विष्णुकुमार श्रेष्ठ
सुन्दरबजार(लमजुङ)- मोटरेबल पुलले दुई जिल्ला लमजुङ र तनहूँलाई जोडेको छ । लमजुङको व्यावसायिक केन्द्र सुन्दरबजार नगरपालिका- ६ र तनहुँको भानु नगरपालिका- ११ मानेचौका बजार जोड्ने गरी पाउँदी र नाउँदी दोभानमा निर्माण गरिएको मोटरेबल पुलको निर्माण कार्य सम्पन्न भएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) का कारण केही समय ढिला गरी पुल सम्पन्न भएको हो । सपना निर्माण सेवा हेटौंडाले उक्त पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौता मिति २०७६ पौष १८ गते थियो तर नेपाल सरकारले घोषणा गरेको लकडाउनले गर्दा अन्तिम चरणमा निर्माण कार्य रोकिएरहाल आएर सम्पन्न भएको हो । उक्त पुलको निर्माण लागत २१ करोड रुपैयाँ रहेको निर्माण कम्पनीका साइड इन्जिनियर सुसान बस्नेत बताउनु भयो । उहाँका अनुसार पुलको निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । साइड इन्जिनियर सुसान बस्नेतले दिनु भएको जानकारी अनुसार पुलको १९५ मिटर लम्बाइ र ११ मिटर चौडाई रहेको छ ।
उक्त पुल सञ्चालनमा आएसँगै बर्षातमा पाउँदी र नाउँदी खोलाले यातायात सञ्चालनमा गर्ने अबरोध पूर्ण रुपमा हट्नुका साथै पैदल यात्रीलाई समेत सहज भएको सुन्दरबजार चेम्बर अफ कमर्सका अध्यक्ष विष्ण्कुमार श्रेष्ठले बताउनु भयो । उक्त पुल निर्माण भए पछि अबका दिनमा सुन्दरबजारको आर्थिक विकासमा थप टेवा पुग्ने एभरेस्ट साकोसका प्रबन्धक ज्ञानबहादुर नेपालीले बताउनु भयो । त्यस्तै पुल सञ्चालनमा आए पश्चात् आफ्ना बाल बच्चा पढ्नको लागि स्कुल लान ल्याउन सहज हुनुका साथै सुन्दरबजारसम्म कृषि उत्पादित बस्तुहरु ढुवानी गर्न सहज हुने बताउनुहुन्छ भानु नगरपालिका– ११ मानेचौका तनहूँ निवासी सिर्जना जिसी ।
सयपत्री मा. वि. सुन्दरबजारको गेटबाट पुलको मुखसम्म सुन्दरबजार नगरपालिका- ६ ले पटक पटक सडक स्तरोन्नतिका साथ उपभोक्ता समिति मार्फत नाला निर्माण कार्य सम्पन्न गरेको भएपनि पुल निर्माणका लागि प्रयोग गरिएका हेभी इक्युपमेन्ट त्यही बाटो भएर ल्याउनु परेका कारणले सडकमा अहिले यातायातका साधन चल्न कठिन अवस्था सिर्जना भएकोले उक्त सडक र नाला पुनः स्तरोन्नति गर्नु पर्ने अवस्था भएको छ । यसबारेमा वडासमितिमा सम्पर्क गर्दा ‘यो बारम्बार खड्केको विषय हो, फेरि निर्माणका लागि वडासमिति तयार रहेको सुन्दरबजार नगरपालिका- ६ का वडा अध्यक्ष रघुनाथ मिश्रले बताउनु भयो ।
उक्त पुल सञ्चालन पश्चात् यहाँका बासिन्दालाई आवात जावत गर्न, विद्यालय क्याम्पस, अस्पताल जान, खेतिपातिका लागि सहज भएको भन्दै स्थानीयबासीले खुशी भएका छन् ।
उक्त पुल सञ्चालनमा अएपछि तनहूँको भानु नगरपालिका- ११का बासिन्दाका साथै लमजुङ सुन्दरबजार नगरपालिका- ६ र २का बासिन्दारू प्रत्यक्ष लाभान्वित हुने छन् ।
स्मरणीय छ, लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले गत महिना स्थलगत निरीक्षण गरी पुल छिटो सम्पन्न गर्न निर्देशन दिनुभए पश्चात् पुलको निर्माण कार्यले गति लिएको थियो ।

No comments:
Post a Comment