सामयिक : पर्यटन पुनरुत्थानका लागि पहल - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Monday, October 5, 2020

सामयिक : पर्यटन पुनरुत्थानका लागि पहल

कृष्ण अधिकारी

सन् २०२० को शुरुआतसँगै विश्वव्यापी रुपमा फैलिएको कोभिड- १९ को महामारीबट नेपालसमेत नराम्ररी प्रभावित बन्न पुगेको छ । विश्वव्यापी कोभिड- १९ महामारीले हाम्रो स्वास्थ्य र जनजीविकामा मात्रै हैन अर्थतन्त्रमा पनि ठूलो चुनौती थपेको छ । आज विश्वका समृद्ध र ठूला अर्थतन्त्र भएका मुलुकहरू समेत यसबाट नराम्ररी थला परेको अवस्थामा हाम्रो जस्तो देशमा ठूलो असर पर्नु स्वभाविक हो । यद्यपि, आर्थिक सूचकांकहरू ती मुलुकहरूको तुलनामा नेपालको नकारात्मक देखिँदैन । 

२०७६ चैत ११ देखि समय समयको बन्दाबन्दी र घुमपिरमा लगाइएको प्रतिबन्धले गर्दा पर्यटन क्षेत्रका व्वसाय र सेवा प्रभावित बनेका छन् । यस संकटको घडीमा सुुरक्षाका मापदण्ड अपनाउँदै पर्यटनका गतिविधि सुचारु हुँदा रोजगार र व्यवसाय पुनः सुचारु गर्न र पर्यटन पुनरुत्थान हुन जानेछ । 

यतिबेला पर्यटन क्षेत्रलाई गतिशील बनाउने भनेको आन्तरिक पर्यटकबाट नै हो । विदेशी पर्यटकलाई लक्षित गरी विभिन्न पूर्वाधारदेखि ठूला होटललगायतका संरचनाहरू  निर्माण भएका छन् । तिनको लगानी खेर जान नदिन पनि आंशिकरुपमा भएपनि आन्तरिक पर्यटनलाई नै चलायमान गराउन आवश्यक छ । यसका लागि राज्यले सम्बन्धित व्यवसायीहरूलाई राहत सुविधा दिनुको साथै आन्तरिक पर्यटनको वातावरण निर्माण गर्न विदाका प्याकेजहरू प्रदान गर्न सकिन्छ । सरकारले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सातामा दुई दिन बिदा दिने गरी गृहकार्य शुरु गरेको छ भने एयरलाइन्स तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्था एवं होटलहरूले अहिले आन्तरिक पर्यटन बजार चलायमान बनाउन धमाधम विभिन्न टुर प्याकेजहरूको घोषणा गरेका छन् । 

पर्यटन मुलुकको एउटा प्रमुख र दिगो आधार भएकाले यसको प्रवद्र्धनका लागि निजी क्षेत्रको सहभागितालाई राजयले विशेष महत्व दिनु आवश्यक छ । कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असरलाई मूल्यांकन गरी पुरुत्थानका कार्यक्रमहरू सञ्चालन गर्न सकिएमा पर्यटनले पुरानै लय समात्न सक्नेछ । बहुआयामिक उद्योगका रुपमा चिनिएको पर्यटन क्षेत्रको नेपालको समृद्धि यात्रामा उल्लेख्य भूमिका र योगदान रहेको छ । विश्व पर्यटन परिषदको सन् २०१९ को तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६.७ प्रतिशत रहेको छ भने करीब   ११ लाख जनशक्तिका लागि पर्यटन क्षेत्रले रोजगारका अवसरहरू सिर्जना गरेको छ । विदेशी पर्यटकको खर्चबाट आर्जन हुने निर्यात आम्दानीमा ३०.८ प्रतिशतको योगदान रहेको छ ।

विश्व पर्यटन दिवशको अवसरमा पर्यटन पुनरुत्थान कार्यक्रमको शुभारम्भ गरेको छ । सरकारले निजी क्षेत्रको सहकार्यमा कोभिड- १९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न निजी क्षेत्रको पहलमा सार्वजनिक निजी साझेदारीको अवधारणा बमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स-नेपाल स्थापना भएको छ । उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहनुभएका निणर्यकर्ता तथा नीति निर्माताहरू माझ पर्यटनबारे बुझाई बढाउन, मुख्य सरोकारवाला निकायहरू बीच परिणाममुखी समन्वय स्थापना गराउन, र देशभित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरू तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरू बीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्र्ने कार्यमा केन्द्रित रहने गरी यस कार्यदलले काम गर्ने बताइएको छ । 

पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भैरहेका राम्रा प्रयासहरू तथा आवश्यक तैयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू सम्बन्धित निकायहरूलार्ई सुझाउने गरी अभियानहरु सञ्चालन गरिनेछ । परिणाममूखि कार्ययोजना र सरभाइभल, रिभाइभल, तथा थ्राइभलको स्पष्ट रणनीतिका आधारमा कार्यक्रम तथा गतिविधिहरू तय गरी त्यसमा सबेै मुख्य सरोकारवालाहरूको प्रयासलाई जोड्दै छिटो भन्दा छिटो पर्यटन पुनरुत्थान गर्नु कार्यदलको मुख्य जिम्मेवारी रहेको छ । पर्यटन पुनः संचालनका लागि पर्यटन क्षेत्रको तयारीका सन्दर्भमा सर्भेक्षण गर्ने, सुरक्षा मापदन्ड सम्बन्धि सूचना तथा जनचेतनाका सचित्र सामग्री तयार पार्ने, विदेशका अन्य गन्तव्यहरूमा भैरहेका अभ्यासहरूका बारेमा तथ्य तथा सूचना संकलन गर्ने, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वातावरण बनाउने र प्रवद्र्धन गर्ने जस्ता कार्यहरू शुरु गरिएका छन् । 

महामारीको समयमा स्वाथ्य सुरक्षाका मापदण्ड अपनाई पर्यटकलाई आकर्षित गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ र यसले आर्थिक विकासको गतिलाई कायमै राख्न मद्दत पुग्दछ । त्यसैले पर्यटनको माध्यमबाट अर्थतन्त्रलाई सुदृढ बनाउन सरकारी, निजी र अन्य क्षेत्रहरू बीच सहकार्यको खाँचो पर्दछ । सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै पर्यटन क्षेत्रलाई अझ बढी गतिशील बनाई पुनरुत्थानसँगै दिगो पर्यटनको अवधारणासहित अगाडि बढ्नु नै अहिलेको मुख्य आवश्यकता हो । यतिबेला मुलुकको समृद्धिको कुरा भनेकै नयाँ आर्थिक एजेण्डाहरु स्थापित गर्नुभन्दा पनि हिजो हाम्रा आर्थिक विकासका आधारहरूलाई मजबुद तुल्याउनु नै हो ।

No comments:

Post a Comment