लमजुङमा कोरोनाको कहर बीच डेंगुको जोखिम बढ्यो - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 8, 2020

लमजुङमा कोरोनाको कहर बीच डेंगुको जोखिम बढ्यो

बेसीशहर- लमजुङमा थप ३ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ । बेसीशहर नगरपालिकाका स्थायी बासिन्दा उनीहरूको उमेर १७ वर्षदेखि २९ वर्षीय रहेका छन् । 

उच्च ज्वरो आई टाउको दुख्ने भएपछि उपचारका लागि जिल्ला सामुदायिक अस्पतालमा आएका तीनै जनाको परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार संक्रमितहरू बेसीसहर नगरपालिका- ३ का १७ बर्षीया महिला, बेसीसहर नगरपालिका- ९ का २१ बर्षीय पुरुष र बेसीसहर नगरपालिका- ८ का २९ बर्षीय पुरुष रहेका छन् । 

पछिल्लो साताको २ दिनमै ३ जनामा डेंगुको संक्रमण देखिएको बेसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालले जनाएको हो । यसअघि असार ३० गते क्व्होलासोंथर गाउँपालिका- २ मालिङ घर भएर बेसीसहर नगरपालिका- ७ को घलेगाउँचोक टोलमा बस्ने २९ वर्षीया महिलामा डेंगु देखा परेको थियो । उनी भने उपचार पछि डिस्चार्ज भएकी छन् । 

जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार उनीहरू सबैको अस्पतालमा उपचार भइरहेको छ । तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताउनु भयो । उहाँले पछिल्लो समय ३ जनामा डेंगु रोगको संक्रमण देखिएको र उनीहरू सबै लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक बर्ष २०७६/७७ मा मात्रै ५ जनामा डेंगु संक्रमण देखिएको थियो । उहाँले भन्नुभयो, ‘ॅएडिस जातको पोथी लामखुट्टेले दिउँसोको समयमा टोक्दा उसको शरिरमा भएको भाइरस मानव शरिरमा सर्ने हुँदा डेङगु रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन जरुरी छ ।’ लामखुट्टेको टोकाइबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले लामखुट्टेको लार्भा नष्ट गर्ने र पानी जम्ने खाल्डा खुल्डी र पानी जम्ने बोटल कागज, प्लाष्टिक नष्ट गर्नुपर्ने हुन्छ दवाडीले जानकारी दिनुभयो । 

७/७ दिनमा यसको लार्भा उत्पादन हुने भएकाले हरेक सात सात दिनमा पानि जम्ने ठाउँ खोजेर नष्ट गर्ने अभियान संचालन गर्नुपर्ने उहाँको भनाई छ । प्रत्येक घर घरघरबाट टोल टोलबाट लमखुट्टेको बासस्थान खोजेर नष्ट गर्न सकियो भने यो रोगलाई छिटो नियन्त्रण गर्न सकिने उहाँको भनाई छ । 

साउनदेखि कात्तिकसम्म डेंगु संक्रमणको उच्च जोखिम हुने चिकित्सकहरूले बताएका छन् । डेंगु संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन। यो रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र उपाय हो । घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले जानकारी दिनुभयो ।


No comments:

Post a Comment