बाँदर, भालु र दुम्सीले मकै सखाव, कृषकहरू भोकमरी पर्ने चिन्तामा - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 22, 2020

बाँदर, भालु र दुम्सीले मकै सखाव, कृषकहरू भोकमरी पर्ने चिन्तामा

अन्तरङ्ग संवाददाता

लमजुङ । लमजुङमा तीन गाउँलेले लगाएको मकै खेती बाँदर, भालु र दुम्सीले सखाव बनाएको छ । कृषकहरु भोकमरी पर्ने भयो भन्दै चिन्तित बनेका छन् । मस्र्याङ्दी गाउँपालिका– ३ को सिउँरुङ र वडानं ४ को कालाघिरिङको डाँडागाउँ र गैरीगाउँमा किसानले लगाएको मकै खेती बाँदर, भालु र दुम्सीले मकै सखाव बनाएको हो । 

दिउँसोको समयमा बाँदर र मृगले, रातको समयमा भालु र दुम्सीले मकै सखाव बनाएको हुँदा कृषकहरूमा भोकमरी पर्ने चिन्ता छाएको छ । सिउरुङ स्थित लताकुञ्ज आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहनु भएका स्थानीय उमरबहादुर गुरुङले आफ्नो एउटा ठूलो गह्रामा वर्षेनी १०– ११ भारी(थुन्से) मकै आउने गरेकोमा यो वर्ष २ थुन्से पनि राम्रोसँग नभरिएको बताउनु भयो । उहाँका अनुसार हवाई फायर गर्न पाउने हो भने भाग्ने थिए यी जातका वन्यजन्तु तर हाम्रो यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने भएको हुँदा बन्दुक चलाउन पाइन्न, खेती लगाउन दुःख ग¥यो, गर्नु मात्रै भयो, मकै बारीमा जाँदा आँशु झर्छ । उहाँले भन्नुभयो, ‘हामी त जागिरे पनि छौं, बेसाएर पनि खाउला तर जस्को घरमा जागिरे व्यक्ति एउटै छैनन्, शुद्ध किसानहरू यही मकै खेतीको भरमा ३– ४ महिना परिवार पाल्थे उनीहरूको त विजोग हुने भएको छ, भोकमरीले सताउने भयो ।’

दुई हलको मेलोमा लगाएको मकै एक हलको एउटै घोगा पनि पाएन, अर्को हलको पनि आधा बढी नोक्सान गरेको छ सिउरुङ गाउँका किसान गणेश गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘एक्यापले बाख्रा, गाई, भैंसी मारेमा राहत दिन्छ, खेतीको दिदैन, किसान त भुतुक्कै मर्ने भयो, राहतका लागि पत्रकारहरुले सरकारलाई भनिदिनु प¥यो ।’ सिउरुङ गाउँमा एक सय २० घरपरिवारको बसोबास छ । त्यस्तै काला घिरिङका दुई गाउँमा ८५ घर परिवार बसोबार गरी आएका छन् । 

सिउरुङमा करिब दुई हजार पाँच सय रोपनीमा मकै खेती लगाउने गरिएको अनुमान छ सोही वडाका सदस्य समेत रहेका स्थानीयबासी सुलाराम गुरुङले बताउनुु भयो । उहाँले भन्नुभयो, ‘खेती नगरेर पनि भएन, खेती लगायो खाने बेलामा यस्तो भयो, राहतको व्यवस्था नभए त गाउँले भोकले मर्ने भयो ।’

मस्र्याङ्दी गाउँपालिका– ४ को कालाघिरिङको डाँडागाउँका डम्बरबहादुर गुरुङले विगतका वर्षमा पाकेको मकै १०– १२ भारी आउने ठाउँमा २– ३ भारी पनि राम्रो भएन यो वर्ष, त्यो पनि कलिलोमै टिपेर ल्याएको बताउनु भयो । कलिलो मकैको के काम हुन्छ त ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘के गर्नु ? गुरुङको जातको त्यही हो नि जाड बनायो, सक्यो ।’ राहतका लागि कतै माग गर्नु भएको छैन ? भन्ने अर्को जिज्ञासामा ‘हामीलाई त्यस्तो त केही थाहा छैन, के कसरी गर्नु पर्ने हो ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो । कालाघिरिङकै गैरी गाउँका मेषबहादुर गुरुङले २ हलको मेलोमा लगाएको मकैको एउटै पनि सग्लो घोगा फोला परेन, भालु, दुम्सी, बाँदर, मृगले खाएर बाँकी रहेको शिलो खोजेर ल्याएको बताउनु हुन्छ । कालाघिरिङ लमजुङको सबैभन्दा विकट गाउँ मानिन्छ । 

यसबारेमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)द्वारा सञ्चालन गरिएको संरक्षण समितिका साथै वडानं ३ का अध्यक्ष समेत रहेका प्रेम बस्नेतसँग सम्पर्क गर्दा २०५२÷५३ सम्म भालुको जात भन्ने देख्न पनि रहर थियो । वन्यजन्तुको संरक्षण गर्नुपर्छ भनेर लाग्यौं, अहिले गाउँलेले खेती खान पाएका छैनन् भन्दै गुनासो पोख्नु हुन्छ । उहाँका अनुसार वन्यजन्तुले घरेलु जनावर मारेको खण्डमा एक्यापले बाख्राको ३ हजार, गाईको ६ हजार र भैंसीको २० हजार रुपैयाँ राहत दिन्छ तर खेतीको ऐलेसम्म व्यवस्था छैन । यो पनि गर्नु पर्ने भएको छ । उहाँले भन्नुभयो, ‘यो वर्ष बढी नोक्सान गरेको खबर आएको छ तर संरक्षण समिति वा वडाबाट केही गर्न सक्ने अवस्था छैन, माथि रिपोर्ट गर्ने हो, प्रयास गर्नु पर्ला के गर्न सकिने हो ।’

त्यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको लमजुङ स्थित इकाई कार्यालयमा सम्पर्क गर्दा खेतीको नोक्सानको राहतका लागि पनि यो वर्षबाट केही गर्न सकिन्छ कि, नोक्सानको स्थिति के रहेछ म बुझ्छु इकाई कार्यालयका प्रमुख राजेशप्रसाद गुप्ताले बताउनु भयो ।

यसैगरी, मस्र्याङ्दी गाउँपालिकामा सम्पर्क गर्दा मलाई त भरखै तपाईले भनेर थाहा भयो, म बुझ्छु पालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनु भयो । 


No comments:

Post a Comment