सर्वसाधारणलाई कोरोना रोकथाम तथा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न शिविर सञ्चालन गरेको थियो ।
यस विधिअनुसार गरिने उपचारमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण र एन्टिभाइरल गुण भएका विभिन्न जडीबुटीको सेवन गर्न सकिने सम्भावनालाई पनि महत्व दिएको छ । कोरोनासहित अन्य भाइरसजन्य संक्रमण लाग्न नदिन मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता प्रवल हुनुपर्नेमा हुन्छ । वैकल्पिक चिकित्सा अन्तर्गत सोवारिग्पा तन्त्र अनुसार यी औषधिहरुले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै सरुवा रोगहरूको रोकथाम र निको गर्न सकिने भएकाले चीन, भारत, अमेरिकालगायत विभिन्न देशहरूले यसतर्फ जोड दन थालेका छन् । नेपालमा पनि गाउँघरमा प्रशस्त पाउन सकिने असुरो, बेसार, गुर्जो, त्रिफला, जाइफल, ल्वाङ, अलैंची, केशर, सुकमेलजस्त जडिबुटीले वायुपित्त उदर प्रदाहसम्बन्धी रोग प्रतिरोधात्मक क्षमता बढाउने हुन्छ ।
आधुनिक चिकित्सा कतिपय सर्नेखालका रोगहरूको उपचारमा प्रभावकारी भएपनि नसर्ने किसिमका अधिकांश रोगहरुको उपचार गर्ने भन्दा पनि अन्य असर पार्ने भएकाले मानिसहरू सोवा रिग्पालगायत अन्य प्राकृतिक उपचारतर्फ आकर्षित भएको देखिन्छ । वनस्पति तथा जडीबुटीमा आधारित सोवा रिग्पा उपचार पद्दतिमा शारीरिक र मानसिक असन्तुलन र अव्यवस्थालाई व्यवस्थित र सुधार गर्ने प्रयास गरिन्छ । यो पद्दतिले प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिँदै मानिसको दीर्घ स्वास्थ्यको सुनिश्चित गर्न मद्दत पुग्ने छ । सोवा रिग्पा हिमालय क्षेत्रमा पाइने जडीबुटी, खनिज र प्राकृतिक रुपमा उत्पादित वस्तुहरूको प्रयोग गरी गरिने वैकल्पिक र उपचारात्मक विधि हो । बुद्ध दर्शनद्वारा दीक्षित सोवा रिग्पा उपचार पद्दतिले मानिसलाई लामो समयसम्म स्वास्थ्य रही बाँच्न सिकाउँछ । सोवा रिग्पा उपचार पद्दति शारीरिक र मानसिक असन्तुलन र अव्यवस्थालाई व्यवस्थित र सुधार गर्ने वैज्ञानिक उपचार पद्दति हो । यसको उपचारको प्रभाव लामो समयसम्म रहने र त्यसले शरीरमा कुनै असर नगरी सकारात्मक प्रभाव दिने भएकाले पनि यसको प्रभाव विश्वव्यापीरुपमै बढ्दै गएको छ ।
नेपालमा वर्षौंदेखि प्रचलनमा आएका विभिन्न प्राकृतिक चिकित्सा पद्दतिहरूमध्ये सोवा रिग्पा एक परम्परागत चिकित्सा पद्धति हो । सातौँ शताब्दीदेखिको इतिहास बोकेको सोवा रिग्पा मानव जीवन र स्वास्थ्यको लागि प्रकृतिको अमूल्य वरदान बनेको छ । सोवा रिग्पा हिमालय क्षेत्रमा पाइने जडीबुटी, खनिज र प्राकृतिक रुपमा उत्पादित वस्तुहरूको प्रयोग गरी गरिने वैकल्पिक र उपचारात्मक विधि हो । सोवा रिग्पा उपचार पद्दतिले मानिसलाई लामो समयसम्म स्वास्थ्य रही बाँच्न सिकाउँछ । जुन ठाउँको मानिस हो, त्यसलाई त्यही ठाउँमा उम्रेका जडीबुटीद्वारा निर्मित औषधिले नै बढी फाइदा गर्छ भन्ने आयुर्वेदीय मूलभूत सिद्धान्तलाई सोवा रिग्पामा पनि आत्मसात् गरिएको छ ।
नेपालमा सोवा रिग्पा उपचार पद्धति विशेष गरेर नेपालको उत्तरी क्षेत्रको हिमाली भेगमा बढी प्रचलनमा रहेको छ । यद्यपि, सन् १९७३ मा राजा भित्रुवनले काठमाडौँंमा कुनफेन औषधालयको स्थापना गरेदेखि यसको औपचारिक थालनी भएको मानिन्छ । अहिले राजधानीमै ५० भन्दा बढी क्लिनिकहरु सञ्चालनमा रहेका छन् । विस्तारै यो उपचार हिमालबाछ पहाड र तराइमा समेत विस्तार भएको पाइन्छ । केही वर्षअघिसम्म एसियाका हिमालय क्षेत्रमा प्रचलनमा रहेको सोवा रिग्पा चिकित्सा पद्दति विस्तारै विश्वव्यापीकरण हुँदैछ । हिमालय क्षेत्रका देशहरूमा परम्परागत एवं वैकल्पिक चिकित्सा प्रणालीको रुपमा रहेको सोवा रिग्पा आज युरोप, अमेरिकालगायत धेरै देशहरूमा मूल अर्थात आधुनिक चिकित्सा पद्धतिजत्तिकै मान्यता पाउन र प्रयोगमा ल्याउन थालिएको छ ।
No comments:
Post a Comment