खोज खवर – ३२४- बुद्धिसागर बराल
नेपालका ऐन कानून र नियमहरूको पुर्खा वा स्रोत भनेको हिन्दु विधि शास्त्र हो भने हिन्दु विधि शास्त्रको पुर्खा पनि वेद लगायतका सनातन रुपमा इसापुर्व चार हजार वर्ष अगाडिदेखि चली आएका धर्म शास्त्रहरू हुन । यी धर्म शास्त्रहरूले इ.पु. चार हजार वर्ष अगाडिदेखि एक हजार वर्षको समयमा आएर मितक्षडा र दयाभाग नाम गरेका दुई भाग कानूनको रुप लिएका थिए । मितक्षडा विज्ञानेश्वबाट तयार भएको थियो भने दयाभाग जिमुदवानले तयार गरेका थिए । मितक्षडामा महिलालाई बढी हक र अधिकार प्रदान गरी बढी उदार बनाइएको थियो भने दया भागमा सम्पत्तिको उत्तराधिकार छोरामा सर्दैजाने व्यवस्था गरिएको थियो ।
यसैलाई पछ्याउँदै हालसम्म पनि पुर्ख्यौली सम्पत्तिमा अंश र अंशबण्डा सम्बन्धि व्यवस्था भएको पाइन्छ । नेपाली कानूनी शब्द कोशमा अंश भन्नाले भाग हिस्सा वा भाग लाग्ने हिस्सा भन्ने बुझिन्छ भनिएको छ भने अंशियार भन्नाले हिस्सादार वा अंशको हकदार र अंश बण्डा भन्नाले अंशियारहरू बीच सम्पत्तिको भाग लगाउने काम भन्ने उल्लेख छ । त्यसैगरी, हाल नेपालमा प्रचलनमा रहेको मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १० को अंश बण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंश बण्डा गर्ने प्रयोजनका लागि यस परिच्छेदको अन्य दफाको अधिनमा रहि पति पत्नी बाबुआमा, छोराछोरी अंशियार मानिने छन भनि उल्लेख भएको छ । यसैगरी, यसको दफा २०६ मा प्रत्येक अंशियार समान हकदार हुनेछन । अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशु लाइ समेत समान अशियार मानि निजको अंश भाग छुट्याएर मात्र अंश बण्डा गर्नु पर्ने र गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याएको अंश अन्य अंशियारले बराबरी पाउने छन भनिएको छ । यसरी मानिस जन्मदेखि नै अंशियार हुने र उसले अंश पाउने हक आजन्म रहने देखिन्छ । तर एक पटक बण्डा भै सकेपछि वा अंश बुझिलिइ सके पछि पुनः अंश पाउँ भनेर उजुर वाजुर वा नालिस गर्न पाउने व्यवस्था भने छैन । त्यसैगरी लोग्ने नै भिन्न भै सकेकोमा स्वास्नीले अंश दावी गर्न पाउदैन । अर्कोतिर अर्कोलाई लोग्ने भनी अंश मुद्धा दिइ मिलापत्र गरेकोमा पनि अंशियार कायम हुदैन । पेटबोलीमा बुझिएको मानिस पनि अंशियार हुन सक्ने व्यवस्था छ । अंश हक जन्मसिद्ध अधिकार हुने हुदा अरुले हक छाडदैमा पनि आफ्नो हक जादैन । यदि वादीले अंश नलिइ सकेको अवस्थामा आफ्नो पतिको अंश जिम्मालिने व्यक्ति मरि सके पनि मुद्धा सकार गर्ने प्रतिवादीहरूसगँ आफ्नो पतिको अंश पाउने व्यवस्था छ । त्यसैगरी कुनै जिवित छोरालाई नदेखाइ बाबु र अन्य छोराले मानो छुटाउछन र अंश गर्दछन भने त्यस्तो जिउँदो छोरालाई त्यस्तो मानो छुट्टिएको एवं अंश बण्डाको लिखतमा नदेखिएको नाताबाट उसको अंशको हक नजाने ब्यबस्था छ । बाबुको नामको सम्पत्तिमा अन्यथा प्रमाणित नभए सम्म सबै छोराहरूको हक लाग्ने तथा सगोलको अंशबण्डा लाग्ने सम्पत्तिमा कुनै एक को मात्र नभइ सबै अंशियारको समान हक लाग्ने व्यवस्था पनि छ ।
अंश भनेको अंशियार भएको नाताले स्वतः प्राप्त हुने अधिकार हो । यस हक र अधिकारलाई कुनै पनि सर्त र बन्देजले निष्कृय वा संकुचित गर्न सक्दैन । मिलापत्रको आधारमा पनि अंशको हकबाट कोही कसैबाट बञ्चित गर्न नसक्ने भन्ने जस्ता सम्मानित सर्बोच्च अदालतबाट विभिन्न समयमा नजिरहरू जारी भइ अंश सम्बन्धि हकको सुरक्षा गरेको पाइन्छ ।
यसैगरी बाबुले पनि छोरासँग र श्रीमानले पनि श्रीमतीसँग पनि अंश माग गर्न पाउने वा सगोलमा रहेका जो सुकैको नाममा सम्पत्ति रहे पनि निजको निजी भएको प्रमाणित गर्न सक्ने ठोस सवुद प्रमाण रहे भएको नदेखिएसम्म त्यो सगोलकै सम्पत्ति मान्नु पर्ने तथा कुनै एक अंशियारको नाममा दर्ता रहेको जग्गा व्यवहार चलाउनको लागि विक्रि गरेकोमा कुनै अंशियारले नालिस उजुर गरेको छैन भन्ने मात्र आधारले त्यस्तो जग्गालाइ अंश छुट्टिइ बिक्रि गरेको भन्ने प्रमाणित हुन नसक्ने, अंश बण्डा गर्दा अंश पाउने जति सबैको बराबर गर्नु पर्ने र कुनै पनि अंशियारको नाममा दर्ता रहेको रहेको जग्गा निजको मृत्यु पछि अन्यथा प्रमाणित नभए सम्म सबै अंशियारको हक लाग्ने भन्ने जस्ता सर्बोच्च अदालतका निर्णयले अंशको हकलाई अझै सुनिश्चित गरेको छ ।
माथि उल्लेखित ऐनको दफा २०७ मा बिबाह हुन नसक्ने बिबाह भएको नमानिने वा बिबाह सम्बन्ध अन्त्य भएका दम्पत्तिबाट जन्मेका छोराछोरीले जन्माउने बाबु आमाबाट अंश पाउने दफा २०८ मा बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउने तथा प्रकाश नगरी बाहिर राखेका पत्नी वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरे पछि अंशमा दावी गर्न नपाउने, दफा २०९मा सगोलमा बसेका दाजुभाइका छोरा छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउने अंश नहुदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी वा छोरा छोरीले पाउने तथा कुनै ब्यक्तिका एक भन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउने व्यवस्था छ । त्यसै गरी दफा २१०मा छुट्टि भिन्न भै सकेपछिका पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट मात्र अंश पाउने व्यवस्था छ । यदि दायित्व बहन गर्नु पर्ने व्यक्तिले दायित्व बहन नगरेमा, जुनसुकै अंशियारले अंशको माग दावी गरेमा ‚जुनसुकै समयमा पनि अंशबण्डा गरिदिनु पर्ने व्यवस्था छ । अनी दफा २१४मा विधवाले पनि जुनसुकै अवस्थामा वा आफुले चाहेको अवस्थामा अंश लिइ अलग हुन सक्ने तर अर्को बिबाह गरेमा निजले अंश बापत पाएको सम्पत्ति त्यस्ति विधवाको अघिल्लो पति तर्फका छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैले खान लिन पाउने व्यवस्था छ ।
अंश र अंशको हक तथा बण्डाको बिषयमा सुरु देखि हाल सम्म निरन्तररुपमा कानूनी व्यवस्था हुँदै व्यवस्थित हुदै आए पनि ऐन कानूनको अज्ञानता हुनाले तथा कानून नै आधुनिक राज्य सञ्चालनको अनिवार्य तत्व हो । कानूनले नै राज्यको शासकीय स्वरुप निर्धारण गर्दछ । कानूनले नै व्यक्ति र समाजको परिवर्तन, सभ्यता, बिकास, संरक्षण र औजारको रुपमा काम गर्दछ तथा कानून नै समाजको प्रतिविम्म हो भन्ने कुराको ज्ञान नहुदा हाल पनि हाम्रो समाजमा बढी भन्दा बढी यसैसँग सम्बन्धित बिबादहरू हुन गई झैझगडा, काटमार, मनमुटाव, अशान्ती तथा मुद्धा मामिला बढी रहेका छन । त्यसैले मानव जीवनलाइ सुख र शान्तसँग राख्न तथा निर्वाह गर्नका लागि आवश्यक पर्ने सम्पत्तिको प्रमुख स्रोत नै पुख्र्याैली अंश र अंश बण्डाको हक तथा अधिकार भएकोले सबैले कम्तिमा पनि आफु र आफु सगँ सम्बन्धित यस्ता कानुनको ज्ञान राख्नै पर्दछ की ? अस्तु ... ¤
No comments:
Post a Comment