अन्तरङ्ग संवाददाता
बेसीशहर– नेपालीहरूको महान चाड वडादशैंको मुख्य दिन आज विजयादशमी । आज आफ्ना मान्यजनहरूको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर कार्तिक १० गते मनाइँदैछ । आज लगाइने टीकाको शुभ साइत लमजुङको हकमा विहान १०ः२२ बजे रहेको छ भने आम नेपालीका लागि शुभ साइत भने पञ्चाङ्ग निर्णायक समितिले १०ः१९ बजेका लागि तय गरेको छ ।
विजयादशमीको टीकाको शुभ साइत लमजुङको हकमा विहान १०ः२२ बजे रहेको पं. घनश्याम सुवेदीले त्यसको जानकारी दिनु भएको हो । उहाँका अनुसार टीका लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्छ भन्ने विधिविधान रहेको छ । धार्मिक मान्यता अनुसार टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने हुन्छ । त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
आजका दिन मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । त्यसो त विजयादशमीको दिन आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि शास्त्रमा उल्लेख भएको बताइन्छ ।
आज टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ ।
यसैबीच, आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको नेपाल पञ्चांग निर्णायकले जनाएको छ ।
ब्राह्मणका केही समाजमा वडादर्शैंको टीका आज विजयादशमीका दिनमात्र लगाउने प्रचलन छ भने धेरै जातजाति तथा जनजातिमा वडादशैंको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ ।
सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।
यो वर्ष कोरोना संक्रमणको जोखिम अत्यधिक रहेका कारणले टीका लगाइदिने र टीका थाप्ने व्यक्ति दुवैले मास्क लगाउनु पर्ने जनस्वास्थ्यविदहरूले सुझाव दिएका छन् । उनीहरूले आ–आफ्नो घरमै बसेर दसैं मनाउनसमेत आग्रह गरेका छन् ।
विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर आशीर्वाद दिइन्छः
जयन्ती म·लाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोद्रस्तुते ।।

No comments:
Post a Comment