मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको संरचना बदल्न माग - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, October 9, 2020

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको संरचना बदल्न माग


अन्तरङ्गको वर्ष– २९, अंक ८, असोज २२ गते, २०७७ मा प्रकाशित मुख्य समाचार 

बेसीशहर– लमजुङको सदरमुकाम बेसीशहर क्षेत्रमा बग्ने मर्स्याङ्दी नदीमा ५० मेगावाट क्षमताको अर्को मर्स्याङ्दी बेसी जलविद्युत आयोजना निर्माण हुने भएको छ । तर उक्त आयोजनाको संरचना बदल्न स्थानीयबासीले माग गरेका छन् । आयोजनाको प्रवर्द्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर कम्पनीले यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानीयबासीले असोज १६ गते त्यस्तो माग गरेका हुन् । 

सार्वजनिक सुनुवाईमा सहभागी अधिकांश वक्ताले मर्स्याङ्दी नदी बेसीशहरको शोभा भएको हुँदा यसलाई सुरुङ भित्र पठाएर कान्ति बिहीन बनाउन खोजिएको भन्दै यो आयोजना निर्माणको काम नै गर्न नहुनेमा जोड दिएका थिए । उनीहरू अधिकांसले बेसीशहर नगरपालिकाको वडानं ६ र १० लाई मात्र प्रभावित भन्नु सरासर गलत भएको बताउँदै सम्भव भए वडानं १ पनि त्यो नभएता पनि वडानं ७, ८, ३ र २ वडालाई अनिवार्य प्रभावित क्षेत्रमा समेट्नु पर्नेमा जोड दिए । सो अयोजनाको सन् २०१४ मा सम्पन्न गरिएको इआई प्रतिवेदन जनप्रतिनिध नभएको मौकामा तत्कालीन गाविसका सचिवहरुलाई मुलाहिजामा पारेर स्विकृत गरिएको सहभागीको दावी थियो । 

नागरिक समाजका अगुवा डा. बालकृष्ण बरालले उक्त आयोजनाको एई (वातावरणीय प्रभाव मूल्यांकन) प्रतिवेदनमा समेत सो आयोजनाले निर्माण गर्ने सुरुङ मार्गको भाँचोक खोला र रातमाटा गाउँ क्षेत्रको भूबनोट कच्ची छ भन्ने उल्लेख हुँदा हुँदै जलविद्युत आयोजनाको निमार्ण गर्न लाग्नु स्थानीयबासीका लागि सरासर अन्याय हुने बताउनु भयो । ‘‘यो आयोजना सुरुङमार्गबाट नभई स्थलमार्गबाट फलामे वा सिमेन्टका पाइपमार्फत पानी लगेर विद्युत उत्पादन गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘‘त्यो कार्य प्रस्तावित बाँध भन्दा १२,१५ फिट अर्को वालको उचाई थप निर्माण गरी गर्न सकिन्छ, यसतर्फ आयोजनाको प्रवद्र्धक कम्पनीले ध्यान दिनु पर्छ अन्यथा स्थानीयबासीले जे पनि गर्न सक्छन् । त्यसको जवाफदेही प्रवद्र्धक कम्पनी र जनप्रतिनिधिहरू हुनुपर्नेछ ।’

लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले आज यति लामो कार्यक्रममा दुई पटक मात्र बत्ती गएर शुभ संकेत गरेको जस्तो छ र सो आयोजना समयमै सम्पन्न भएमा जिल्लाबासीकलाई बत्ती जाने समस्याबाट मुक्ति मिल्ने थियो कि ? भन्ने व्यङ्ग्य कस्दै ग्रामीण पर्यटनको हव बन्दै गरेको लमजुङमा अन्नपूर्ण चक्रिय पदमार्ग प्रभावित भएको वर्तमान अवस्थामा भन्नुभयो । उहाँले यो आयोजनाले बेसीशहर क्षेत्रमा मर्स्याङ्दीलाई सुरुङबाट वाईपास गर्दा पर्यटकीय दृष्टिले प्रभावकारी देखिएको र्याफ्टिङ सहितका खेल र दृश्यावलोकन प्रभावित हुने भएकोले समयमै विकल्प सोच्नु पर्ने औंल्याउनु भयो । जनता समाजवादी दलका केन्द्रीय सदस्य समेत रहेका खेमजंग गुरुङले पीडितहरूका मागको समयमै सम्बोधन नभए सडकमा उत्रन बाध्य हुने बताउनु भयो । 

नेपाली काँग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलले जे जति सुझाव आए ती सबैको सम्बोधन हुन्छ ? भन्ने प्रश्न गर्दै यो कार्यक्रम औपचारिकताको तमासामात्र नहोस् भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘पीडितका मागको सम्बोधन सरकारले गर्नु पर्छ, यदि कसैले प्रभावितका नाउँमा कसैले अनावश्यक फाइदा लिने प्रयास गरेमा त्यतिबेला हामी प्रवर्द्धक कम्पनीको साथमा हुनेछौं ।’

बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले यो कार्यक्रम आफ्ना कारणबाट आयोजना भएको बताउँदै जन गुनासाको सम्बोधन गरी निर्माणको काम अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘आयोजनाको रिडिजाइनको सम्भावना छ भने त्यो पनि गरौं, आयोजनाबाट स्थानीयले बढीभन्दा बढी के कसरी लाभ लिन सक्ने हो, छलफल गरौं, समन्यवाका लागि सधैं तयार छु ।’

गण्डकी प्रदेश सभाका सदस्य धनञ्जय दवाडीले एकजना दाता हाम्रो ठाउँमा विकास गर्छु भनेर १२, १३ अर्व लिएर आउनु भएको छ, हामीले स्वागत गर्ने कि जाउँ भनेर फर्काउने ? भन्ने प्रश्न गर्नु भयो । उहाँले भन्नुभयो, ‘‘२०६५ सालमा आफू तत्काल एमालेको जिल्ला अध्यक्ष रहेको समयमा सर्बदलीय सहमतिबाट जिल्लालाई लगानी मैत्री बनाउन प्रण गरेको र त्यसपछि धेरै आयोजना निर्माणको चरण रहेकोतर्फ सबैको ध्यानाकर्षण गर्दै विकासको फल हामीले हामी बाँचकै युगमा पाउनु पर्छ । दाताहरू राज्यको विधि र नीतिमा छिरेर काम गर्नु पर्छ ।’ उहाँले थप भन्नुभयो ‘‘बेसीशहर नगरपालिकाले विशुद्ध मात्रामा रोयल्टी प्राप्त गर्न सक्ने एकमात्र यो आयोजना हो, त्यसले समृद्धि ल्याउने कार्यमा अवश्य मद्दत गर्नेछ  ।’

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले वातावरणीय अध्ययन प्रतिवेदनको बेला दिनुपर्ने सुझाव यो बेलामा आएका छन् । तर यो निर्माणको चरण भएको हुँदा परियोजनाको डिजाइनमा देखिएका कमी कमजोरीलाई सकेसम्म न्यूनिकरण गर्नेतर्फ लाग्नु पर्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘‘विधि विधानभन्दा माथि कोही छैन, त्रुटी सच्चाउनका लागि के के गर्न सकिन्छ । १० प्रतिशत स्थानीयको सेयर थप गर्न सकिन्छ कि ? रोजगारीमा बढी ग्यारेन्टी गर्ने हो कि ? सामाजिक उत्तरदायित्वको बजेटलाई व्यवस्थित गर्ने लगायतका सबै काम गर्न आवश्यक रहेको औंल्याएका छन् ।’

दिव्यज्योति हाइड्रोपावर कम्पनीले सर्भे गरी लाइसेन्स लिएर चिनिया कम्पनीलाई शेयर बेच्ने काम गरेको हो । सो चिनिया कम्पनीको नेपालमा पहिलो लगानी भएको र चिनियाँ प्रविधिमार्फत आयोजनाको निर्माण गरिने दिव्यज्योतिका उपमहाप्रवन्धक एवम् प्रमुख इन्जिनियर कोलुङ च्याले बताउनु भयो । 

बेसीशहर नगरपाकिला– ६ को बेलौती विसौनामा बाँध बाधेर ६.६५ मिटरको सुरुङमार्ग मार्फत ३१५ मिटरको पेनस्टक पाइप राखी बेसीशहर नगरपालिका– १० को सालडाँडा मुनी मर्स्याङ्दी नदी किनारमा अर्धभूमिगत विद्युत गृह निर्माण गरिने जानकारी सो आयोजनाको परामर्शदाता कम्पनी नेपाल इन्भारोमेन्ट एन्ड डेभलपमेन्टका प्रवन्ध निर्देशक नारायणप्रसाद खनालले बताउनु भयो । उहाँका अनुसार आयोजनाबाट वार्षिक ३२१.१५ गिगावाट विद्युत उत्पादन हुने आंकलन गरिएको छ । उहाँले भन्नुभयो, ‘‘आयोजनाबाट उत्पादन हुने विद्युत ५ किमीको दुरीमा रहेको उदीपुरमा निर्माण गरिने सवस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारणमा पठाइनेछ ।’

उक्त आयोजना निर्माणको काम नै गर्नु हुन्न भन्ने धारणा राख्नेहरूमा मर्स्याङ्दी बहुमुखी क्याम्पसका उपप्राध्यापक जनक बस्नेत, युवा व्यवसायी विमल श्रेष्ठ, ओपेक अभियन्ता चन्द्र मिश्र, बेसीशहर– ७ का वडाध्यक्ष गोविन्द बस्नेत आदि हुनुहुन्थ्यो । बुद्धिजीवी बुद्धिसागर बरालले आयोजना बन्नै नदिनभन्दा पनि स्थानीयले बढी सुविधा पाउने गरी योजना निर्माणमा सहयोग गर्नु पर्ने भन्दै विभिन्न माग विद्युत आयोजनाले पूर्ति गर्नु पर्नेमा जोड दिनुभएको थियो । 

यसअघि मर्स्याङ्दी नदीमा दुई ठूला जलविद्युत आयोजना निर्माण भइसकेका छन् भने निर्माण हुन लागेको यो तेस्रो ठूलो जलविद्युत आयोजना हो । यसअघि ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजना र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना निर्माण भइसकेका छन् । कुल ५० मेगावाट क्षमताको उक्त मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माणका लागि चिनियाँ कम्पनी चायना चेङकुइङ अनलाय हर्वल कम्पनी लि.को ९८ प्रतिशत लगानी हुनेछ । बाँकी दुई प्रतिशत लगानी नेपालका गोपालकृष्ण कोइरालाले गर्ने भएका छन् । सो आयोजना निर्माणका लागि आठ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । स्थानीयलाई १० प्रतिशत सेयर दिने प्रस्ताव गरिएको आयोजनाबाट वर्षायाममा २५८.६५ गिगावाट र सुख्खायाममा ६५.५० गिगावाट आवर विद्युत उत्पादन हुनेछ । 

रन अफ द रिभर प्रकृतिबाट उत्पादन हुने विद्युत आयोजनाले हिउँदको सुख्खा याममा पनि मर्स्याङ्दीमा १० प्रतिशत पानी छाड्ने प्रतिवद्धता व्यक्त गरेको छ । सो आयोजना २०८५ साल अघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ । 

No comments:

Post a Comment