विष्णुकुमार श्रेष्ठ/अन्तरङ्ग
सुन्दरबजार(लमजुङ)– लमजुङको शैक्षिक एवम् व्यावसायिक केन्द्र सुन्दरबजारमा अवस्थित ईलाका प्रहरी कार्यलय सुन्दरबजारले प्रभावकारी सेवा दिन नसकेको अनुभव गरिएको छ । कार्यक्षेत्र ठूलो हुनुको साथै दरबन्दी आपूर्ति सहितका आवश्यक सुविधा नहुँदा प्रहरीको सेवा प्रभावकारी हुन नसकेको हो ।
ईलाका प्रहरी कार्यलय सुन्दरबजारमा प्रहरीको लागि सवारी साधन गाडी, ल्याण्डलाईन टेलिफोन, आफ्नै भवन र जनशक्तिको अभावको देखिएको छ । त्यसले पनि सेवा प्रभावित भएको स्वयम् प्रहरीहरुले स्वीकार गरेका छन् । उक्त कार्यलयमा २३ जना दरबन्दी रहेकोमा हाल १४ जना मात्र पद पूर्ति रहेको सो कार्यालययका प्रमुख प्रहरी नायव निरीक्षक रामकृष्ण अधिकारीले बताउनु भयो । उहाँका अनुसार आफ्नो भवन समेत छैन । त्यसैले आदर्श बाल मा.वि.को पुरानो भवनमा बसेर त्यहीबाट सेवा दिने गरिएको छ । उहाँले भन्नुभयो, ‘अति सीमित श्रोतसाधन र जनशक्तिबाट २४सैं घण्टा खटेर आम नागरिकलाई शान्ति सुरक्षा दिने काम गरिरहेका छौं ।’
ईलाका प्रहरी कार्यलय सुन्दरबजारको भवन निर्माणका लागि प्राप्त भएको जग्गा बजार क्षेत्रबाट केही भित्र भएका कारणले सेवा दिनका लागि हाल बसेको स्थान उपयुक्त भएको अधिकारीको भनाई छ । उहाँले भन्नुभयो, ‘ईलाका प्रहरी कार्यलय सुन्दरबजारको नाममा रहेको जग्गा सडकबाट भित्र भएकोले त्यस स्थानमा भवन निर्माण गर्नु भन्दा हाल रहेको स्थानबाट सेवा प्रवाहका हरेक दृष्टिकोणबाट उपयुक्त रहेको हुँदा यही स्थानमा नै इलाका प्रहरी कार्यलय भवन निर्माणको लागि पहल भए बेस हुने देखिदा यसतर्फ सबै सरोकारवाला निकायको ध्यानाकर्षण गर्न चाहन्छौं ।’

No comments:
Post a Comment