लमजुङ । लमजुङको घाम्राङमा तितेपातीको व्यवसायिक तेल उत्पादन शुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर, घाम्राङ लमजुङले उक्त कार्य गरेको हो । लमजुङको उत्तरी क्षेत्रमा रहेको क्ब्होलासोंथर गाउँपालिका- ८ को घाम्राङबेसी, साविकको भोजे गाउँपालिकाको मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीको तेलको व्यवसायिक उत्पादन थालिएको हो ।
यसको परीक्षण उत्पादन गतबर्ष नै गरी सफल भएको हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए । उहाँका अनुसार छ सय केजी तितेपातीबाट एक लिटर तेल निस्कने रहेछ । उक्त तेलको बजार मूल्य यो वर्ष प्रति लिटर छ हजार रुपैयाँ रहेको छ । तितेपाती प्रतिकेजी चार रुपैयाँमा आफूहरूले गाउँलेहरूसँग खरिद गर्ने गरेको गुरुङले बताउनु भयो । उहाँका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैया खर्च लागेको छ । उहाँले भन्नुभयो, ‘त्यसमध्ये १४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम आफूहरू कम्पनीका सञ्चालक चार जनाले संकलन गरी बेहोर गरेका हौं ।’ कम्पनीको चार सेयर सदस्यमध्ये एक सदस्यमा स्थानीय कोम्रो सामुदायिक वन उपभोक्ता समिति पनि छ । त्यो वन क्षेत्रबाट दाउरा र तितेपाती संकलन गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार कम्पनीका अन्य सदस्यमा इश्वरबहादुर गुरुङ र खड्गबहादुर परियार हुनुहुन्छ ।
नेपाली काँग्रेसका नेता तथा समाजसेवी कम्पनीका अध्यक्ष गुरुङले मेसिन पुरै स्टिलको भएको हुँदा अलिक महंगो पर्न गयो भन्नुभयो । उहाँका अनुसार यो मेसिनले उत्पादनमा गुणस्तर कायम हुने र बढी टिक्ने भन्ने निर्माण कम्पनीको दावी छ । उहाँले भन्नुभयो, ‘यो मेसिन नवलपुर गैंडाकोटमा रहेको नेपाल मेटेरियल इन्जिनियरिङ वर्कसपले निर्माण गरेको र यहाँसम्म आएर जाडन गर्ने काम गरी फर्केको हो ।’
उक्त कम्पनीका लागि आवश्यक तितेपाती आफूले एक भारीमा ८० केजीसम्म बोक्ने गरेको सोमबहादुर परियारले बताउनु भयो । उहाँका अनुसार मैले दिनमा पाँचभारीसम्म संकलन गर्न सक्छु । महिलाहरूले बोक्ने भारीमा ४० केजीदेखि ५० केजीसम्म हुने गरेको छ ।
उक्त मेसिनलाई तितेपातीले तीनदेखि चार महिनासम्म काम दिन सक्ने हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले उल्लेख गर्नु भयो । उहाँका अनुसार अन्य समयमा रोजमरी, तुलसी, जेनेमियमको उत्पादन थाल्ने सोच बनाएका छौं । त्यसका लागि गाउलेलाई रोजमरी, तुलसी, जेनेमियमको खेती गर्न लागएको गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि हर्बो कम्पनीले नै नर्सरी स्थापना गरी विरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई दिने गरेका छौं ।’
उत्पादिन तितेपाती तेलको बजार बारेको जिज्ञासामा यो सबै विदेश जाने हो, अमेरिका, जापान, युरोपका देश रहेको यसको बजार क्षेत्र तर हामीसँग ठूलो स्केल नहुने भएको हुँदा हामी नेपाली सप्लायर्सलाई दिने सोचमा छौं हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस तेलको बजार मूल्य प्रति लिटर गत वर्ष त नौ देखि १० हजार रुपैयाँ थियो । ऐले लकडाउनका कारणले ६ हजारमा झरेको भन्ने खबर छ ।’
तत्कालका लागि मेसिनमा दाउराको प्रयोगबाट तेल निकालिने कम्पनीका सेयर सदस्य खड्गबहादुर परियारले बताउनु भयो । उहाँका अनुसार एक वाहन तेल निस्कन चार घण्टाको समय लाग्दो रहेछ । उहाँले भन्नुभयो, ‘शुरुको एक घण्टा मेसिन तात्न लाग्छ । त्यसपछिका तीन घण्टामा पातीको प्रशोधन भई तेल निस्कन्छ ।’ एक बाहनका लागि ५ भारी(डोको) दाउरा लाग्ने र त्यो प्रति भारी एक हजार आठ सयमा खरिद गर्ने गरेको उहाँको भनाई छ ।
उक्त कम्पनीले हात २ जना एक मिस्त्री र एक सहायकलाई पुरा समयका नोकरी र एक जनालाई आंशिक काम दिएको छ भने दिनमा सात जनादेखि १५ जनासम्मले तितेपाती कम्पनीमा ल्याउने गरेको सो कम्पनीका अर्का सेयर सदस्य इश्वरबहादुर गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले कम्पनीको चालु पूँजी आठ लाख रुपैयाँ राखेका छौं ।’



No comments:
Post a Comment