ब्राण्डेड कात्रो - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 18, 2020

ब्राण्डेड कात्रो

बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएर, खप्पर फोरेर, मस्तिष्क र मन जोडेर सबै सोचिल्याउँदा आजकाल कात्रोहरू  पनि ब्राण्डेड हुने रहेछन् । कात्रो पनि ब्राण्डेड हुन्छ भन्ने तपाईलाई लाग्ला तर मेरो निजी शास्त्रले कात्रोलाई विभिन्न तहमा बर्गीकरण गरेको छु । 

जीवन भर तपाई कसैको पार्टीमा गएर केही लछार पाटो नलगाए पनि आजकाल मरेपछि ती मानिसलाई कात्रो ओढाउन पछि नपर्ने राजनीतिक दलका कार्यकर्ता, नेतागण ज्यान दिएर लागि पर्दछन् । हुन त कात्रोको लागि तीन हात बित्ताको टुक्राको आवश्यकता पर्ला तर जीवन भर अर्धनग्न भएर जीउने परिश्रमी ती कर्मठ मानिसलाई एक टुक्रा चिनी मल नहुँदा पहल नगर्ने नेतागण उन्को मृत्यु पश्चात लुखुुर लुखुर पार्टीको झण्डा बोकेर लाश माथि ओढाउन पुग्छन् । यही हो पार्टीगत कात्रोको कमाल । न त्यो झण्डाले त्यो मर्नेको पिडा देख्यो, न त्यो मर्ने मानिसले त्यो झण्डाले न्यानो पन बाँचुन्जेल पायो । अझ झण्डा ओडाउँदा मुड्की बटारेर, औला निधारसम्म लगेर लाल सलाम र जय नेपालको नारा लगाएर जनताका सपनाका कसाहीहरू  मृतकका योगदानको चर्चा गर्ने गर्दछन् । 

अस्ति एक जना मृतकको आफन्तसँग म आफैं थिएँ । उन्का साना छोराले यसो भन्दै थिए– यो झण्डाको कट्टु बन्ने थियो मलाई तर न मलाई कट्टु भयो न मेरो बाबाले यो लगाएको देख्न पाउनु भयो । यस्तो कात्रोको ब्राण्ड चाहीँ पार्टीगत कात्रो हो है ।

तपाईको गाउँघरमा कोही मरे भने उसलाई हेर्ने नजर फरक पर्न थाल्यो । बिदेशमा कोही नेपाली म¥यो भने त्यहाँ कुनै झण्डा ओढाइन्न तर तपाईको गाउँघरमा कोही मर्नासाथ यसरी झुत्त्तिन्छन् कि भनि साध्य हुन्न । अस्ति एक जना पत्रकारको देहान्त भएको थियो, त्यहाँ उनलाई झण्डा ओढाउन थरिथरिका मानिस आए । पहिले ती आमैलाई एक सहकारीले झण्डा ओडाएर भन्यो– उहाँ हाम्रो सहकारीको सक्रिय सदस्य हुनुहुन्थ्यो, उहाँको मृत्युले अपूरणीय क्षति भएको छ । यति नसक्दै उहाँलाई झण्डा ओढाउन एक दर्जन अरु सहकारी पंक्तिबद्ध भएको देखिएको थियो । 

एक छिनपछि सरकारी विद्यालयको एक टोली आयो र भन्यो– उहाँ हाम्रो विद्यालय व्यवस्थापन समितिको महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो । उनीहरूले विद्यालयको झण्डा ओढाएर गए । अलिक केही बेरमा जिल्लाको अर्को नाम चलेको बोर्डिङका सञ्चालक समितिका मानिसहरू आए अनि बोर्डिङको झण्डा त्यही विद्यालयको झण्डा माथि ओढाए अनि भने– उहाँको नेतृत्वकलाले हामीलाई यो विद्यालयको समुन्नत अवस्थासम्म आईपुग्न अथक योगदान रहेको छ । 

अनि फेरी केही आमा समुहका मानिस आए अनि भने– हाम्रो आमा समुहकी सक्रिय सदस्यको श्रीमान भनेर आमासमुहको तर्फबाट माला ओढाइयो, अर्को टोलबाट बाबा समुहका मानिसहरू आए अनि माला ओढाए । यसरी जो जो आयो, आफू अनुकुलको ब्याख्या गरेर मृतकसँगको सामिप्यता देखाएर गोहीका आँशु चुहाउन पछि परेनन् । 

अनौठो कुरा त के रह्यो भने उन्को मृत्यु पश्चात एक पार्टीका महान् नेताहरू आउनुभयो अनि उहाँहरूले पार्टीको झण्डा ओढाउनु भयो । अनि मलामी घाट तर्फ अगाडि बढ्यो । ती पत्रकारको मलामीमा शंखनादसँगै पार्टीको यौटा पनि गीत बज्यो जस्ले शंखनादको आवाज फिक्का भएको थियो । यसरी जब घाटको चितामा जब उनको लाश राखियो, त्योसँगै उनले प्रकाशन गरेको पत्रिकालाई निकै माथि राख्दा एक जना नेताले उन्को पार्टीको अर्को झण्डा फेरी त्यो पत्रिका माथिको तहमा ओढाए । 

यसरी एक पत्रकार मरे तर उन्को परिचयले मलाई अलमल बनायो । आखिर पार्टीको झण्डा या पत्रकारिता कुन ठूलो थियो ? म अलमल परिरहे तर उन्को शरिर जलेर धुँवा भै सकेको थियो । म झस· भएँ । आखिर मर्ने मानिस त धुँवामा परिणत भै सक्यो । म किन उस्को बारेमा सोचेर बसुँ ? हैट ¤ तपाई पनि आफ्नो मृत्युपछि को को झण्डा ओढाउन आउँछन् भनेर सोचेर पो बस्नु भएको ? ल ल सोच्दै गर्नुस ल ¤ आजलाई यत्ति ।                                                                                    तारेमाम् !





No comments:

Post a Comment