लोकगीत गुञ्जाउँदै गरियो प्रतिष्ठानको १९औं साधारणसभा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, October 23, 2020

लोकगीत गुञ्जाउँदै गरियो प्रतिष्ठानको १९औं साधारणसभा

वर्ष– २९,  अंक– १०, २०७७ – कार्तिक ६ गते, प्रकाशित समाचार
बेसीशहर– ‘‘पोखरा माटेपानी, घर छोडी ओ विदेश नजानु कोइ पनि ... खेतपाती बारीमा कमाउँला, बेलुका भा’सी रोधिघर जमाउँला, पोखरा माटेपानी .... ’ यो गीत र लोकलय वरिष्ठ लोकगायिका माया गुरुङको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङ शाखाको १९औं साधारणसभाको उदघाटन गर्दै उहाँले यो गीत कार्तिक २ गते गाउनु भएको हो । 

वार्षिक साधारण सभाको मन्तव्य व्यक्त गर्दै वरिष्ठ लोकगायिका माया गुरुङले आफू उमेरले ५९ वर्षको भए पनि १७ वर्षको भएर दोहोरी गाउँदै हिड्ने मन र रहर रहेको बताइन । उनले हजारौंसँग दोहोरी गाएर हिडेको भएतापनि अझै धोको नपुगेको र एकल साँझको तयारी गरिरहेको जानकारी दिनु भयो । उहाँले आफूलाई प्रमुख अतिथिको सम्मान भन्दा पनि लोकगायककै रुपमा आमन्त्रण गरेको भए अझ खुशी हुने थिए भन्नुभयो । मन्तव्यको अन्त्यमा उहाँले ‘‘‘दूधको भारा कैले तिर्न सक्छु आमा ... खाँ छु दशधारा .... ’ बोलको गीत गाउनु भएको थियो । 

यसैगरी कार्यक्रमकी विशेष अतिथि लोकगायिका एवम् बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा रानाले आफ्नो गायन पालामा स्मरण गर्दै त्यो बेलामा डिलिटल सिस्टमको विकास नभएको, ऐलेको जस्तो स्टुडियोहरू समेत नभएको अवस्थामा एउटा गीत लाउनका लागि रेडियो नेपालमा ६ महिना पालो कुर्नु पर्ने र गीत गाएर अन्तिममा पुगेको बेलामा बिग्रियो भने पनि शुरुदेखि गाउनु पर्ने स्थिति थियो, त्यसमा धेरै सुधार आएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले नयाँ भाइबहिनीलाई समाजमा सकारात्मक सन्देश दिने खालका गीत गाउनु पर्नेमा जोड दिदै छाडा गीत नगाई अनुशासित बन्न समेत आग्रह गर्नु भयो । उहाँले रेडियो नेपालमा स्वर परीक्षा पास गरेर पहिलो रेडर्क गराएको गीत ‘‘लाइरन्छ अत्यास, यो मन रोइरनी, आउँ चाडै फर्केर हितको परानी ... ’ बोलको गीत गाएर दर्शकलाई मन्त्र मुग्ध बनाउनु भएको थियो । 

उक्त कार्यक्रममा बेसीशहर नगरपालिकाका कार्यपालिका सदस्य आशा बोम्जनले लोकगीत कलाको संरक्षणका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताइन् । कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले लोक, कला संस्कृतिको खानी रहेको लमजुङमा पछिल्ला वर्षमा ओझेलमा पर्न लागेको हो कि ¤ भन्ने आभास हुन थालेको छ । त्यो स्थितिलाई चिर्न सक्नु पर्छ, त्यसमा पहिलो हात कलाकारहरूकै हो यहाँहरूलाई त्यस्तो उर्जा र प्रेरणा मिलोस् भन्नुभयो । उहाँले लोक कला संस्कृतिको संरक्षणका लागि ठाडोभाकाको स्थापना गरिएको बताउँदै ऐतिहासिक पृष्ठभूमिका साथ भावि कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष अनुज अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका साल्लाहकार रेशमलाल श्रेष्ठ, इन्सेक प्रतिनिधि दलबहादुर मजाकोटी लगायतले शुभकामना व्यक्त गर्नुभएको कार्यक्रममा लोकगायक एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सदस्य आशीष तामाङले धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष टुसबहादुर गुरुङलाई शाखाको उत्कृष्ठ सदस्यको रुपमा सम्मान गरिएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव प्रशान्त तामाङले वार्षिक प्रतिवेदन पेश गर्दै सञ्चालन गर्नु भएको थियो । 



No comments:

Post a Comment