भोर्लेटार(लमजुङ)– मध्यनेपाल नगरपालिका– ७ नं. वडा कार्यालयको भवनको करापुटारमा निर्माण थालिएको छ । नगरपालिका मेयर रमेशकुमार पाण्डेले उक्त भवनको सिलान्याश गर्नु भएको हो ।
भवनको सिलान्यश गर्दै मेयर पाण्डेले मध्यनेपालले वडा कार्यालय भवन नभएका र भाडामा बस्दै आएका वडाहरूका लागि भवन निर्माण गर्ने कार्यको थालनी गरेको बताउनुभयो । उहाँले भवन अभावमा कर्मचारी र सेवाग्राहीलाई समस्या नहोस् भनेर आफ्नो भवन भएका वडाहरूमा भवन निर्माण कार्य थालिएको बताउनुभयो ।
उहाँले चालु आर्थिक बर्षमै वडा नम्बर– ६ को भार्लेटारमा र वडानं ९ को बांग्रेमा कार्यालय भवन निर्माण गरिने जानकारी दिनुभयो । १० वटा वडा रहेको मध्यनेपाल नगरपालिकाका अन्य वडामा भने आफ्नै भवन रहेका छन् । उक्त भवन ८ आना जग्गामा निर्माण हुन लागेको हो ।
सोही क्रममा करापुटारमा वडानं ७ मा साविक इशानेश्वर गाविसको भवन रहेको ठाउँमा नयाँ भवन निर्माण शुरु गरिएको वडाध्यक्ष गगन घिमिरेले बताउनुभयो । उहाले भन्नुभयो, भवन गत बर्ष निर्माण गर्नुपर्ने भएपनि कोरोना संक्रमणका कारण भएको लकडाउनले यस बर्ष मात्र निर्माण थालिएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकार र मध्यनेपाल नगरपालिकाले ३६÷३६ लाख गत बर्ष विनियोजन गरेको थियो । सोही बजेटबाट भवन निर्माण थालिएको हो ।
हाल वडा कार्यालय भाडामा बस्दै आएको छ । आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहज हुने वडाध्यक्ष घिमिरेले बताउनु भयो ।
उक्त भवन सिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्का, कार्यपालिका सदस्य लक्ष्मी सुनार, महिला सदस्य विष्णुकुमारी अधिकारी, सदस्य धनसुब्बा गुरुङ लगायतको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment