के. वि. मसाल
रातो सारी पहिरिएर सुख– दुःखका भाकाका गीत गाउँदै नाच्ने पर्वका रुपमा तीजलाई लिइन्छ । महिलाहरु आफ्ना साथीसँगी सित नाचगान गर्दै सुख–दुःख साटासाट गर्दा महिलाले वर्ष दिनभर भोगेको आफ्नो संघर्ष, व्यथा हलु·ो भएको महसुस गर्छन् । तर यो वर्ष भने कोरोना भाइरसले तीज र तीजका गीतमा प्रभाव पारिरहेको छ । त्यसो त केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरुप पूरै हराउने अवस्था देखिएको छ ।
तीज पर्व मुख्यतः तीन दिनसम्म विशेष महत्वका साथ मनाउने गरिन्छ । भाद्र शुक्ल द्वितीयाको दिनलाई दर खाने दिन भनिन्छ । त्यसको भोलिपल्ट तीजको दिन सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । यस दिनमा महिलाहरू निराहार व्रत बस्ने, दिनभरी नाचगान गर्ने र शिवको पूजा आराधना गर्ने गर्दछन् । यस दिन विवाहित तथा अविवाहित दुवैथरी महिलाहरू व्रत बस्ने गर्दछन् । त्यस दिन गरिने व्रतमा परिवेश अनुशार विभिन्नता पाइन्छ । कसैले पानी पनि नखाई साँझमा फलफूल र दुध खाने गर्दछन् भने कसैले भोलिपल्ट विहान व्रत समाप्त भएपछि मात्र खाना खाने गर्दछन् । तीजको अर्को महत्वपूर्ण दिन ऋषि पञ्चमी हो । यस दिन महिलाहरू बिहान सबेरै उठी नदी, तलाउ, पँधेरो आदिमा गएर नुहाउने गर्दछन् । यसदिन दत्तिवन चपाउने चलन पनि छ । ऋषि पञ्चमीका दिन ३६५ वटा दत्तिवनका टुक्राहरू चपाइन्छ ।
तीज पर्व नेपाली महिलाहरूको महान पर्व बनेको छ । यो पर्व नेपाली महिलाहरूको पहिचानको पर्व पनि हो । सामाजिक सांस्कृतिक लगायतका विभिन्न विविधताले भरिएको तीज संस्कृति पर्व हो । महिलाहरूले मात्र मनाउने यो पर्वको आफ्नै विशेषता छ । यो पर्व विगतमा विशेष गरी हिन्दु महिलाहरूले मनाउने गर्दथे । वर्ष दिनमा माइती घर जानको लागि यहि पर्व कुरी बस्ने गर्दर्थे । उनीहरूले यहि पर्वमा नयाँ कपडा पनि लगाउन पाउदथे । र यहि पर्वको अवसर पारेर घर र माइतीमा सहन परेको विभेद खोतल्दथे । यो पर्वको शिर भनेको नै गीत हो । यहि गीतको माध्यमबाट सामाजिक असामनताको चिरफार गर्देथे । धार्मीक दृष्टिकोण अनुसार तीज भनेको नारीहरूको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पुजा गर्ने ऐतिहासिक पर्व हो ।
धार्मिक परम्पराअनुसार हिमालय पर्बत की छोरी पार्वतीको सानै उमेरदेखि महादेवसंग गहिरो प्रेम थियो । हिमालय पर्वतले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जंगल गइन र महादेवको तपस्या गरिन । यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्वतले स्विकार गर्नु प¥यो । यहि ऐतिहासिक कथाको आधारमा तीज मान्ने गरिन्छ । हम्रोे परम्परामा बिहे भएर पराईघर गएपछि चेलीहरूलाई गरेका व्यवहार, भोग्नु परेका दुःख, नन्द, अमाजु, देवर र सासुको बुहार्तन साथै जन्म दिएर आफ्नोे काखमा हुर्केकी छोरीलाई पराईको साथमा पठाउने बा आमासंग दिदीबहिनीहरू जम्मा भएर माईतीको आगनमा आफ्नो मनका पिडाहरू गीत मार्फत व्यक्त गर्ने चाड हो तीज ।
हाम्रो सांस्कृतिक मान्यताहरू समाजलाई समय अनुसार रुपान्तरण गर्दै अगाडि बढ्नु पर्दछ । यसलाई हामीहरूले समाजमा यसलाई संस्कृतिको रुपमा बचाउदै लैजान सक्नु पर्दछ । पर्वलाई विक्रिति तिर लैजानु हुँदैन । शुरुका दिनमा नारी संघर्षको प्रतिमुर्तिका रुपमा मानिदै आएको यो पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्वलाई बिर्सेर कथित सौभाग्यको रुपमा महंगा कपडा र गहनाहरू लगाएर प्रतिस्पर्धात्मक किसिमले भड्कीलो रुपमा मनाउन थालिएको छ । यसले हाम्रोे समाजका मध्यमवर्गीय परिवारमा सिधै असर पर्ने गरेको छ । यसले एकातिर महिलाको आत्मधिकारको सवालसंग जोडिएको यस पर्वलाई सामाजिक विक्रितीको रुपमा विकास गर्दै लगेमा भोलिका दिनमा यो पर्वले ठूलो समस्या नपर्ला भन्न सकिन्न ।
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नारी संघर्षको प्रतिक हो । यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र तिनीहरूको मौलिकतालाई लोप हुन दिनु हुँदैन । यस पर्वमा हुर्कदै गरेको भड्कीलोपनलाई आजैबाट रोकेर यसको महत्वलाई अफै उचो पार्दै लान सक्नु पर्दछ । तर अहिले महिलाको महान पर्वको रुपमा रहेको तीजको ऐतिहासिक महत्व हराउँदै जान थालेको छ । पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका बेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्व अहिले आधुनिक गित र संगीतमा रमाउन थालेका छन । तीज पर्व आउनुभन्दा दुई महिना अघिदेखि नै तीजका भाकाका गीत घन्कनु र दरखाने परम्परामा मासाहरी खाना खानुले तीजको मर्मको उपहास गरिएको छ ।
महिलाले भोगेका पीडा, दुःख, बेदना पोख्ने माध्यमको रुपमा तीजको महिमा रहेको थियो । महिलाले घाँस, दाउरा गर्दाका पीडादेखि लिएर सासुले बुहारीमाथि र जेठानीले देउरानीमाथि हुने गरेको थिचोमिचोका घटनाहरू तीजका गीतहरू बनाइन्थे । तर आजभोलि राजधानिका गल्ली होस या अरु कुनै पनि शहर बजार अनि गाउँ घर तिर जानुहोस तीज शुरु हुनु भन्दा अगाडि देखिनै तडक भडक शुरु हुन्छ । पश्चिमेली संगीतमा छाडा संस्कृतिका तीजका गीत सुन्न पाईन्छ । पहिले जस्तो तीजका गीतमा आम समाजका घटेका घटना तथा महिलाका आफ्नै व्यथा अनि भगवानलाई पुकारेर उनकै बारेमा तीज गीत बनाएर गाउने प्रचलन हराउन थालेको छ । तीजलाई आज भोलि माया पिरतिका उरन्ठाउला गीत बनाएर आफ्नो संस्कृतिलाई विक्रिति बनाउन खोजिएको छ । चली आएको परम्परालाई आधुनिक शैलीमा मनाउनु त कुनै नौलो होइन तर संस्कृतिमै दाग लाग्ने गरी परिवर्तन गर्नु राम्रो होइन । यसले हाम्रो समाजलाई कस्तो बनाउला ? समयमानै सोच्न जरुरी छ ।
विगतका केहि बर्ष यता आएर बढ्दो शहरीकरण चेतना र आम्दानीसँगै फुर्सदिला महिलाहरूको भड्किलो पहिरन, खानपान तथा नाचगानका दृश्य महिनैभरि देखिंदैछ । आर्थिक रुपले पछाडि परेका महिला वर्गलाई हिनता, खिन्नता र लोभ बढाइदिने अवसरका रुपमा तीज मनाइरहेका त छैनौं ? एक पटक सोच्ने गरौं ¤ भड्कीलो शैलीमा तीज मनाउनेले यतातिर सोच्ने बेला आएको छ । जसको कारण सामाजिक, सांस्कृतिक, शास्त्रीय पक्ष भने हराएर जान थालेको छ । अहिलेको तीज भनेको पूर्ण शरीरमा रातो वस्त्र, पहेंला–सुनका गहना, हरियो पोते, रंगीविरंगी अन्य साधन किन्ने लगाउने र दर खाने–खुवाउने नाममा होडबाजी चल्न थालेको छ । घर–घरमा वा पार्टी प्यालेसमा वा होटलमा जमघट र खचिर्लो भोज आयोजनामा तीज पर्वको रुपमा हाम्रा महिला वर्ग रमाउन थालेका छन् । दर खान जादा आफूसँग नभए पनि अरुका गहना मागेर लगाउने, गहना नभएकाले तीजको भेटघाटमा जानै नचाहने स्थिति पैदा भएको छ । तीजकै लागि भनेर ऋण सापटी खोजेर पनि खचिर्लो र भड्किलो तरिकाले मनाउने, यसको सामाजिक सद्भाव र सांस्कृतिक रसलाई उपेक्षा गरेर उत्ताउला गीत र नाच आयोजना गर्नेक्रम बढेको छ । अर्कोतिर समाजको बहुसंख्यक समूह गरीबीमा बाचिरहेका छन र बहुसंख्यक महिलाहरू आर्थिक कारणबाट यो पर्वलाई मनाउन कठिन हुन थालेको छ ।
पार्वतीले शिवजी नै पतिका रुपपमा पाउ भनी प्रार्थना गरेर ब्रत बसेको अनुकरण गर्नु भनेको ‘पोइल जान पाम, पोई चाइयो ...’ ‘लास्टै चोटी... हो’ जस्ता गीत गाएर तीजमा उफ्रिनु पर्छ भनेको होइन । नाच्नु–गाउनु आफैंमा संस्कृति र सभ्यताको प्रतिविम्ब हो र मनस्थिति उत्साही बनाउनु जीवनको आवश्यकता हो । तर आफूसँग भएको साधन लुकाएर, आफूसँग छैन भने खोज्न हिंडेर, तीज मनाइएन भने अरुले के भन्लान भन्ने लोकाचारका नाममा अनावश्यक संकोच, शर्म र हिनताबोध मान्नु आफैमा राम्रो होइन । मानवीय दर्शनको मान्यता छ, हरेक मानिसमा अध्यात्मवादी पनि हुन्छ । किनकि उसँग बुद्धिका साथै विवेक पनि छ । धर्मको सार्थकता भनेको मानिसको मनस्थितिलाई सकारात्मक, र सिर्जनशील बनाउँदै एउटा शिष्ट र सामाजिक अनुशासनयुक्त जीवन दिनुमा छ । धर्मको देनमै आउछन चाडपर्वहरू जसका आधारमा मौलिक संस्कृति विकसित हुन्छ । यिनीहरूको सही अर्थ लगाउदा चाडपर्वले उतप्रेरणार सिर्जनशीलता बढाउछन् । गलत अर्थ लगाएर अमल गर्दा मानिस धर्मपीडित हुनसक्छ । तीजको सन्दर्भमा पनि दिदीबहिनीहरूलाई यति भन्न सकिन्छ, हाम्रो परमपरा र संस्कृतिलाई बचाउन तीजलाई भड्कीलो र खर्चिलो बनाउन हुन्न ।
आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रुपमा तीज पर्वको गहन महत्व रहेको छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिता सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्रतकथा सन्ने र बाह्मणहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको ब्रत अन्य ब्रत भन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । दरमा खीर, ढकनी(चाम्रे) वा सेलरोटी खाने गरिन्छ । तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । दोस्रो दिन तिथि अनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको ब्रत बसिन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुना हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो ।
तीज पर्वको लागि आवश्यक सर–सामान किनमेल गर्दा सबैलाई ऋण बोकाएको छ । साहुको ऋण तिर्न युवा, युवतीहरू तीज पर्व सकिना साथ फेरि बिदेश फर्किन पर्ने अवस्था छ । तीज पर्वलाई तडकभडक साथ मनाउनु भन्दा पनि यसको महत्वको बारेमा हामीलाई थाहा हुन जरुरी छ । हाम्रो परम्परा र संस्कृतिलाई बचाउनु पर्दछ । यसलाई पर्वको रुपमा मनाउँदा आफ्नो आर्थिक अवस्थालाई ख्याल गर्न सकेनौं भने यसले हामीलाई ऋणमा डुवाउँछ । अहिले धेरै घरपरिवारमा त्यस्तै समस्या खडा भएको छ । चाडपर्वको बेला गरेको खर्चको ऋण तिर्न विदेशिनु परेको छ । पाक्न थालेको धान, मकै र घरमा भएका बस्तुहरू सस्तो मूल्यमा बिक्री गर्नु परेको छ ।
अर्कोतर्फ जब महत्वपूर्ण चाडपर्व आउँछ तब बजारमा क्रितृम मूल्य बृद्धि शुरु हुन्छ । खाद्यान्न, लत्ता कपडाजस्ता तीजमा बढी खपत हुने वस्तुको मूल्य छोइनसक्ने हुन्छ । मनोमानी ढंगले बजार मूल्य बढ्दा, बजारमा अराजकता र अनुशासनहीनता बढ्दै जाँदा सरकार र स्थानीय प्रशासन मूकदर्शक भएर बसिरहेको हुन्छ । सरकार मातहतमा विभिन्न अनुगमन र नियमनकारी निकाय प्रभावी बनेका हुदैनन् । बेलाबखत बजार अनुगमन गरेको प्रचारबाजी गर्छन् तर जतिबेला बजारको गम्भीरता पूर्वक र नियमित अनुगमन गर्नुपर्ने हुन्छ त्यस बेला मौन बसेका देखिन्छन् । यसले गर्दा तीज जस्तो पर्वमा सर्वसाधारण मानिसहरू मूल्यको मारमा पर्दछन् ।
आधुनिक समाजमा तीजको महत्वलाई जुन रुपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरु आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै ब्रत वसी नाचगान र मनोरञ्जन गर्दा आफ्नो स्वास्थ्यलाई समेत ख्याल राख्न जरुरी छ । तीजको ब्रतबस्दा कतिपय महिलाहरू बिरामी हुने र समयमा उपचार पाउन नसक्दा समस्या पैदा हुने पनि गर्दछ । त्यसैले भोको पेट बस्न नहुने महिलाहरूले यो ब्रत लिनुभन्दा पहिल्य आफ्नो स्वास्थ्यको बारेमा ख्याल राखौ ¤ महान तीज पर्व मनाऔं ¤ तीज पर्वको उपलक्ष्यमा यहि मेरो शुभकामना छ ।
(लेखक– स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)

No comments:
Post a Comment