अन्तरङ्ग संवाददाता
लमजुङ । अविरल वर्षाको कारणले अवरुद्ध भएको बेसीशहर- चामे सडक घोप्टेखोलामा बेलिब्रिज बनेसँगै खुलेको छ । दुई महिनाको अन्तरालमा बेसीशहर- चामे सकड असोज २३ गते विहान ११ बजेदेखि सुचारु भएको हो ।
मस्र्याङदी गाउँपालिका- ४ को घोप्टेखोलामा निर्माण गरिएको बेलिब्रिज अविरल वर्षाका कारण आएको बाढीले सो खेलामा हालिएको बेलिब्रिज बगाउँदा यातायात सेवा ठप्प भएको थियो । यातायात सेवा गत साउन २२ गतेका दिनदेखि बन्द भएको थियो । घोप्टेखोलामा बेलिब्रिज नहुँदा पैदल यात्रीलाई समेत कठिनाई भएको थियो । सो पुल बगाएपछि लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वडानं ४ र ५ पुरै र हिमाल पारीको जिल्ला मनाङ सबै प्रभावित भएको थियो । सडक डिभिजन कार्यालय दमौलीको सक्रियतामा बेलिब्रिज पुनः निर्माण गरिएपछि शुक्रबार बिहान ११ बजेबाट यातायात सुचारु भएको सडक डिभिजन कार्यालय दमौलीका इञ्जिनियर अमितकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सो बेलिब्रिज ३२ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । उहाँले भन्नुभयो, ‘पछिल्लो पटक वर्षा नभएको भए असोज १० गते खुलाउने गरी पुनःनिर्माणको काम थालिएको थियो तर वर्षा थपियो र पहाडको साँघुरो स्थानमा राखिएका बेलिब्रिजका सामग्री केही पहिरोले बगाउने र केहीलाई पुर्ने र बङ्ग्याउने काम गर्यो, त्यसैले काम प्रभावित हुन गयो ।’ बेलिब्रिजको पुनःनिर्माणको जिम्मा काराभान कन्ट्रक्सनलाई दिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार केही सामग्री कार्यालयमा स्टक रहेको हुँदा निर्माणकार्यमा सहज भयो र छिटो सकियो ।
बेसीसहर- चामे सडकको निर्माण कार्य सडक विभागले आर्थिक बर्ष २०५१/५२ मा शुरुवात गरेको हो । खुदीसम्मको सडक खण्ड निर्माण भए पछि उक्त सडकलाई आव ०५८/५९ देखि नेपाली सेनाले निर्माणको जिम्मा लिएको थियो । करिब १० वर्षमा नेपाली सेनाले सडकको ट्याक खोलेर पुनः सडक डिभिजन कार्यालयलाई नै हस्तान्तरण गरेको हो ।
फोटोमा बेलिब्रिज बन्दा र नबन्दाको फरक दुई दृश्य-
No comments:
Post a Comment