पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि
पोखरेलले अबको २ वर्षका लागि वैकल्पिक शिक्षा पद्धतिको तयारीमा शिक्षा मन्त्रालय
लागिरहेको बताएका छन् । कोभिड-१९ नियन्त्रण हुन कम्तीमा २ वर्षा लाग्ने विश्व
स्वास्थ्य सङ्गठनका महानिर्देशकको भनाइलाई आधार मानेर सरकार निर्देशिकाको तयारीमा
लागेको मन्त्री पोखरेलले बताए ।
प्रविधिमैत्री शिक्षक समाज, सङ्खुवासभाले आयोजना गरेको शिक्षामा
सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री
पोखरेलले वैकल्पिक पद्धतिमा जानका लागि स्थानीय तहका पदाधिकारी, प्रदेशका सामाजिक विकास मन्त्री, शिक्षासँग सम्बन्धित व्यक्तिहरु र
प्रधानमन्त्रीसँग समेत छलफल भएको भनाइ राखे । कोरोना समुदायमा गएको भनेर आधिकारिक
रुपमा नभनिए पनि समुदायमा गइसकेको भन्दै उनले यस अवस्थामा प्रत्यक्ष रुपमा
विद्यालय खोल्न सकिने अवस्था नरहेको धारणा दोहोर्याए ।
मन्त्री पोखरेलले अमेरिकामा १ लाख
विद्यार्थी कोरोनाबाट प्रभावित बनेको उदाहरण दिँदै नेपालमा त्यो अवस्था आए धान्न
नसकिने बताए । हाम्रा विद्यालयहरु सङ्क्रमणको केन्द्र नबनोस् भनेर वैकल्पिक पद्धतिमा
ध्यान केन्द्रित गरिएको उनको भनाइ थियो । हाल सञ्चालित वैकल्पिक पद्धति सुरु भए
पनि प्रभावकारी नभएको भन्दै उनले केही समयका लागि शैक्षिक क्रियाकलाप पूरै
वैकल्पिक पद्धितमा निर्भर रहने जनाए । पाठ्यपुस्तकसँगै शैक्षिक सामग्री वितरण, रेडियो-टेलिभिजनबाट
सिकाइ, अनलाइनमाध्यमको प्रयोग गर्नुपर्नेमा जोड
दिँनै पोखरेलले भने,"यिनले पनि समेट्न नसक्ने अस्थामा घरलाई
नै शिक्षालय बनाऊँ, अभिभावकलाई साथ लिऊँ, घरमा सिकेको कुरालाई पनि मूल्याङ्कनको आधार
बनाऊँ र विद्यालय र विद्यार्थीसँग प्रत्यक्ष रुपमा शिक्षक जोडिऊँ ।"
उनले शैक्षिक सत्र खेर जान नदिन पाठ्यक्रम
विकास केन्द्रको सहयोगमा नयाँ ढङ्गले अघि बढ्ने तयारी भएको पनि जानकारी दिए । "पाठ्यक्रमलाई नयाँ ढङ्गले समायोजन गरेर
सिकाइ सुनिश्चित गर्ने कामका लागि धमाधम काम भइरहेको छ" पोखरेलले भने । संसद् स्थगित भएका कारण
शिक्षा ऐनका मस्यौदाहरु थन्किएका बताउँदै शिक्षकहरुका कतिपय माग सम्बोधनका लागि
शिक्षा मन्त्रालयले मात्रै निर्णय गरेर नहुने
बताए । शिक्षक गुणस्तरीय नभई शिक्षा गुणस्तरीय नहुने उनको धारणा थियो ।
प्रशिस सङ्खुवासभाका अध्यक्ष सन्तोष
विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय
अध्यक्ष भूपति बस्यालले वैकल्पिक सिकाइको कुरा गरिए पनि प्रविधियुक्त साधनहरुको
अभाव भएकाले त्यसको व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।
यस्तै, नेपाल शिक्षक महामङ्घ,
सङ्खुवासभाका अध्यक्ष शेरबहादुर पुरीले शिक्षकहरुको मागका सम्बन्धमा शिक्षा मन्त्रालय
सकारात्मक हुनुपर्ने बताएका थिए ।कार्यक्रमको
सञ्चालन सचिव सन्तोष श्रेष्ठले गरेका थिए ।
समाजले १२ दिनसम्म प्रविधिसम्बन्धी
तालिम सञ्चालन गरेको थियो ।
लमजुङकै जेठो पत्रिका अन्तरङ्ग द्वैमासिक, पाक्षिक हुँदै हाल साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको छ । २०४९ साउन २३ गते जिल्ला प्रशासन कार्यालय, लमजुङमा दर्ता भई प्रकाशन सुरु भएको याे पत्रिका मूलत: साहित्य र समाचारसँग सम्बन्धित छ । यसलाई हामीले साहित्य प्रधान पत्रिका पनि भन्ने गरेका छौँ । कला साहित्य र संस्कृतिका माध्यमबाट समाजमा सुशासन कायम गर्न सकिने विश्वाससहित अघि बढेको यस पत्रिकाले लमजुङबाट सयौँ पत्रकार तथा साहित्यकार जन्माइसकेको छ । पत्रिकालाई ई पेपरमा पनि उपलब्ध गराउने र साहित्य र समाचारलाई अनलाइनबाट पनि पाठकसमक्ष पुर्याउने उद्देश्यले प्रारम्भिक चरणमा यो ब्लग सुरु गरिएको छ । आशा छ, पत्रिकालाई जस्तै यसलाई पनि यहाँहरुको पूर्ण साथ रहने छ ।
No comments:
Post a Comment