अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङको जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा बसेका महिलाहरूले विद्रोह गरेका छन् । वडादशैंको बेलामा १४ दिनसम्म पनि आफ्नो दोस्रो पिसिआर रिपोर्ट नआएको हुँदा आफूहरू घरमा जान पाउनु पर्छ भन्दै महाअष्टमीको दिन कार्तिक ८ गते विद्रोह गरेका हुन् ।
उनीहरूले अन्यत्रका आइसोलेसनमा बस्नेहरूको सोमबार, बुधबार स्वाव पठाएकाहरूकोसमेत रिपोर्ट आउने तर आफूहरूको आइतबार पठाएको पिसिआर रिपोर्ट नआएको भन्दै उनीहरूले विद्रोह गरेका हुन् । विद्रोहको अर्को कारणमा आइसोलेसनमा खानेपानीको समस्य खाना, खाजा आदि गुणस्तर नभएको तथा रातको समयमा ठोका हान्ने, बच्चा रुने गरी आफूहरूलाई तर्साउने गरेको बताएका थिए । उक्त आइसोलेसनमा बस्नु हुने १३ जना महिलाहरूले १४ दिन हुँदा पनि पिसिआर रिपोर्ट नआएकोलगायतका माथि उल्लेखित समस्याबाट पीडित भएको हुँदा आफूहरूले घरमा जान पाउनु पर्ने, मर्न परेपछि आफ्ना बच्चासँगै मर्छौ भन्ने मुख्र्र्याईपूर्ण अभिव्यक्ति समेत व्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारीले समेत आफ्नो गुनासो नसुनेको भन्दै चर्किरहने महिलाहरूमा सुन्दरबजार नगरपालिका– ६ की विष्णु थापा, दूधपोखरी गाउँपालिका– १ की पासु गुरुङ, सुन्दरबजार नगरपालिकाको सिउँडीबारकी विष्णु भुजेल गुरुङ लगायत हुनुुहन्थ्यो ।
ती महिलाहरूको होहल्ला चलिरहेको केही बेरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा उनीहरूको गुनासो सुन्न आफै आइसोलेसन कक्षमा पुग्नु भयो । प्रजिअ शर्मासँग महिलाहरूले पिसिआर रिपोर्ट नआएकोले अब घर जान पाउनु पर्ने, बरु आफ्ना बच्चासँगै मर्छौं, रातको समयमा पनि ढोकामा ढक ढक हान्ने र बच्चा रुने गरेको हुँदा सुत्न नसकेको बताएका थिए ।
पोखरामा पठाएको पिसिआर रिपोर्ट तीन ठाउँमा जाँच हुने र यो स्थानको पिसिआर जाँचका लागि पठाएको स्थानका प्राविधिकहरूनै दुई जनालाई संक्रमण भएको हुँदा पिसिआर जाँचको काम प्रभावित भएको र आज विहानबाट मात्र जाँच शुरु भएको छ, हामीहरूले फलोअप गरिरहेका छौं, आज वा भोलिसम्म रिपोर्ट आउँछ प्रजिअ शर्माले भन्नुभयो । उहाँले थप भन्नुभयो, ‘तपाईहरू आफ्नो बच्चाको साथमा त्यति सजिलोसँग मर्न पाउनु हुन्न बच्चाको बाच्न पाउने अधिकार खोस्न सक्नु हुन्न । तपाईहरूलाई यो स्थानभन्दा अन्यत्र जान मन छ भने काठमाडौं, पोखरा, नारायणगढ जहाँ जानु हुन्छ रिफर गरेर पठाउँछौं तर एम्बुलेन्स भाडा तपाई आफैले तिर्नु पर्छ तर घरमा जान पाउनु हुन्न । ऐन पढ्नुहोस् तपाईहरू यहाँबाट अनुमति विना जानु भयो र तपाईहरूका कारणले समुदायमा कोरोना फैलियो भने कानुन अनुसार थप कारवाही गर्न आफू बाध्य हुन्छु ।’ दशैं हाम्रो लागि पनि आएको छ तर हामी पनि तपाईहरुका लागि भनेर यहाँ बसिरहेका छौं प्रजिअ शर्माले भन्नुभयो । त्यसपछि महिलाहरू केही शान्त भएका थिए ।
No comments:
Post a Comment