आरसीडीसी र कोपाडेसेमार्फत सञ्चालित कार्यक्रम प्रभावकारी - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 18, 2020

आरसीडीसी र कोपाडेसेमार्फत सञ्चालित कार्यक्रम प्रभावकारी

बेसीशहर– ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र जनचेतना अभिबृद्धि र विकास अध्ययन समिति(कोपाडेस)सँगको साझेदारीमा वल्र्ड भिजन इन्टरनेशनल नेपालले लमजुङ जिल्लामा सञ्चालन गरेका कार्यक्रमहरू प्रभावकारी पाइएको छ । जिल्ला परियोजना सल्लाहकार

 समितिको भर्चुअल बैठकले भदौ ३० गते त्यस्तो निष्कर्ष निकालिएको हो । 

जिल्लामा सञ्चालन गरिएका बालबालिका, शिक्षा, विपद्, युवाको क्षेत्रका कार्य प्रभावकारी रहेको र ती कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरोकारवालाले सुझाव दिएका छन् । बैठकमा युवा विकास परियोजना, बाल स्पोन्सरसीप परियोजना, वाल संरक्षण, शिक्षा र नेपाल विपद् जोखिम न्यूनिकरण परियोजनाहरू अन्तर्गतका कार्यक्रमको अवस्था र उपलब्धीको बारेमा समिक्षा गरिएको थियो ।

कार्यक्रमको शुरुमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल मध्य फिल्ड कार्यालय काठमाडौंका शिक्षा विशेषज्ञ विश्वनाथ घिमिरेले २०७६ असोजदेखि २०७७ भदौसम्म भएका कार्यक्रम र खर्चको बारेमा जानकारी गराउनुभएको थियो । वल्र्ड भिजनले लमजुङमा आरसीडीसी र कोपाडेस मिलेर कार्यक्रम सञ्चालन गर्दा सो अवधिमा करिव ३ करोड रुपैयाँ खर्च गरेको छ । उहाँका अनुसार लमजुङमा वल्र्ड भिजनले कार्यक्रमका लागि २ करोड ८३ लाख ९३ हजार ४ सय ५६ रुपैयाँ खर्च गरेको छ । कार्यक्रम सञ्चालन गर्नका लागि २ करोड २८ लाख ९३ हजार १४ रुपैयाँ र प्रशासनिक खर्च ५५ लाख ४ सय ४२ गरी कुल २ करोड ८३ लाख ९३ हजार ४ सय ५६ खर्च गरेको बताउनु भयो । 

त्यस्तै, युवा विकास परियोजना कार्यक्रममा ५८ लाख ४२ हजार ८ सय ४० रुपैयाँ र प्रशासनिक खर्च १५ लाख ९ हजार गरी ७३ लाख ६२ हजार ४ सय २७ खर्च गरेको छ । बाल स्पोन्सरसीप परियोजना कार्यक्रममा ५८ लाख ७० हजार ५ सय ४० र प्रशासनिक खर्च १० लाख ८९ हजार २४ रुपैयाँ गरी ६९ लाख ५९ हजार ५ सय ६४ खर्च भएको छ । कभर परियोजनामा कार्यक्रमका लागि ७३ लाख ६२ हजार ३ सय २४ रुपैयाँ ६४ पैसा खर्च गरेको उहाँले जानकारी दिनुभयो।  

यसैगरी, बालबालिका, तिनका परिवार, समाजलाई गरिबी र अन्यायबाट मुक्त गारउन, विकास पैरवी र राहतमार्फत सघाउन वल्र्ड भिजनले विभिन्न कार्यक्रम गरेको छ ।  वल्र्डभिजनले सन् २००१ बाट समाज कल्याण परिषद्बाट स्वीकृति लिएर १३ जिल्लामा काम गरिरहेको छ । संस्थाले गण्डकी प्रदेशमा लमजुङमा मात्रै कार्यक्षेत्र बनाएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले आरसीडीसी, कोपाडेसले वल्र्डभिजनसंग मिलेर गरेका सामुदायिक कार्यले साच्नै नै समाजमा परिवर्तन ल्याएको बताउनुभयो । आर्थिक समस्याका कारण पढ्न नपाएका बालबालिका शिक्षाको पहुँचमा पुगेको, युवाले उद्यम गरेको, विपद् व्यवस्थापनमा स्थानीय तहलाई घचघच्याउने तथा विपद व्यवस्थापनका सामग्री सहित स्वयंसेवकलाई तालिम सहयोगको काम गरेको पाइएको बताउनुभयो । उहाँले कोरोना भाइरस संक्रमणको समयममा समेत सुरक्षा सतर्कता अपनाउँदै, स्वास्थ्य सामग्री, राहत वितरण, बालबालिकालाई रेडियोबाट पढाउने लगायतका कार्य जिल्लामै उत्कृष्ट काम रहेको बताउनुभयो । यी कामलाई निरन्तरता दिई थप प्रभावकारी बनाउन उहाँको अनुरोध थियो । 

कोपाडेसका कार्यकारी निर्देशक डिकेन्द्रराज कँडेलले कोरोना संक्रमणको समयमा असहज परिस्थति हुँदाहुँदै पनि सक्रियताका साथ सामुदायिक विकासमा लाग्न सकेको बताउनुभयो । उहाँले पछिल्ला दिनको दैनिकी फरक भए पनि कठिनाईका बीच उच्च सतर्कता अपनाएर असाहाय, विपन्न नागरिकको सेवामा संस्था लागेको र स्वास्थ्य सामग्री लगायतको सहयोग गरेको जानकारी दिनुभयो । उहाँले युवा विकास परियोजनामार्फत समुदायमा युवालाई उद्यमशीलतातर्फ आकर्षित बनाएको र उनीहरू उद्यममा लागेको बताउनुभयो । 

वल्र्ड भिजन इन्टरनेशनल नेपाल केन्द्रीय फिल्ड कार्यालयका फिल्ड म्यानेजर धु्रब गुर्माचनले वल्र्ड भिजनले २०२१ देखि २०२५ सम्म गर्ने कामको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले बालबालिकालाई शिक्षामा संलग्न बनाउन, युवालाई आत्मनिर्भर बनाउनका लागि काम गर्दै आएको र आगामी कार्यक्रम पनि सोही अनुसार निरन्तरता दिने बताउनुभयो । 

भर्चुअल बैठकमा लमजुङ दोर्दी गाउँपालिका उपाध्यक्ष दीलबहादुर घले, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी, नेपाल पत्रकार महासंघका  जिल्ला अध्यक्ष आश गुरुङ, स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधि, अन्य संघसंस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक, आरसीडीसी, कोपाडेसका कर्मचारीलगायतको सहभागिता थियो । 

उक्त बैठकको सञ्चालन आरसीडीसीका अध्यक्ष राजेन्द्र बोहोराले गर्नुभएको थियो ।

No comments:

Post a Comment