अन्तरङ्ग संवाददाता
बेसीशहर- लमजुङमा कोरोना भाइरस संक्रमितको कुल संख्या १८९ पुगेको छ । पत्रकार महासंघका अध्यक्ष सहित थप १४ जना संक्रमित पुष्टि भएसँगै भदौ १५ गते कुल संक्रमित संख्या १८९ पुगेको हो ।
पत्रकार महासंघ लमजुङका जिल्ला अध्यक्ष आश गुरुङ संक्रमित भएको महासंघको प्रदेश समितिका अध्यक्षद्वारा पुष्टि गरिएको छ । लमजुङमा यसअघि एक जना पत्रकार संक्रमित भई आइसोलेसनमा बसिरहेका छन् । आज संक्रमण पुष्टि भएका १४ जनामध्ये ८ जना महिला भएकोमा एक महिला कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुरुष ६ जनामा एक जना कान्तिपुर पव्लिकेशनका जिल्ला संवाददाता समेत रहनु भएका पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङ हुनुहुन्छ । उहाँले आफू छिट्टै निको भएर काममा फर्कने बताउँदै सबैलाई धैर्य गर्न र संयमित हुन आग्रह गर्नु भएको छ ।
थप भएका संक्रमितमध्ये २ सुरक्षाकर्मी हुन् भने अन्य सबै १० जना समुदायका व्यक्ति हुन् । संक्रमितहरू महिलालाई जिल्ला सामुदायिक अस्पतालको आइसोलेसन र पुरुषलाई बेसीशहर नगरपालिका- ७ स्थित शहरी विकास कार्यालयको भवनमा निर्माण गरिएको आइसोलेसनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार संक्रमित सबैको अवस्था सामान्य छ ।
यसैबीच, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले आजै एक प्रेस नोट जारी गर्दै पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङमा कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नु भएको छ । प्रेस नोटमा प्रदेश समितिको तर्कबाट गुरुङ सहित कोरोना संक्रमित सबै पत्रकारहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । साथै सबै पत्रकार साथीहरूलाई आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न र सञ्चार माध्यमहरूलाई पनि सुरक्षा सतर्कता अपनाएर मात्रै काममा लगाउन बिशेष ध्यानाकर्षण गराउन चाहन्छु पौडेलले भन्नुभएको छ ।

No comments:
Post a Comment