लमजुङमा तीन दिने साहित्यका लागि पर्यटन–काव्य यात्राको तयारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, March 22, 2021

लमजुङमा तीन दिने साहित्यका लागि पर्यटन–काव्य यात्राको तयारी

अन्तरङ्ग संवाददाता

बेसीशहर– लमजुङमा साहित्यका लागि पर्यटन–काव्य यात्राको तयारी गरिएको छ । ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको आयोजना, अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को समन्वय एवम् मर्स्याङ्दी गाउँपालिकाको तत्वाबधानमा उक्त तीन दिने काव्य यात्रा चैत १३ गतेदेखि हुने भएको हो । 

उक्त कार्यक्रममा अनेसासका पदाधिकारी सहितका अन्य केही लब्धप्रतिष्ठित साहित्यकारहरू सहित २० जना राजधानी काठमाडौंबाट आउनु हुने भएको छ । यसैगरी आदिकवि भानुस्मृति प्रतिष्ठान तनहूँ एवम् कविशिरोमणि लेखनाथ स्मृति प्रतिष्ठान पोखराका प्रतिनिधिहरूका साथमा स्थानीय आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार एवम् पदाधिकारीहरू तथा कार्यकारी सदस्यहरू सहित २० जना गरी ४० जनाको सहभागिता रहने छ । 

उक्त तीन दिने काव्य यात्रा यही चैत १३ गतेदेखि १५ गतेसम्म हुने भएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सचिव कृष्ण आलेले बताउनु भयो । उहाँका अनुसार तयारी अन्तिम चरणमा छ । उहाँले भन्नुभयो, ‘पहिलो दिनमा अनेसासको टोलीलाई बेसीशहर स्थित लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा स्वागतका साथ परिचय कार्यक्रम गरिने छ । सो अवसरमा काव्य यात्राको आवश्यकता, उद्देश्य एवम् उपलब्धीका बारेमा दुवैतर्फका टोली नेताबाट आ– आफ्ना धारणा प्रस्तुत हुनेछन् । अनेसासको टोलीद्वारा ल्याइएका पुस्तकहरू उक्त पुस्तकालयलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।’

त्यसपछि, दुवै संस्थाको संयुक्त टोली राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म थलो भिरपुस्तुनतर्फ लाग्ने छ । त्यो दिन साँझ राष्ट्रकविको जन्मथलोमा खानापछि केही समय लोकदोहोरी प्रस्तुत हुनेछ । 

चैत १४ गतेका दिन विहान नियात्रा लेखन र साहित्यिक पर्यटन काव्ययात्राका बारेमा दुईवटा कार्यपत्र प्रस्तुत हुनेछन् । दिउँसो कवि गोष्ठीका साथमा कविता लेखन विधिका बारेमा दुवै संस्थाका प्रतिनिधिहरू एक एक जनाबाट आ– आफ्ना अवधारणा प्रस्तुत हुनेछ । कविगोष्ठीमा सुनाइएका कविताको समिक्षात्मक टिप्पणीका साथमा उक्त दिनको कार्यक्रम समापन हुनेछ । 

त्यसपछि, राष्ट्रकविको जन्मथलोबाट करिब सवा घण्टाको पद यात्रा गरी उक्त टोली रक गार्डेन होमस्टे भएको खानी गाउँमा पुग्ने कार्यक्रम रहेको आयोजक प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार सो दिन साँझको खाना पछि स्थानीय गुरुङ संस्कृतिको नाँच, ठाडोभाकाको प्रस्तुति र समय रहे वा सहभागीको चाहना भएमा लोक दोहोरीको कार्यक्रम गरिने छ । 

भोलिपल्ट विहान काव्ययात्रामा सहभागी टोलीले रक गार्डेनमा करिब सवा घण्टाको पदयात्रा गर्नेछ । त्यसपछि काव्ययात्राको समापन कार्यक्रम गरी टोली फर्कने कार्यक्रम तय भएको आयोजकको भनाई छ । 

उक्त साहित्यिक पर्यटन–काव्य यात्राको समापनमा एक घोषणा पत्र समेत जारी हुने कार्यक्रम रहेको आयोजकको भनाई छ । घोषणा पत्रमा वर्षको कम्तिमा एक पटक राष्ट्रकवि, आदिकवि र कविशिरोमणिको जन्मथलोमा साहित्यिक यात्रालाई निरन्तरता दिने सहित लोकसाहित्यको उत्थानका योजना मुखरित गरिनेछ । 

काव्ययात्रा टोलीमा अनेसासको नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी, महासचिव रिषभ घिमिरे, निवर्तमान अध्यक्ष राधेश्याम लेखाली, वरिष्ठ साहित्य(नियात्रा)कार युवराज नयाँघरे सहितको टोली आउने भएको छ । यसैगरी, ठाडोभाका लोककला प्रतिष्ठानको तर्फबाट सल्लाहकार एवम् संविधानसभा सदस्य एवम् प्रतिष्ठानका सल्लाहकार जमिन्द्रमान घले, गण्डकी प्रदेशसभाका सदस्य एवम् प्रतिष्ठानका सल्लाहकार धनञ्जय दवाडी,  वरिष्ठ साहित्यका गोविन्दबहादुर कुँवर, प्रतिष्ठानका सल्लाहकारहरू शालिग्राम अधिकारी, विजयराज न्यौपाने, रमेशचन्द्र अधिकारी, नरेन्द्रराज ढुंगाना, मुक्तिनाथ घिमिरे सहभागी हुनुहुनेछ । त्यसैगरी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाकाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, मर्स्याङ्दी गाउँपाकिलाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर विक, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी, वरिष्ठ उपाध्यक्ष मातृका खनाल, उपाध्यक्ष द्वय युवराज घिमिरे र शोभा थापा, सचिव कृष्ण आले, कोषाध्यक्ष– अमृता असीम, ठाडोभाका लायिका एवम् कार्यकारी सदस्य सीता दुरा, प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्य एवम् ठाडोभाका गायिका राधा भण्डारी लगायत प्रतिष्ठानका कार्यकारी सदस्य तथा आजीवन सदस्यहरू सहभागी हुनुहुनेछ । 

No comments:

Post a Comment