अन्तरङ्ग संवाददाता
बेसीशहर– लमजुङको बेसीशहर नगरपालिका– ७ हाइस्कूल चोक स्थित मानव सेवा आश्रममा आश्रितहरूलाई सामुहिक टीका लगाउँदै बिजयादशमी मनाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको उपस्थितिमा मानव सेवा आश्रममा एक कार्यक्रमका बीच कार्तिक १० गते बिजयदशमीको टीका लगाइएको हो ।
विभिन्न कारणले सडक जीवन विताउँदै आएकाहरूलाई आश्रमले सहारा दिई आएको छ । उनीहरूले वडादशैंको विजयादशमीमा एकआपसमा टीका र जमरा लगाएर खुसी साटासाट गरेका आश्रमकी संयोजक अनिता अधिकारीले बताउनु भयो । उहाँका अनुसार आश्रममा रहेका लक्ष्मी तथा नारायण तथा बालगोपालहरूले एक आपसमा टीका र जमरा ग्रहण गर्दै आर्शिवाद दिने र लिने गरेका छन् । अधिकारीलिे भन्नुभयो, ‘प्रजिअ र प्रनाउले आश्रमका आश्रितहरूलाई पालैपालो टीका, जमरा लगाई दिनुका साथै आर्शीवाद दिनुभएको थियो । साथै आश्रमका जेष्ठ व्यक्तिले अन्य व्यक्तिलाई टिका लगाईदिएका थिए ।’
दशैं पर्व सबै नेपालीको रहेको र आश्रममा रहेकाले पनि दशैं मनाउनु पाउनुपर्ने भएकाले उनीहरूसंग दशैं मनाएको प्रजिअ शर्माले बताउनुभयो । उहाँले सबैमा शुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको थियो ।
आश्रममा आश्रितहरूले आश्रममै टिका लगाउन पाउँदा खुसी लागेको बताएका छन् । प्रजिअ, प्रनाउको बीचमा रहेर टिका लगाउन पाउँदा उनीहरुको अनुहारमा रौनक छाएको आश्रमकी संयोजक अधिकारीले जनाकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन समेत गर्नु भएकी संयोजक अधिकारीले मानव सेवा आश्रममा हाल २३ जना आश्रितहरू रहेको र तीमध्ये बालिका ४, पुरुष ७ जना र महिला १२ जना रहेको बताउनु भयो ।

No comments:
Post a Comment