अन्तरङ्ग संवाददाता
लमजुङ । लमजुङमा एक वडामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका- ९ को भोटेओडार क्षेत्रमा आइतबार ती संक्रमित फेला परेका हुन् । आजै १० जनाले कोरोना जितेर घर फर्किएका छन् । यीसँगै डिस्चार्ज हुनेको संख्या एक सय ४९ पुगेको छ ।
नयाँ संक्रमण पुष्टि भएका २१ जना पुरुष र २ जना महिला हुन् । संक्रमित मध्ये १६ जना नेपाली सेनाका भएको सुन्दरबजार नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमेश्वर पियाले बताए । उनका अनुसार यसअघि सोही स्थानमा नेपाली सेनाका २२ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार पुष्टि भएका संक्रमित एक जना क्वारेन्टाइनमा बसेका व्यक्ति र अन्य सबै कन्ट्याक्ट टे्रेसिङका भएको पियाले बताए । उनका अनुसार सुन्दरबजार नगरपालिका- ७ को एक जना र ५ का दुई जना पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ ।
उनीहरूसँगै बेसीशहर नगरपालिका- २ का ५२ वर्षीय एक महिलामा पनि संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार ती महिलाको चितवन मेडिकल कलेजमा कोरोना पुष्टि भएको र सोही अस्पतालमा उपचाररत रहेकी छन् । अन्यको क्षयरोग उपचार केन्द्र पोखरामा उनीहरूको स्वाव परीक्षण गरिएको थियो । संक्रमितहरू १६ जना सबै नेपाली सेनामा कार्यरत रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार योसँगै जिल्लामा कोरोनाका कुल संक्रमित तीन सय १२ पुगेको छ ।
आजै १० जनाले कोरोना जितेर घर फर्किएका छन् । उनीहरू तीन जना महिला र सात जना पुरुष हुन् । आज कोरोना जित्नेमा सहजी बाट एक जना, जिल्ला सामुदायिक अस्पतालबाट तीन जना, लमजुङ कृषि क्याम्पसबाट तीन जना र नमूना सामुदायिक अस्पतालबाट चार जना पुरुष रहेका छन् ।
यसैगरी, जिल्लामा जित्नेको कुल संख्या एक सय ३९ पुगेको छ । शनिबार पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङ, २४ दिनको शिशुसहित १८ जना निको भएसँगै जिल्लामा कोरोना जित्नेको संख्या एक सय ४९ पुगेको हो ।
निको हुनेमा पत्रकार महिला खुशीमाया गुरुङ पनि छन् । उनीसहित जिल्ला सामुदायिक अस्पतालबाट ७ जना र शहरी विकास भवन सहजीबाट ११ जना निको भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार १४ जना पुरुष र चार जना महिलाले कोरोना जित्न सफल भएका छन् । कोरोना जित्नेमा सबैभन्दा बढी ५१ वर्ष उमेरकी बेसीशहर नगरपालिका- ७ की महिला हुनुहुन्छ । यसैगरी, कोरोना जित्नेका जिल्लामा कार्यरत ३ जना पुरुष र एक महिला भएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्लामा कोरोना जितेर निको हुनेमा १४ जना महिला र एक सय २५ जना पुरुष छन् भने आइसोलेसनमा ४८ जना महिला र एक सय २५ जना पुरुषहरु गरी एक सय ७३ जना रहनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार जिल्लामा कुल संक्रमित संख्या तीन सय दुई पुगेको छ ।
संक्रमितहरूलाई बेसीशहर नगरपालिका- ७ को सहजी स्थित शहरी विकास कार्यालयको भवनमा, जिल्ला सामुदायिक अस्पतालमा, सुन्दरबजार नगरपालिका- ७ स्थित लमजुङ क्याम्पसमा र सुन्दरजार- ६ को नमूना सामुदायिक अस्पतालमा निर्मित आइसोलेसनमा राखिएको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment