कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको जिल्ला अध्यक्ष तुलसीविकास, सचिवमा पुनः गोविन्द - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Thursday, February 18, 2021

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानको जिल्ला अध्यक्ष तुलसीविकास, सचिवमा पुनः गोविन्द

अन्तरङ्ग/वर्ष– २९, अंक– २६, फागुन ६ गते(२०७७) मा प्रकाशित

लमजुङ– कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान नेपाल जिल्ला शाखाको अध्यक्षमा तुलसीविकास अधिकारी र सचिवमा गोविन्दप्रसाद अधिकारी पुनः दोहोरिनु भएको छ । प्रतिष्ठानको यहाँ सम्पन्न तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै माघ ३० गते सम्पन्न भएको हो । 

कार्यक्रमको प्रमुख अतिथि सोही प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष सिताराम अधिकारी तथा विश्वहिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी विशेष आतिथि हुनुहुन्थ्यो । आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा सिताराम अधिकारीले नेतृत्वमा आउने व्यक्ति स्वस्थ, संकल्परत(समय दिने), साहसी तथा आर्थिक हिसावले पनि सक्षम हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सम्पन्नतामा एकताको र विपन्नतामा एक चिम्टी नुनको महत्व हुन्छ भन्दै अधिकारी वंशको व्याख्यासहितको कविता वचान गर्नु भएको थियो । 

यसैगरी, विशेष अतिथि डा. रामचन्द्र अधिकारीले विगतमा आफूले जिल्लाका गाउँगाउँमा घुमेर मानिसले बोल्न पाउनु पर्छ, भोकाना·ाले खान लगाउन पाउनु पर्छ भन्दै प्रजातन्त्र ल्याउनका लागि सचेतना जागृत गर्दै हिडेको स्मरण गर्नु भयो । उहाँले त्यो बेलामा आजको जस्तो महिलाहरू जमघट हुने मञ्चमा उभिएर बोल्न सक्ने अवस्था थिएन, आज त्यो प्राप्त भएको देख्दा खुशी लाग्ने गरेको बताउनु भयो । उहाँले थप भन्नुभयो, ‘तर ऐले पुस्तान्तरणका कारण नयाँ पिंडीलाई चिन्न पनि कठिन स्थिति बन्दै गएकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले स्वस्थ्य जीवनका लागि माटोदेखि अनाज सहितका सबै वस्तुमा सुधार गर्नु पर्ने अवस्था रहेको भन्दै विषादियुक्त फलफूल, अनाज आदि खाने गर्नाले विस्तारै मानिसको प्रजनन क्षमता समेतमा ह्रास आउने स्थिति उत्पन्न भएको छ, विकासे मल राखेर विगारिएको माटोदेखि हाम्रो खानपान आदि सबै शुद्ध हुनुपर्छ त्यसतर्फ लाग्न सबैलाई आह्वान गर्नु भयो । संस्कृति बचाउनु हामी सबैको कर्तव्य भएको बताउँदै उहाँले आफू ८० वर्षको उमेरमा पनि त्यस कार्यमा जुटिरहेको र सबैको साथ पाउने विश्वास व्यक्त गर्नु भयो । सम्मानित जेष्ठ नागरिक रत्नकुमारी अधिकारीले आजको दिन आफूलाई सात सूर्य उदाएको जस्तो खुशी लागेको बताउनु भएको थियो । 

सो अवसरमा राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीले यो अति महत्वपूर्ण कार्य भएको छ, यस्ता कार्यक्रमले लोककला, संस्कृतिको जगेर्ना गर्न मद्दत गर्ने र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त प्रतिष्ठानका केन्द्रीय वैकल्पिक सदस्य नवराज पहाडीले जिल्लामा प्रतिष्ठानका गतिविधिहरू बढ्दै गएकोमा गौरववोध हुन थालेको छ भन्नुभयो । उहाँले हामीले हाम्रा पूर्वज कश्यप ऋषि जसका कारणले हामी यो धर्तीमा जन्मने सौभाग्य पायौं, हामी पनि उहाँको जस्तै साधना, योग तथा संकल्पका साथ अधि बढ्न जरुरी छ र जिल्लादेखि केन्द्रसम्मका कार्यक्रमहरू यसतर्फ जोड दिनुपर्छ र आउँदा दिन त्यसतर्फ अघि बढ्ने छन् भन्ने विश्वास व्यक्त गर्नु भयो । 

कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधी गर्नु भएका त्रय डा. पितृभक्त अधिकारी, डा. शिवराज अधिकारी र डा. श्री नारायणप्रसाद अधिकारीले आ– आफ्ना विषयका बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै, शुभकामना व्यक्त गर्नेमा प्रतिष्ठानका केन्द्रीय प्रतिनिधि मुक्त अधिकारी, प्रतिष्ठानका राइनास नगर अध्यक्ष वावुराम अधिकारी, पार्वता अधिकारी हुनुहुन्थ्यो । विष्णुभक्त अधिकारीले ठाडोभाका, शर्मिला अधिकारी नेपाल र वावुराम अधिकरीले गीत प्रस्तुत गर्नु भएको थियो ।   

विगत वर्षका कार्यक्रम जस्तै कश्यप गोत्रीय अधिकारीका ८३ वर्षदेखि ९३ वर्षका जेष्ठ नानगरिक १० जना, पूर्वस्वास्थ्य सहायक मन्त्री तथा विश्व हिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा. श्री रामचन्द्र अधिकारी, प्रमुख प्रशासकीय अधिकारी (उपसचिव) रामचन्द्र अधिकारी राइनास नगरपाकिला, विभिन्न विषयमा विद्यावारिधी गर्नु भएका डा. पितृभक्त अधिकारी, डा. शिवराज अधिकारी र डा. श्री नारायणप्रसाद अधिकारी ३ जनालाई सम्मान गरिएको थियो । साथमा २ जना एसईई उत्कृठ छात्रा र छात्र क्रमशः सदिक्षा अधिकारी बेसीशहर– १ उदिपुरकी जिपिए ३.९ र मन्दिप अधिकारी दोर्दी– १ भार्ते, जिपिए ३.८५ लाई पनि सम्मान गरिएको सचिव गोविन्दप्रसाद अधिकारीले बताउनु भयो । 

उहाँले प्रतिष्ठानको संक्षिप्त कार्य प्रगती प्रतिवेदन पेश गर्नु भएको कार्यक्रममा कोषध्यक्ष गोपालकृष्ण अधिकारीले ९२ हजार आय व्यय रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । जिल्ला अध्यक्ष विश्वप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डम्बर अधिकारीले स्वागत तथा रमाकान्त अधिकारीले सञ्चालन गर्नु भएको थियो । 

सोही जिल्ला अधिवेशनबाट समितिको अध्यक्ष तुलसी विकास अधिकारी रुपाकोट, वरिष्ठ उपाध्यक्ष खेमलाल अधिकारी भारते, उपाध्यक्ष सिर्जना अधिकारी भोटेओडार, सचिव गोविन्दप्रसाद अधिकारी उदिपुर, कोषाध्यक्ष गोपालकृष्ण अधिकारी नौथरसिख्र र सहसचिव पार्वती अधिकारी तार्कु खहरे (सिख्र) सर्वसम्मत निर्वाचित हुनुभयो । सो समितिको सदस्यहरू शिवकुमारी अधिकारी बेसीशहर, कमल अधिकारी सहकाले, कमलनाथ अधिकारी नौथर सिख्र, नमिता अधिकारी रुपाकोट, सदस्य बाबुराम अधिकारी राइनास, सदस्य निलकण्ठ अधिकारी कुन्छा, हरिराम अधिकारी भारते चयन हुनुभएको निर्वाचन समितिका संयोजक डम्बर अधिकारीले जानकारी दिनु भयो । केन्द्रीय प्रतिनिधि द्वयमा नवराज अधिकारी पहाडी बेसीशहर र प्रकाशचन्द्र अधिकारी भोटेओडार चयन हुनुभएको उहाँले बताउनु भयो । 

अधिवेशनले सल्लाहकार समितिको संयोजक विश्वप्रसाद अधिकारी(निवर्तमान अध्यक्ष) उदिपुर, सदस्यहरूमा दामोदर अधिकारी धुसेनी, श्रीभद्र अधिकारी भारते, श्यामप्रसाद अधिकारी अर्चलबोट, मुक्तिनाथ अधिकारी, भोटेवडार, कृष्णमुरारी अधिकारी, रुपाकोट, बाबुराम अधिकारी साइलीटार, रमाकान्त अधिकारी भोटेओडार र रामशरण अधिकारी तार्कु खहरेलाई चयन गरेको निर्वाचन संयोजक अधिकारीले बताउनुभयो । 

अधिवेशनको समापनका अवसरमा डा. रामचन्द्र अधिकारीले विजयी एवम् सहयोगी सबैलाई बधाई र धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यस्तै, नवनिर्वाचित अध्यक्ष तुलसीविलास अधिकारीले प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै वंश इतिहासको खोज, कुलपुजामा एक रुपता कायम गर्ने, वंशावली अध्यावधिक गर्ने, एक घर एक आजीवन सदस्य बनाउने लगायतका कार्य गर्ने बताउनु भयो । 

यसैबीच, उक्त समितिको  पहिलो बैठक फागुन ८ गते भोटेओडारमा दिउँसो २ बजे बस्ने भएको सचिव गोविन्द अधिकारीले जानकारी दिनुभएको छ । 

No comments:

Post a Comment