पशुसेवाको नोकरी अनुभव उपयोग गर्दै निबृत्तकालमा १० लाख खर्चेर सामुहिक भैंसी पालन - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Sunday, September 13, 2020

पशुसेवाको नोकरी अनुभव उपयोग गर्दै निबृत्तकालमा १० लाख खर्चेर सामुहिक भैंसी पालन

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङको राइनास नगरपालिका– १ देखि ८ सम्मको क्षेत्र कृषि र पशुपालनका लागि निकै उर्वर मानिन्छ । सोही नगरपालिका– १ को साइलीटार निवासी ३६ वर्षको पशुसेवाको अनुभव हासिल गरेका खिला शर्मा घिमिरेको नेतृत्वमा सामुहिक भैंसी पालन व्यवसाय शुरु गरिएको छ । 

नाप्रासबाट पशुसेवा कार्यालयमा नोकरी शुरु गरेका घिमिरेले पशु चिकित्सक पदबाट ३६ वर्ष सेवा अवधि पुरा गरी उनी गत वर्षको माघ महिनामा मात्रै निवृत्त भएका हुन् । उनको योजनामा अन्य ३० जना गाउँले मिसिएर भैंसी पालन व्यवसाय थालेका छन् । घिमिरेका अनुसार साविक भलायखर्क गाविस– ९ को मसार भन्ने पाखोबारीको पाँच सय रोपनी क्षेत्रफलको जग्गा पछिल्लो १०– १२ वर्षदेखि बाँझो परेको थियो । शुरुका दिनमा २५ जना मोही रहेको सो जग्गा यतिबेला भने अंशियार बढेर ४० जना पुगेको अनुमान छ । ऐले ३० जनाले भैंसी पालनको काम थालेका छौं उनले भने । 

घिमिरे भन्छन् मैले जागिर छाड्नासाथ जस्तो लकडाउन शुरु भयो र यसले पनि लामो समय लियो । हामी धेरै बेरोजगार भयौं । केही गर्नु प¥यो भन्ने सोचले लमजुङमा दूधको बजारको केही समस्या भएको हुँदा हामीले थारा भैंसी ल्याएर पाल्ने र व्याउने बनाएर वा व्याएपछि बिक्री गर्ने सोचमा यो काम थालेका हौं । उनले भने ‘यस कार्यको दिगो पनका लागि ‘दिगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी’को स्थापना गरेर यो काम गरेका हौं । उक्त सहकारीको अध्यक्षसमेत खिला शर्मा घिमिरे आफै रहेका छन् । भैंसीका लागि तत्काल ७ लाख ९२ हजार रुपैयाँ खर्चेर बीरजञ्जबाट २० वटा भैंसी र प्रजननका लागि एउटा राँगा ल्याएको उनले बताए । 

अहिले भैंसीगोठ निर्माण भइरहेको सहकारीका सचिव बलराम घिमिरेले जानकारी दिए । उनका अनुसार एकजनाले तत्कालका लागि प्रतिव्यक्ति ३७ हजार रुपैयाँ संकलन गरिएको छ । उनले भने, ‘अब दशैंसम्म थप १० वटा भैंसी ल्याउने योजना छ र आउँदो चेतसम्ममा थप ३० वटा थप्छौं । १८– २० वटा भैंसी विक्री गर्दा पनि सहकारीमा ३० वटा नघटाउने योजना छ ।’ उनका अनुसार प्रति थारो भैँसीको मूल्य ३५ देखि ४० हजार रुपैयाँसम्म पर्छ । बाली गएको भैँसी झण्डै एक लाख र दुहुना भैँसी डेढ लाख रुपैयाँसम्म बिक्री हुने हुन्छ । 

सुरुवातका चरणमा २० वटा थारा भैँसी र प्रजननका लागि एउटा राँगा पालिएको सहकारीका अध्यक्ष खिला शर्मा घिमिरेले बताए । उनले भने, ‘कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने भएकाले सामूहिक रुपमा भैँसी पालन व्यवसाय शुरु गरिएको हो ।’ उनी भन्छन्,  ‘थारा भैँसी फर्ममा ल्याएर पाल्छौँ । बाली गएको भैँसीका साथै दुहुना भैँसी फर्मबाटै सजिलै बिक्री हुन्छ । राम्रो आम्दानी हुन्छ ।’ 

सामूहिक भैँसी पालनको रेखदेखमा समूहमा आबद्ध सदस्यहरू पालैपालो पाँच जनाका दरले खटिने गरेका छौं अध्यक्ष खिला शर्माले भने । उनका अनुसार ऐले काम नभएको बेलामा पाँच जना खटिए पछि भोलि सहज स्थिति भएपछि तनि जनाले व्यवस्थापन गर्न सक्छौं । उनले भने, ‘भैंसीका लागि २० मिटर लम्बाई र १० मिटर चौडाईको एक पोखरी निर्माण गरिएको छ ।’ भैंसी पालनका लागि तीन सय रोपनीमा घाँस लगाइएको उनको भनाई छ । 

अब सहकारीमार्फत सो क्षेत्रमा केरा खेती, मौरी पालनका साथमा ३ रोपनीमा माछा पालनसमेत गर्ने योजना रहेको खिला शर्माले जानकारी दिए । 

राइनास नगरपालिका– १ को बजार क्षेत्र रहेको बोराङ खेलादोभान बाट १० मिनेटको पैदल दुरीमा उक्त सामुहिक भैंसी गोठ रहेको छ । मसारमा पाल्न थालिएको उक्त सामुहिक भैंसी गोठ बोराङ खोला– बिचौर सडकको छेउमा पर्दछ । फर्मसम्म वडा कार्यालय र नगरपालिकाले डेढ लाख रुपैयाँ खर्चेर कच्ची सकड निर्माण गरिदिएको सहकारीका पदाधिकारीले बताएका छन् ।


No comments:

Post a Comment