हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र बचाउने चुनौति - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Tuesday, September 22, 2020

हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र बचाउने चुनौति

अन्तरङ्ग संवाददाता

लमजुङ । कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न विषम परिस्थितिले गर्दा हिमाल पारीको जिल्ला मनाङमा चालु शैक्षिक सत्र बचाउने चुनौति सिर्जिएको छ । गत फागुन १ गतेबाट शैक्षिक सत्र शुरु हुने र मंसिर महिनामा वार्षिक परीक्षा हुने हुँदा मनाङमा यो वर्ष अहिलेसम्म पनि पढाई शुरु हुन नसकेका कारण शैक्षिक सत्र बचाउने चुनौति थपिएको हो ।

पढाई सञ्चालन हुन नसक्दा विद्यार्थी र अभिभावक मात्र हैन शिक्षा विकास तथा समन्वय इकाई मनाङका कर्मचारीमा समेत अन्यौलता छाएको छ । गत चैत ११ देखि लकडाउनका कारण सबै क्षेत्र बन्द भई विद्यालयको पढाई ठप्प भएपछि हिमाली जिल्लाको शैक्षिक सत्र नै अन्यौलमा परेको हो । नेपालका मनाङ मात्र नभई अन्य हिमाली जिल्लाहरू मुस्ताङ, हुम्ला, मुगु र डोल्पाको शैक्षिक सत्र पनि झण्डै सकिए जस्तै हुन गएको छ । सरकारले हालै मात्र हिमाली जिल्लाहरूको शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक माध्यमको प्रयोगबाट कक्षा सञ्चालनको तयारी गरेको जनाएको भए पनि त्यसको प्रष्ट निर्देशन आइतबारसम्म प्राप्त नभएको शिक्षा तथा समन्वय इकाई मनाङका प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार प्रायः हरेक वर्षको अभ्यास मंसिरमा परीक्षा हुने र फागुन १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुने गरेको हो । उनले भने, ‘यो वर्षको नयाँ भर्ना र विद्यार्थीका लागि पाठ्य पुस्तक वितरणको कार्य प्रायः सकिएको छ तर कोभिड- १९ को प्रकोपका कारणले गर्दा पढाई सञ्चालन हुन सकेको छैन ।’ शिक्षकहरूमा नै कोरोना संक्रमण देखिएपछि पढाई सञ्चालन गर्ने कार्य पालिकाहरूले पनि आँट्न नसकेको उनको भनाई छ । 

फागुन महिनामा पढाएपछि विद्यालय बन्द हुँदाको अवस्थामा हिमाली जिल्लाले के गर्ने भन्नेमा अन्यौलता छाएको मनाङका सदरमुकाम चामे स्थित लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाले बताए । उनका अनुसार कक्षा- ११ र १२ को समेत पढाई के कसरी सञ्चालन गर्ने भन्ने यकिन हुन सकेको छैन ।

मनाङ जिल्लामा चालु शैक्षिक सत्रका लागि बाल शिक्षादेखि १० कक्षासम्म कुल ७ सय जना विद्यार्थीहरू भर्ना भएको शिक्षा विकास तथा समन्वय इकाई मनाङले जनाएकोे छ । चामेको लोकप्रिय मावि र नासोँ गाउँपालिकाको थोंचे स्थित प्रकाशज्योती माविमा मात्रै कक्षा ११ र १२ को पढाई हुने शिक्षा तथा समन्वय इकाईका प्रमुख रेग्मीले बताए । उनका अनुसार मनाङका विद्यालयमा शिक्षकहरु आएपनि विद्यार्थीहरु सम्पर्कमा आएका छैनन् किनकी मनाङमा जिल्ला बाहीरका विद्यार्थीहरू बढी पढ्ने गर्दछन् । उनले भने, ‘मनाङ जिल्लामा चालु शैक्षिक सत्रलाई खेर जान नदिनका लागि स्थानीय तह, सरोकारवाला र सम्बन्धित विद्यालयसँग आवश्यक समन्वय गरिरहेका छौं तर निकास निस्केको अवस्था छैन ।’ 

मनाङमा चार वटा स्थानीय तह रहेको भए पनि कक्षा- ११ र १२ पढाई दुई पालिकाको एक एक मावि मात्र हुने गरेको शिक्षा समन्वय इकाई मनाङका प्रमुख नारायण रेग्मीले बताउँछन् । उनका अनुसार जिल्लामा कक्षा- १ देखि १० सम्म सञ्चालन भएका २ विद्यालय, कक्षा- १ देखि ८ सम्मका १२ विद्यालय, कक्षा- १ देखि ५ सम्मका ११ विद्यालय र कक्षा- १ देखि ३ सम्मका एक विद्यालय गरी कुल २६ विद्यालय सञ्चालनमा छन् । सदरमुकाम चामे गाउँपालिकाले बैशाखदेखि शैक्षिक सत्र शुरु गरेको छ भने अन्य पालिकाले पूर्ववत रुपमा फागुनलाई नै शैक्षिक सत्र मानेको अवस्था छ रेग्मीले बताए । ‘सरकारले मुलुकका ५ वटा हिमाली जिल्लाका लागि फागुन १ गतेबाट शैक्षिक सत्र शुरु हुने र मंसिरमा परीक्षा हुने व्यवस्था गरेको छ ।’ उनले भने ‘अबका बाँकी दिनमा शैक्षिक सत्रलाई के कसरी कभर गर्ने भन्ने दबाब सिर्जिएको छ ।’

फोटो- शिक्षा तथा समन्वय इकाई मनाङ ।

No comments:

Post a Comment