अन्तरङ्ग/वर्ष– २९, अंक– २६, फागुन ६ गते(२०७७) को मुख्य समाचार
राइनास(लमजुङ)– लमजुङको राइनास नगरपलिकामा निर्माण गर्न लागिएको १५ बेड शैयाको अस्पताल मन्त्रालयका दुई कर्मचारीको दुर्नियतका कारणले बन्नमा ढिलाई भइरहेको रहस्य खुल्न आएको छ । स्वास्थय मन्त्रालयको योजना महाशाखाका निर्देशक र अर्थ मन्त्रालयका एक शाखा अधिकृतको करामतका कारणले यस नपामा निर्माण गर्न लागिएको १५ बेडको अस्पताल बन्नमा ढिलाई भइरहेको रहस्य उजागर भएको हो ।
कर्मचारीले नियत खराव राखेपछि सर्वसाधारणले के कसरी दुःख पाउँछन् भन्ने यो पछिल्लो उदाहरण हो । यसै नगरपालिकाको धमिलिकुवामा घर भएका अर्थ मन्त्रालयका शाखा अधिकृत तीर्थ चिलुवाल र सोही स्थानका भाञ्जा नाताका स्वास्थ्य मन्त्रालयको योजना महाशाखाका निर्देशक गुणराज लोहनीको वदनियतपूर्ण खेलका कारणले सो अस्पताल अलपत्र अवस्थामा परेको हो । अर्थ मन्त्रालयमा आफू भएको पहुँच देखाउँदै शाखा अधिकृत चिलुवालले उक्त नगरपालिकामा अस्पताल निर्माणका लागि विनियोजन गरिएको चार करोड रकम धमिलिकुवा स्वास्थ्य चौकी(जसको नाउँमा एक आना जग्गा पनि छैन)को स्तरोन्नती भन्दै राख्न भ्याएका रहेछन् । त्यसैगरी, मावली गाउँको सेवा गर्नेका नाउँमा लोहनीले नगरपालिकाबाट निर्णय गरि पठाएका जुन कुनै पनि सामग्री लुकाई दिने, फाइल रोकेर राख्ने र निर्णयार्थ अघि बढ्न नदिने खेल गरेको बुझिन आएको छ । सोही कारणले राइनास नगरकार्यपालिकाको पहिलो बैठकले सर्वसम्मत निर्णय गरी तत्कालीन चक्रतीर्थ गाविस, हालको राइनास नगरपालिका– ४ को कोलडाँडाका नगरस्तरीय अस्पताल निर्माण गर्न गरेको निर्णय कार्यान्वयमा बाधा उत्पन्न हुँदै आएको स्थिति छ ।
वडानं ४ मा अस्पताल निर्माणका लागि जग्गाको प्रवन्ध गर्न स्थानीय समाजसेवी जगतप्रसाद कट्टेलको संयोजकत्वमा एक समिति गठन गरियो । उक्त समितिले सो स्थानका स्थनीयसँग विशेष अनुरोध गरी १३ रोपनी जग्गा अस्पतालका नाउँमा निःशुल्क पास गराई लालपूर्जा लिइसकेको कट्टेलले बताउनु भयो । उहाँका अनुसार अस्पतालको उक्त जग्गाको सीमासँग जोडिएको थप १३ रोपनी सार्वजनिक जग्गा आवश्यक भएमा अस्पतालले चर्चिन सक्ने अवस्था छ । उहाँले भन्नुभयो, ‘अस्पताललाई दान गरिएको जग्गाको प्रचलित मूल्य प्रति आना डेढ लाखमा सुक्रीविक्री हुँदै आएको छ ।’ सो स्थानमा अस्पताल निर्माणका लागि नगरपालिकाले आफ्नै लगानीमा ११ लाख रुपैयाँ खर्च गरी अस्पताल क्षेत्रको डिपिआर समेत तयार गरीसकेको कट्टेल बताउनु हुन्छ । सो स्थानमा अस्पताल बनाउनका लागि २०७४ सालको असार १४ गतेका दिन नगरकार्यपालिका पहिलो बैठकबाट सर्वसम्मत निर्णय गरेको उहाँले जानकारी दिनु भयो । धमिलिकुवाबासी भने आफ्नो जग्गा एक आना पनि अस्पताललाई निःशुल्क दिन नचाहने र सार्वजनिक जग्गामा अस्पताल बनाउने सपना देख्दै बसेका छन् ।
तर मन्त्रालयमा रहेका चिलुवाल र लोहनीका कारणले गर्दा सो नगरपालिका– ६ को धमिलिकुवाको पोखरीटार स्थित धमिलिकुवा स्वास्थ्य चौकीको नाउँमा ४ लाख रुपैयाँ निकासा भइ चालु आवमा आएको छ । जम्मा १० वटा वडा रहेको नगरपालिकामा यतिबेला उक्त नगरपालिकाका वडानं– ६, ७ र ८ का तीन जना वडाध्यक्षहरू ६ को पोखरीटारमा नगरस्तरीय अस्पताल बन्नु पर्ने अडानमा छन् । अन्य १ देखि ५ वडासम्मका वडाध्यक्षहरू २०७४ असारको कार्यपालिकाको सर्वसम्मत निर्णय उल्टाउन नहुने अडानमा छन् । वडानं ९ र १० का अध्यक्षहरू दुवै स्थान आफ्नो वडाबाट समान जस्तै दुरीमा पर्ने भएको हुँदा अस्पताल जहाँ बने पनि हुन्छ भन्दै कतै नखुलेको अवस्था रहेको नगरपालिकाका एक कर्मचारीले बताए । यही विवादका बीचमा सरकारले एकै दिन मुलुकभरका सबै पालिकामा १५ शैयाको अस्पताल निर्माणको शिलान्यास गर्न निर्देशन दिएको दिन वडानं ४ को कोलडाँडामा नगरपालिका मेयर सिंहबहादुर थापा र वडानं ६ को पोखरीटारको स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने भवनको सोही वडाका अध्यक्ष रुपबहादुर तामाङले शिलान्यस गर्नु भएको हो ।
अर्थमन्त्रालयले अस्पताल निर्माणका लागि सो नगरपालिकामा ४ करोड निकासा पठाएको छ तर अख्तियारी आउन नसकेको स्थिति छ । नगरस्तरीय अस्पताल १५ शैयाको निर्माण गर्नका लागि भवन आचारसंहिताले कम्तिमा १३ रोपनी जग्गा हुनुपर्ने किटान गरेको छ । तर पोखरीटार स्थित स्वास्थ्य चौकीका नाउँमा आजका मितिसम्म एक आना जग्गाको पनि लालपूर्जा नभएको तर जग्गा मिलाउने प्रोसेसमा रहेको आफूले बुझेको सो चौकीकी प्रमुख कल्पना भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस्तो काममा मेरो प्रत्यक्ष सहभागिता नहुने र वडाध्यक्षहरूले त्यो काम गर्नु भएको हुँदा उहाँसँगै बुझ्नु राम्रो होला ।’ सो वडाका अध्यक्ष तामाङसँग सम्पर्क गर्दा १२ रोपनी १२ आनाका लागि सहमति भएर प्रमुख जिल्ला अधिकारीमार्फत मन्त्रालय पठाएको र एक दुई दिनमा निर्णय भई आउछ भन्ने छ भन्नुभयो ।
त्यसबारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा अन्य कागजात करिव करिव ठीक छन् । तर नगरकार्यपालिकाको निर्णय आउन बाँकी छ, त्यो आयो भने भूमिसुधार मन्त्रालय हुँदै क्याविनेटमा गएर निर्णय हुने हो प्रजिअ कृष्णप्रसाद शर्माले बताउनु भयो । उहाँका अनुसार कार्यपालिकाको निर्णय नआउँदासम्म मैले कागज माथि पठाएर पनि निर्णय हुने होइन । उहाँले भन्नुभयो, ‘कार्यपालिकाको निर्णय पर्खेर बसेको अवस्था हो, त्यो ल्याउँछौं भन्ने विश्वास दिलाउनु भएको छ, छिटै आउला ।’
तर उक्त नगरकार्यपालिका बैठकबाट धमिलिकुवा स्वास्थ्य चौकीको पक्षमा निर्णय भएर आउन सक्ने स्थिति भने देखिदैन । किनकि, नगरका मेयर सहित ५ वडाध्यक्ष खुलेर वडानं ४ मा अस्पताल बनाउनका लागि आजका दिनमा पनि जोडबल गरिरहेको अवस्था छ ।
उता, चालु आवमा धमिलिकुवा स्वास्थ्य चौकीका नाउँमा बजेट विनियोजन भएपछि त्यसलाई संशोधन गराई वडानं ४ को अस्पताल बनाउनका लागि यो बीचमा नगरपालिकाको तर्फबाट मेयर थापाको नेतृत्वमा स्वास्थ्य मन्त्रालयमा एक प्रतिनिधि मण्डल गएको र भानुभक्त स्वास्थ्य मन्त्री हुँदा उक्त रकम स्थानान्तरणका लागि मन्त्रीस्तरीय निर्णय समेत भएको बुझिएको छ । तर त्यो निर्णय पनि कार्यान्वयन गराउने कार्यमा स्वास्थ्य मन्त्रालयको योजना महाशाखाका निर्देशक लोहनीले रोकिदिएको कारणले नगरपालिकाले पत्र पाउन नसकेको अवस्था रहेको स्रोतको भनाई छ । तर पनि अझै सोही स्थान वडानं ४ को कोलडाँडामा अस्पताल भवन निर्माणका लागि काम हुन्छ भन्ने विश्वासमा नगरपालिका मेयर थापा देखिनु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले प्रयास गरिरहेका छौं, रकम स्थानान्तरणका लागि संशोधन हुन्छ ।’
त्यस्तै, पोखरीटारमा रहेकै हेल्थपोष्टदेखि आधा घण्टाको पैदल दुरीको वडानं– ६ स्थित गरमबेसीमा रहेको सहोदर अस्पताल यतिबेला २५ देखि ५० शैयासम्मका लागि भवन निर्माण गरी आउँदो नयाँवर्षदेखि सञ्चालनमा ल्याउने तयारीमा छ । उक्त अस्पताल फुलफेजमा सञ्चालनमा आएपछि जिल्ला अस्पतालले दिन सक्ने सबै सेवा यही अस्पतालबाट दिन सकिने सो अस्पतालका प्रमुख डा. शिवराम श्रीमलले बताउनु भयो । उहाँका अनुसार उक्त अस्पतालको व्यवस्थापनका लागि पनि नेपाल सरकारले चालु आवमा दुई करोड रकम विनियोजन गरेको छ । त्यो रकम नगरपालिकामा आइसकेको छ र त्यसको उपयोगका लागि टेण्डर प्रक्रिया शुरु भएको श्रीमल बताउनु हुन्छ ।
यस प्रकार आधा घण्टाको दुरीमा सुविधायुक्त अस्पताल हुँदाहुँदै स्वास्थ्य चौकीको स्तरोन्नतीको आवश्यकता किन परेको हो ? भन्ने बुझ्न नसकिएको स्रोत बताउँछ ।
यस बारेमा राइनास नगरपालिकामा सम्पर्क गर्दा चार करोड रकम धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नतिका नाउँमा आएको छ । तर त्यो कहाँ खर्च गर्ने भन्ने विवाद भएर अख्तियारी नआएको हो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार योजना संशोधन भएर आउछ भन्ने भएर रोकिएको हो, संशोधन नभए जहाँका लागि भनेर आएको हो, त्यहाँ खर्च गर्नु पर्छ । ‘धमिलिकुवा स्वास्थ्य चौकीको नाउँमा त एक आना पनि जग्गा छैन रे ! कसरी बन्छ होला र त्यहाँ अस्पताल ?’ भन्ने जिज्ञासामा ऐले जग्गाको लालपूर्जा बनाउन मन्त्री परिषदमा फाइल पेश भएको भन्ने सुनेको छु, खै कसो हुने हो अधिकारीले भन्नुभयो ।
सरकारी मापदण्ड मिच्दै स्वामित्वमा एक आनामा पनि जग्गा नभएको स्थानमा अस्पताल बन्नु पर्छ भन्दै आफैले यस अघि गरेको निर्णयका विरुद्धमा वडानं ६, ७ र ८का वडाध्यक्षहरू किन लागेका हुन् ? उनीहरूको विवेक के भएको होला ? भन्दै उक्त नगरपालिका अधिकांश बासिन्दाले प्रश्न उठाइरहेका छन् ।
यसप्रकार जनताको शासन अर्थात लोकतान्त्रिक गणतन्त्र आएर सिंहदरबार नै गाउँघरमा आएको भनिएको बेलामा जनप्रतिनिधिहरूले गरेका सर्वसम्मत निर्णयलाई मन्त्रालयका एक उपसचिव र एक शाखा अधिकृतले नियत खराब राख्दा कसरी धोती लगाउँदा रहेछन् र जग्गा नै नभएको स्थानमा पनि अस्पताल बनाउने चलखेल गर्दा रहेछन् भन्ने उजागर गरेको मात्र हैन यसबाट राइनास नगरवासीले नगरस्तरको अस्पतालबाट पाउनु पर्ने सेवाबाट समेत बञ्चित हुनुपर्ने स्थिति उत्पन्न भएको देखिन्छ । यो स्थितिका कारण यस वर्ष उक्त अस्पताल निर्माणका लागि आएको बजेट फ्रिज हुने सम्भावना बढेर गएको छ । धमिलिकुवामै अस्पताल बन्ने हो भने पनि त्यसको जग्गा प्राप्ति र डिपिआर तयार हुन कम्तिमा थप एक वर्ष लाग्ने छ । त्यसमा पनि सार्वजनिक सरकारी जग्गा कुनै पनि संस्था वा निकायलाई स्वामित्व हस्तान्तरण नगर्ने नेपाल सरकारले नीति बनाएको धेरै भइसकेको छ । बेसीशहर स्थित मानव सेवा आश्रमका लागि जग्गा उपलब्ध गराउने सम्बन्धमा सरकारी निर्णय हुन नसक्ने भएकोले एक संस्थाले जग्गा उपलब्ध गराएको तीन महिना पनि वितेको छैन । राइनासको अस्पताल निर्माणका भएको लापरवाहीपूर्ण कार्यको जिम्मेवार को को हुने हो ? र त्यो अस्पताल कहिले बन्ने हो ? भन्ने प्रश्न झनै पेचिलो बन्दै गएको छ ।


No comments:
Post a Comment