मनाङमा फेरि दुई कोरोना संक्रमित फेला - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, August 22, 2020

मनाङमा फेरि दुई कोरोना संक्रमित फेला

अन्तरङ्ग संवाददाता
चामे । कोरोना मुक्त भएको हिमाली पारीको जिल्लाको उपमा पाएको मनाङमा फेरि दुई जनामा संक्रमण पुष्टि भएको छ । मनाङमा कार्यरत दुई जना शिक्षकमा कोरोना संक्रमण देखिएको हो । तर पनि भदौ ६ गतेका दिनसम्म स्थानीयमा संक्रमण देखिएको छैन । 
सरकारले सार्वजनिक विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि संक्रमित शिक्षकहरू दुई साता अघि तराईबाट मनाङ पुगेका थिए । उनीहरूमा बिराटनगर महानगरपालिका– ११ मोरङ घर भई ङावल आधारभूत विद्यालयका शिक्षक ५१ बर्षीय पुरुष र भरतपुर नगरपालिका– ११, चितवन घर भई मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङस्थित विद्यालयका शिक्षक ५७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मनाङका निमित्त स्वास्थ्य प्रमुख बद्रिराज आचार्यले बताउनु भयो । उहाँका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई मनाङको सदरमुकाम चामेस्थित आइसोलेशनमा ल्याएर स्वास्थ्यकर्मीको निगरानीमा राखिएको आचार्यले जानकारी दिनुभयो ।
भदौ २ गते पीसीआर विधिबाट परीक्षणका लागि संकलित १८ नमुनामध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा ती दुई शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मनाङमा हालसम्म कूल ८१ जनाको नमूना संकलन गरी पीसीआर गरिएकोमा ३ जनामा संक्रमण देखिएको कोरोना फोलक पर्सन एवं जिल्ला अस्पताल चामेका प्रमुख डाक्टर सन्तोष अधिकारीले बताउनु भयो । उहाँका अनुसार संक्रमितहरूको स्वास्थ्य अवस्थामा सुधार आएको छ । 
यसअघि संक्रमित भएका एक जना निको भई कोरोना मुक्त जिल्लाको सूचिमा मनाङ गणना समेत भइसकेका थियो । केही दिनदेखि जिल्ला अस्पतालमा उपचार गराइरहेका ४२ बर्षीय पुरुषमा भने कोरोना संक्रमण नेगेटिभ देखिएको डाक्टर अधिकारीले बताउनु भयो ।  
मनाङ जिल्लामा हालसम्म स्थानीय कसैमा पनि कोरोना संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शर्माले जानकारी दिनु भयो । 

No comments:

Post a Comment