चामे– हिमाली पारीको जिल्ला मनाङमा पनि समुदायमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पहिलो पटक भदौ ३० गते एक जना स्थानीय महिलामा कोरोना पुष्टि भएको हो ।
मनाङको नासों गाउँपालिका– २ की २३ बर्षीया महिलामा कोरोना पुष्टि भएको मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीले बताउनु भयो । उहाँका अनुसार कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरी भदौ २६ गते पोखरा पठाइएकोमा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । उहाँले भन्नुभयो, ‘‘संक्रमित महिलालाई नासों गाउँपालिकाले धारापानीमा निर्माण गरेको आइसोलेसनमा राखिएको छ ।’
ती महिला एकसाता अघि बेसीशहरबाट मनाङ आउनुभएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीनाथ आचार्यले बताउनु भयो । उहाँका अनुसार बेसीशहर गएर फर्केपछि उहाँलाई स्थानीयले कोरोना जाँच गर्न सुझाव दिएका थिए । सोही सुझावलाई ध्यानमा राख्दै ती महिलाको स्वाब संकलन गरिएको थियो ।
संक्रमित महिलासंग सम्पर्कमा रहेका व्यक्तिहरूको केही दिनमा स्वाब संकलन गरिने मनाङ प्रशासनले जनाएको छ । मनाङमा कोरेना संक्रमित हुने मध्ये ती महिला पहिलो स्थानीय जिल्लाबासी हुन् ।
यसअघि ६ जना पुरुषमा संक्रमण देखिएकोमा सबै बाहिरी जिल्लाका थिए । तीमध्ये ५ जना पुरुष निको भएर घर फर्किसकेका छन् । हाल आइसोलेसमा २ जना रहेकोमा १ जना पुरुष र नयाँ संक्रमित महिला रहेका छन् ।
No comments:
Post a Comment