श्रद्धाञ्जली सभाका प्रमुख अतिथि मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले वडाको उक्त मागलाई मनाङका जनप्रतिनिधिसँग समेत बसेर कार्यान्वयनका लागि प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गरी निणर्यका लागि पहल गर्ने गाउँपालिकाकोतर्फबाट प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो ‘राष्ट्रकवि राष्ट्रिय व्यक्तित्व पालिकाको विशेष सम्पत्ती भएको हुँदा उहाँका नाउँमा स्थापित प्रतिष्ठानले परिवारको सहमति र सहयोगमा बाहुनडाँडालाई सिकाई केन्द्र, साहित्यिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना छ, त्यसका लागि गाउँपालिका सहयोग गर्न तयार छ ।’ पालिकाका अध्यक्ष गुरुङले गाउँपालिकाले पहिलो पटक राष्ट्रकविको निधनमा सार्वजनिक विदा समेत दिएको स्मरण गर्दै उहाँको योगदानको सम्मान गरेको छ र गरिरहने उल्लेख गर्नु भयो ।
कार्यक्रममा सो वडाका अध्यक्ष लिलाप्रसाद घलेले वडासमितिको बैठकले बेसीशहर- चामे सडकलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे मार्ग नामाकरण गर्न निणर्य गर्दै माग गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रकविको व्यक्तित्वलाई उजार गर्न र यो क्षेत्रको विकासका लागि आवश्यक काम गर्न वडा समिति तयार छ ।’
पुस्तुन- बाहुनडाँडा घिमिरे समाजको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता कुलबहादुर घलेले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै राष्ट्रकविको योगदान बारेमा प्रकाश पार्नु भएको थियो । सभाका अध्यक्ष प्रेमनाथ घिमिरेले गौरी शोककाव्यका केही पंक्ति वाचन गर्दै राष्ट्रकविकै योगदानबाट यहाँको चन्द्रोदय मावि स्थापना भएको स्मरण गर्नु भयो । उहाँले भन्नुभयो ‘राष्ट्रकवि यस विद्यालयको संस्थापक प्रधानाध्यापक हुनुको साथै म पहिलो विद्यार्थी हुँ ।’ उहाँले राष्ट्रकविको व्यक्तित्व र कीर्तित्वमा प्रकाश पार्नु भएको कार्र्यक्रमका सञ्चालक पुस्तुन- बाहुनडाँडा घिमिरे समाजका कोषाध्यक्ष विष्णुराज घिमिरेले जानकारी दिनुभयो ।

No comments:
Post a Comment