स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति संगठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिलगायतको सहभागितामा सुझाव संकलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको छ । तयारी सम्पन्न कक्षा एकको पाठ्यक्रम निर्माण भईसकेको र उक्त पुस्तकमा विभिन्न शीर्षकका सात वटा विषयहरूलाई समावेश गरिएको छ ।
हाल कक्षा एकको पाठ्यक्रम निर्माणको काम सम्पन्न भईसकेको जानकारी दिँदै शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईले बताउनु भयो । उहाँका अनुसार यही शैक्षिक सत्रबाट पालिका भित्रका ५० विद्यालयमा अध्यापन शुरु गरिने छ । उहाँले भन्नुभयो, ‘ॅस्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिकाका मेयर, प्रशासकीय अधिकृत सहित शिक्षा शाखाका प्रमुख र दुईजना स्थानीय शिक्षक सहितको पाँच सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण समिति गठन भएको थियो ।’
स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिका शिक्षा शाखा प्रमुख भट्टराईले बताउनुभयो । उहाँका अनुसार पाठ्यक्रममा पालिका भित्रको ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडिबुटी, कृषि, जातिगत विविधता आदिलाई समेटिएको छ ।
चालु वर्षमा कक्षा दुई र ६ को पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट शुरु गरिने नगरपालिकाले जनाएको छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिएको छ । स्थानीय स्रोत साधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवद्र्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिहरूको बारेमा विषयबस्तु समावेश गरिएको नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताउनु भयो । उहाँका अनुसार विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । उहाँले भन्नुभयो, ‘ॅपाठ्यक्रम निर्माणले नगरपालिकालाई समृद्ध पालिका बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

No comments:
Post a Comment