२८ पढाई शिविरबाट ५ सय ७२ बालबालिका लाभान्वित, जिल्लामा पहिलो पटक राष्ट्रिय प्रारम्भिक कक्षा पढाई सञ्चालन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Wednesday, September 23, 2020

२८ पढाई शिविरबाट ५ सय ७२ बालबालिका लाभान्वित, जिल्लामा पहिलो पटक राष्ट्रिय प्रारम्भिक कक्षा पढाई सञ्चालन

कुमारी तामाङ

लमजुङ । लमजुङमा सञ्चालन गरिएका २८ पढाई शिविरबाट ५ सय ७२ बालबालिका लाभान्वित भएका छन् । ती कक्षा ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) को शिक्षा परियोजना अन्तरगत सञ्चालन गरिएको हो । जिल्लामा पहिलो पटक राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालन भएको हो । 

परियोजना अन्तर्गत लमजुङका विभिन्न विद्यालयमा २८ वटा पढाई शिविर सञ्चालन थरिएको छ । कक्षा- ३ सम्म अध्ययन गरिआएका बालबालिकाहरू हप्ताको एक दिन शनिबार पढाई शिविरमा सहभागी हुन्छन् । उनीहरु ३ बर्षदेखि ९ बर्षसम्मका हुनुपर्ने प्रावधान रहेको आरसीडीसीले जनाएको छ । परियोजना अन्तर्गत जिल्लाका १० विद्यालय अन्र्तगत २८ वटा पढाई शिविरमा कुल पाँच सय ७२ बालबालिका लाभान्वित भएको शिक्षा परियोजना संयोजक प्रमोद घिमिरेले बताउनु भयो । उहाँका अनुसार सुन्दरबजार नगरपालिकाका चार विद्यालयमा १२ वटा पढाई शिविर छन् । बेसीसहरमा नगरपालिकामा पनि चार वटै विद्यालयमा १० वटा पढाई शिविर, दोर्दी गाउँपालिकामा एक विद्यालयमा ४ वटा पढाई शिविर छन् । क्व्होलासोंथर गाउँपालिकामा एक विद्यालय अन्तर्गत २ वटा पढाई शिविर सञ्चालनमा छन् ।

पाँच सय ३० जना पढाई शिविरको अभिभावकहरुले पढाई शिविरको नियमित अनुगमन र पृष्ठपोषण गरेको शिक्षा परियोजना तालिम संयोजक रेणुका ठकुरीले बताउनु भयो । उहाँका अनुसार पढाई शिविरमा विद्यार्थीले उपयोग गर्ने शैक्षिक सामग्री तालिम मार्फत अभिभावकलाई नै तयार गर्न लगाइएको हुँदा विद्यार्थीको पढाईप्रति अभिभावकको लगाव बढ्न गएको छ । अन्यथा, सामुदायिक विद्यालयमा पठाइने बालबालिकाप्रति अभिभावकको ध्यान जाने गरेको थिएन । उहाँले भन्नुभयो, ‘पढाई शिविरपछि समुदायका नागरिक अर्थात अभिभावकका व्यवहारमा समेत परिवर्तन आएको छ ।’ पढाई शिविरमा आवद्ध भएका बालबालिकाहरु अनुशासित हुने, निरन्तर विद्यालय जाने र पढाईमा प्रगति गर्न थालेको अनुभव गरेको अभिभावकले समेत बताएका छन् ।  

बेसीशहर- १ का सुनिता श्रेष्ठले आफ्नो कक्षा- २ मा पढ्ने बाबुले पढाई शिविरमा जान थालेपछि पढाईमा ध्यान दिने पहिलेको तुलनामा झगडा कम गर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘जिल्लामा पहिलो पटक राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालन भएको हो ।’

शिक्षा परियोजना अन्तर्गत भएका कामबाट कक्षाहरू छापामय भएका छन् । सन् २०१८ मा छापामय कक्षाहरू ३० प्रतिशत रहेकोमा सन् २०२० मा आउँदा ६५ प्रतिशत पुगेको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहोराले बताउनु भयो । उहाँका अनुसार भौतिक पूर्वाधार पूरा गर्ने पढाई शिविर सन् २०१८ मा ५९ प्रतिशत रहेकोमा २०२० मा ८९ प्रतिशत पुगेको छ । त्यस्तै समावेशी मूलक वास फ्यासिलिटिस् सन् २०१९ मा १० प्रतिशतबाट सन् २०२० मा ६० दशमलव ५ प्रतिशत पुगेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘२८ वटा पढाई शिविरमा ५ सय भन्दा बढी प्रकारका फरक शिर्षकका पुस्तकहरु, शैक्षिक सामाग्री वितरण र प्रयोग भएको छ ।’ यस्तै विद्यालयमा सरसफाई सम्बन्धी सचेतना ७५ प्रतिशतले अभिबृद्धि भएको संस्थाले जनाएको छ । 

पढाई शिविरहरू वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सञ्चालन गरिएको आरसिडिसीका निर्देशक प्रेम भट्टराईले बताउनु भयो । उहाँका अनुसार एक विद्यालय भवन नयाँ निर्माण गरी हस्तान्तरण गरिएको छ । परियोजना अन्तर्गत नेपाल सरकारले राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गतका किताबहररू प्रयोगमा ल्याइएको छ ।

No comments:

Post a Comment