चम्किदै कोरोना : सात दिन निषेधाज्ञा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Friday, September 4, 2020

चम्किदै कोरोना : सात दिन निषेधाज्ञा


अन्तरङ्ग संवाददाता 

बेसीशहर– लमजुङमा पनि कोरोना चम्किन थालेको छ । एकै दिन २३ जनामा कोरोना संक्रमित सार्वजनिक भएसँगै त्यस्तो पुष्टि भएको हो । एक जना बैंक स्टाफ र २० जना नेपाली सेना भएको भदौ १० गते बिहान खुलासा भएको हो । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालयले बेसीशहर नगरपालिकाका ४ वडाका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । 

यो सातामा यसअघि तीन जना प्रहरी र एक जना सैनिक जवानमा देखिएको कोरोना १० गते २३ जनामा देखिएको हो । तीमध्ये २० जना नेपाली सेनामा कार्यरत सुरक्षाकर्मीहरू, एक जना आइएमई बैंकका कर्मचारी र अन्य २ जना  सर्वसाधारण भएको प्रशासनले जनाएको छ ।

सो कार्यालयका अनुसार संक्रमित हुने २० जना नेपाली सेनाका संक्रमितमा २७ वर्षका २ जना, ३१, ३३, ३४, ३६ र ४० वर्षका एक एक जना, ३७ वर्षका ४ जना ३८ वर्षका ६ जना र ३९ वर्षका ३ जना रहेका छन् । ३२ वर्षका बैंक कर्मचारी र २५ तथा ५१ वर्षका समुदायका व्यक्ति हुन् । उनीहरूलाई सुन्दरबजारको नमूना सामुदायिक अस्पताल र बेसीशहरको सहजी आइसोलेसनमा ल्याउने काम हुँदै रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनु भयो । उहाँका अनुसार संक्रमित व्यक्तिहरू सबै कन्ट्रयाक्ट टे«सिङका हुन् ।

यसअघि एक दिन १६ जनाको संक्रमण पुष्टि भएका थिए । जिल्लामा गत असार ८ गतेका दिनदेखि कोरोना पुष्टि हुने क्रम शुरु भएको हो । सो दिन पाँच जनामा संक्रमण देखिएको थियो । असार १८ गते थपिएका १६ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमितको कुल संख्या एक सय ३९ पुगेको छ । तीमध्ये ९ जना महिला हुन् । महिला सहित एक सय ११ जना निको भई घरमा फर्किएका छन् । यतिबेला आइसोलेसनमा रहने संख्या २८ रहेको छ । उनीहरू सबै पुरुष हुन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार पिसिआर रिपोर्ट आउन ५१ जनाको बाँकी रहेको छ । भदौ १० गतेका दिन यो समाचार तयार गर्दै गर्दासम्म जिल्लाबाट पिसिआरका लागि एक हजार आठ सय ५९ जनाको पठाइएको छ । तीमध्ये १३९ जनाको पोजेटिभ र एक हजार छ सय ६९ जनाको नेगेटिभ आएको छ र ५१ जनाको नतिजा आउन बाँकी छ । 

यसैबीच, सदरमुकाम बेसीशहरका चार वडामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १० गतेका दिन दिउँसो ३ बजेदेखि १७ गते साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा जनाइएको छ । 

भदौ १० गते एकै दिन २३ जना कोरोना संक्रमित पुष्टि भएसँगै जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जसमा त्यसै दिन दिउँसो ३ बजेदेखि १७ गते ६ वजेसम्म वेसीशहर नगरपालिकाका वडानं– २, ३, ७ र ८ अर्थात भकुण्डेदेखि रानीकुवा, बेसीशहर बजारको सेरादेखि सहजी, पुवाखोलासम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ । 

लमजुङको कोरोना संक्रमितको कुल संख्या एक सय ३९ पुगेको छ । तीमध्ये आइसोलेसनमा २८ जना रहेका छन् । आइसोलेसनमा रहेका मध्ये २ जना सुन्दरबजारको नमूना सामुदायिक अस्पतालमा र २६ जना बेसीशहरको सहजी स्थित शहरी विकास कार्यालयको भवनमा निर्माण गरिएको आइसोलेसनमा रहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उनीहरू सबैको अवस्था सामान्य छ ।

खुशीको विषय के छ भने आजका मितिसम्म जिल्लामा कोरोनाको संक्रमणका कारण कसैको पनि ज्यान गुमेको छैन ।  

कोरोना संक्रमित १ सय १२ जना मध्य १ सय ९ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । संक्रमितहरूलाई सुन्दरबजारको नमूना सामुदायिक अस्पताल र बेसीशहर सहजीमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ ।

यसैबीच, प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापासहित ३५ जना प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ । ४६ जना प्रहरी सहित ९ जना थुनुवाको पनि स्वाव परिक्षणका लागि पठाइएको थियो । प्रहरीमा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालयबाट सेवाग्राहीलाई दिने सेवा गेटबाटै दिन थालिएको छ । 

No comments:

Post a Comment