अन्तरङ्ग संवाददाता
आँबुखैरेनी- तनहूँको आँबुखैरेनी गाउँपालिका-४ खस्राङमा रक्सीका कारण घर झगडा हुने गरेको र त्यसकै कारण ४१ वर्षीय राजकुमार गुरुङलाई उनकै छोरा २१ वर्षीय वीरमानले कर्तव्य गरी मारेर गाडेको अभियोग लागेको छ । बाबुको सतगत गरेको ३ दिनपछि प्रहरी उनको घरमा पुगेर बाबुको हत्या गरी चिहानमा शव गाडेको आरोपमा प्रहरीले वीरमानलाई पक्राउ गरी चिहात उत्खनन् गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।
वीरमान गुरुङले भदौ ३१ गते बाबुको मृत्यु भएको भन्दै गाउँलेलाई खबर गरेपछि गाउँलेले परम्परागत अनुसार उनको सदगत गरेका थिए । गुरुङ संस्कारअनुसार बाबुको सतगत गरेपछि घरमै बसिरहेका वीरमानलाई प्रहरीले तीन दिन पछि पक्राउन गरेको हो । वीरमानले बाबुको हत्या गरी गाउँलेलाई मृत्यु भएको भन्दै खबर गरेको सूचनाकै आधारमा प्रहरीले चिहानबाट शव उत्खनन् गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा वादविवाद हुँदा वीरमानले बाबुको हत्या गरेको खुलेको छ ।
प्रहरीले यसअघि पनि उनीहरुको घरमा झगडा भइरहने पत्ता लगाएको छ । बाबुले मदिरा सेवन गरी घरमा झगडा गर्न थालेपछि वीरमानकी आमा पनि दुई हप्तादेखि माइत थिइन् । ‘घरमा झगडा भइरहने रहेछ । त्यो दिन पनि वादविवादकै क्रममा वीरमानले बाबुको हत्या गरी शव परम्पराअनुसार चिहानमा गाडेछन्,’ तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले भन्नुभयो, ‘उनको अहिले अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएका छौं ।’ पूर्व नियोजित नभए पनि मदिरा सेवन गर्ने र घर झगडा भइरहने गरेका कारण यो घटना घटेको प्रहरीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टमसमेत भइसकेको छ । शरिरमा कुनै चोटपटक नदेखिएका कारणसमेत उनले बाबुको हत्या गरेको घटना लुकाउन खोजेको अनुसन्धानले देखाएको प्रहरी भनाई छ । वीरमान विरुद्ध अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment