कोरोनाका कारण थप एकको मृत्यु, संक्रमित संख्या ४७४ पुग्यो - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, October 13, 2020

कोरोनाका कारण थप एकको मृत्यु, संक्रमित संख्या ४७४ पुग्यो

विष्णुकुमार श्रेष्ठ, व्यूरोप्रमुख, अन्तरङ्ग

लमजुङ– कोरोना भाइरस (कोभिड– १९) संक्रमणबाट यस जिल्लाका एक जनाको मृत्यु भएको छ । बेसीशहर नगरपालिका– २ लमजुङका ५६ बर्षीय पुरुषको कोरोना संक्रमणबाट पोखरामा असोज २७  गते निधन भएको हो । 

पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड– १९ उपचार केन्द्रको आइसियुमा उपचार गराइरहेका उनको निधन भएको उक्त अस्पतालबाट जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

अस्पतालका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यद्वारा हस्ताक्षर गरी जारी बिज्ञप्तिमा साँझ ४.२३ बजे उनको निधन भएको उल्लेख छ । विज्ञप्तिका अनुसार उनलाई असोज १८ गते आइसियूमा भर्ना गरिएको थियो । उनमा मुटु रोग, मधुमेह लगायतको रोग समेत रहेको अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

यसअघि लमजुङको मध्यनेपाल नगरपालिका– ७ रामबजारका एक जनाको पनि पनि केही साता अघि पोखरामै उपचारको क्रममा  कोरोनाको कारण मृत्यु भएको थियो । यस प्रकार लमजुङमा कोरोनाको संक्रमणका कारण दुई जनाको निधन हुन गएको छ ।                                                 

यसैबीच, लमजुङमा आजै २९ जनामा कोरोना संक्रमण (कोभिड– १९) को पुष्टि भएको छ । लमजुङको दोर्दीखोलामा निर्माणाधिन दोर्दीखोला जलविद्युत आयोजनामा कार्यरत २४ जना पुरुष र ३ जना महिला गरी २७ जनामा संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज थप भएका संक्रमितसंगै लमजुङमा कोरोना संक्रमितको संख्या ४ सय ७४ पुगेको छ । दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत् आयोजनाका कामदार र कर्मचारी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार संक्रमित हुनेमा २४ पुरुष र तीन महिला छन् । 

आयोजनामा कार्यरत एक कामदार १० दिनअघि आएकोमा एकजना बिरामी भएपछि काठमाडौं गएर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङको आधारमा आयोजनामा कार्यरत कर्मचारी र कामदारको कोरोना जाँच गरिएको हो ।

उक्त आयोजनाको प्रवद्र्धक लिबर्टी इनर्जी कम्पनी लि.ले निर्माण गरिरहेको आयोजनाका कर्मचारी र पावरहाउसमा कार्यरत कामदार गरी ३० जनाको स्वाब परीक्षणका लागि स्वाव पठाइएको थियो । तीमध्ये तीन जनाको रिपोर्ट आउन बाँकी छ । 

त्यस्तै, होम क्वारेन्टिनमा बसेका सुन्दरबजार नगरपालिका– ७ का ३९ वर्षीय पुरुष र मध्यनेपालका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्लामा कोरोना संक्रमितको संख्या चार सय ७४ पुगेको छ । तीमध्ये महिला एक सय १४ र पुरुष तीन सय ६० छन् । महिला ८६ र पुरुष दुई सय ९६ गरी तीन सय ८२ जना कोरोनालाई जितेर घर फर्किएका छन् । ९२ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । तीमध्ये महिला २८ जना छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ ।  

No comments:

Post a Comment