लकडाउनले पत्रकार स्वस्तिकालाई बनायो उद्यमी, इन्टरलक इटाको माग उच्च - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, November 4, 2020

लकडाउनले पत्रकार स्वस्तिकालाई बनायो उद्यमी, इन्टरलक इटाको माग उच्च

 वर्ष २९, अंक १२, मिति २०७७ कार्तिक २० गतेको अन्तरङ्गमा प्रकाशित

धमिलिकुवा(लमजुङ)– लमजुङमा एक पत्रकार महिला लकडाउनको बेला पत्रकारिता छाडेर उद्यमी बन्नुभएको छ । लमजुङको राइनास नगरपालिका– ६ को धमिलिकुवा गाउँ निवासी स्वस्तिका पन्थी चिलुवाल इन्टरलक ब्लक उद्योग स्थापना गरेर उद्यमी बन्नु भएको हो । उहाँको उद्योग गत भदौबाट सञ्चालनमा आएको हो ।  

राजधानी काठमाडौमा बसेर करिब १० वर्ष पत्रकारितामा विताउनु भएकी उहाँले पछिल्ला वर्षमा आफ्नै स्वामित्वको फिल्मी जुम डटकम समेत सञ्चालन गरिआएनु भएको  थियो । लकडाउन लगत्तै गृह जिल्लामा फर्किनु भयो उहाँ । लकडाउनको अवधि एकपछि अर्को गर्दै थपिदै गयो । उर्जाशील व्यक्तित्वकी धनी उहाँले विकल्प खोज्न थाल्नु भयो । अन्ततः उहाँको रोजाइमा प¥यो इन्टरलग ब्लग उद्योग र ‘‘स्वास्तिका इन्टरलक ब्लक उद्योग’ दर्ता गरेर सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो । अन्य दुई जनाको सहयोगमा उद्योग स्थापना गर्नु भएकी उहाँले उक्त ‘‘स्वास्तिका इन्टरलक ब्लक उद्योग’को प्रोपाइटर समेत उहाँ आफै हुनु भएको छ । 

धमिलिकुवाको पाँच रोपनी जग्गामा आफूले उक्त उद्योग सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनु भयो । शुरुका दिनमा आफू समेतका तीन जान सोही स्थानका तुलसीनारायण श्रेष्ठ र ललितपुरका यमबहादुर थोकरले ५०÷५० लाख लगानीमा शुरु गरेको स्वास्तिका इन्टरलक ब्लक उद्योगमा यतिबेला भने लगानी झण्डै एक करोड पुग्यो होला, अन्तिम हिसाव निकाल्न बाँकी छ उहाँले सुनाउनु भयो ।

इन्टरलग इटाको विशेषता बारेको हाम्रो जिज्ञासामा उहाँले भन्नुभयो, ‘यो इटा भूकम्प प्रतिरोधी हो, अर्को(रातो) इटाभन्दा सस्तो छ, साइजमा पनि ठूलो छ, भरपर्दो छ र आकर्षक छ यसैले यसको माग

थेग्न सकेको छैन ।’ उहाँले थप भन्नुभयो, ‘‘२०७२ सालमा भूकम्प गएपछि सरकारले तोकेको मापदण्ड अनुसारका भूकम्प प्रतिरोधी घर निर्माण गर्नका लागि यो इटा अति उपयोगी छ । अन्य इटाको तुलनामा साइजमा ठूलो, भरपर्दो छ, सस्तो छ र आकर्षक पनि छ यसैले माग थेग्न सकिएको छैन ।’ उहाँका अनुसार उक्त उद्योगमा उत्पादित इटा प्रति गोटा ५५ रुपैयाँमा विक्री गर्ने गरिएको छ, यतिबेला लमजुङको माग नै पुरा गर्न सकिएको छैन । भोलिका दिनमा छिमेकी जिल्लामा पनि बजार विस्तारको योजना छ उहाँले भन्नुभयो । 

यो उद्योग वातावरण मैत्रीसमेत रहेको उहाँको दावी छ । उद्योग करिब करिब गाउँको बीचमा नै स्थापना गरेका छौं । ध्वाँ, धुलो रहित र आवाजको हिसावमा पनि चामल कुट्ने सोलार मिलको जस्तै हो स्वस्तिकाले जानकारी दिनु भयो । 

सरकारले तोकेको भूकम्प प्रतिरोधी १० वाई ११ फिटका दुई कोठे घर र एक शौचालय निर्माणका लागि एक हजार पाँच सय इटाले पुग्छ । अन्य इटाको तुलनामा यो इटा प्रयोग गरेर घर निर्माण गर्दा घरको निर्माण खर्चमा २५ प्रतिशतले कम पर्छ उहाँले बताउनु भयो । 

गत भदौ १ गतेबाट उत्पादन शुरु गरिएको उक्त उद्योगबाट उत्पादिन इटाको गुणस्तर सिमेन्टको गुणस्तरमा पनि निर्भर गर्ने रहेछ उद्योगकी प्रोपाइटर स्वस्तिकाले अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘‘उद्योगमा जडान गरिएको मेसिनको दैनिक १ हजार ७ सयदेखि २ हजार ७ सय इटा उत्पादन गर्ने क्षमता रहेको छ ।’ इटा उत्पादन भइसकेपछि २१ दिनसम्म सुकाउने काम गर्नु पर्छ त्यसपछि मात्र इटा विक्रीको लागि योग्य हुन्छ, त्यसैले उद्योग सञ्चालनका लागि फराकिलो स्थानको आवश्यकता रहेको उहाँको भनाई छ । उहाँका अनुसार यतिबेला १ हजार ८ सयदेखि २ हजार ५५० सम्म इटा एक दिनमा उत्पादन भएको रेकर्ड रहेको छ । यतिबेला आफ्नो उद्योगमा ८ जनाले रोजगारी पाइरहेको उहाँले जानकारी दिनु भयो ।

राइनास नगरपाकिला– ६ स्थित ‘‘स्वास्तिका इन्टरलक ब्लक उद्योग’बाट उत्पादन गरिएका उद्योगको इटा प्रायेग गरी निर्माण गरिएको एक घर ।

नौ घण्टामा एक हजार सात सय इटा उत्पादन गर्न सकिन्छ तर चार घण्टा चलाएपछि एक घण्टा मेसिनलाई सेलाउन दिनु पर्ने हुन्छ उहाँले भन्नु भयो । उहाँका अनुसार उक्त उद्योगबाट उत्पादन हुने इटाको साइट ६, ४ र ११ इन्च लम्बाई चौडाई र मोटाई रहेको छ । उद्योगकी प्रोपाइटर स्वस्तिका पन्थीले भन्नुभयो, ‘यो इटा पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रतिरोधी हो भनेर प्रमाणित गरेको छ । हामीले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रण गरेको छौं ।’ उहाँले थप भन्नुभयो, ‘‘अहिले पनि हाम्रोमा तीन सय घरका लागि यो इटाको माग छ, यसैले पनि उद्योगको क्षमता बृद्धि गर्नु पर्ने आवश्यकता खड्किएको छ ।’

No comments:

Post a Comment