यौटा किस्साको खुव याद आउँछ । कुनै गाउँमा एक जना गरीब किसान बस्दथे । उन्को छोरीको बिहे गर्ने बेला भएछ । बुढा आफू किसान भए पनि शब्दको बीच बीचमा केही न केही शब्द मिसाएर बोलेर धनी भएको स्वआभाष गर्ने गर्थे । उन्लाई- प्रबन्ध र प्रतिबन्ध दुबै शब्दको शब्दार्थ थाहा थिएन । तर पनि उन्ले प्रबन्ध र प्रतिबन्ध दुबैलाई यौटै सोचेर प्रबन्धको ठाउँमा प्रतिबन्ध भन्ने शब्दको प्रयोग गर्ने गर्दथे । जब उन्को छोरीको बिहे हुन लागेछ, उन्ले नानी र पानी बाहेक केही दिन सक्दिन भन्नु पर्नेमा कुनै देशका प्रधानमन्त्रीले झैं घुमाई फिराई बोल्ने क्रममा यसरी बोलेछन्- ॅए हजुर ¤ अरु त त्यस्तै हो म मेरो छोरीका बिहेमा पानीमा प्रतिबन्ध लगाई दिन्छु
वाह ¤ बोल्नेका जिभ्रो जसरी चिप्ले पनि हुन्छ, यहाँ बोल्नलाई पैसाको कर तिर्नु पर्दैन क्यारे, पैसाको कर लगाएर बोल्न लगाउने हो भने यिनीहरूले कति सटिक र छोटो बोल्थे होलान् हैन तर जस्लाई जे भने पनि भएको छ, जे बोलिदिए पनि भएको छ । अब त यो राम राज्य नै भयो । उहाँले बोलेपछि हामीले मान्नु पर्यो । राज्यको उच्च निकायको मानिसले बोलेको कुरो झुटो भनेर किन मान्नु र ? उहाँले यो बोलेको सही हैन भने यस अगाडि कालापानीको बिषयमा उहाँले चाल्नु भएको कदमलाई सत्य मानौं कि झुटो ?
साँच्चै यहाँ राम राज्य भए पछि सबैले न्याय पाउँछन् हैन ? द्वन्द्वकालीन समयको मुद्धा अब छिनिने भयो भनेर हामी ढुक्क भयो हैन ? सबैको घरमा दुई छाक पुग्ने गरि खान पुग्ने भो हैन ? खै रामराज्यमा हात धुने भनेर भनेको नै छ तर मेलम्चीको पानी कहिले आउने हो ? यो राम राज्यमा भारतीय समाचार च्यानल राज्यले हैन, सेवा प्रदायक संस्थाले बन्द गर्दा कहिले चाहिँ भारतीय सबै च्यानल बन्द भएर भारतको मिडिया आतंकबाट रामराज्यका जनताले मुक्ति पाउने हुन् ? यो राम राज्यमा भारतका बिषादी युक्त तरकारी खानबाट कहिले मुक्ति पाउने हुन् ? भारतीय गाडीको ट्वाँ ट्वाँ र ट्यार्र ट्यार्रबाट यहाँका मानिसले कहिले मुक्ति पाउने हुन् यो राम राज्यमा ?
बिना तुक र प्रमाण किन बोलिन्छ यहाँ ? बिना आधार किन बोलिन्छ ? किन बोल्न अगाडि पर्याप्त तयारी गरिन्न ? एक पटक चन्द्र समशेरको पालामा प्रधानमन्त्रीको भाषणमा यस्तो भएको थियो । जहाँ चन्द्र शमशेरको भाषणमा हुनै नसक्ने कुुरा उल्लेख गरिएको थियो । पछि गोरखापत्रमा छाप्न लाग्दा गोरखापत्रको सम्पादकले मिलाउनु परेको थियो । पछि चन्द्र शमशेरले ती भाषण तयार पार्नेलाई कारबाही गरे भन्ने सुन्नमा आयो तर हाम्रा अरिङ्गालका राजालाई हामीले अर्ति दिने हो भने अरिङगाल खनिएर अवगाल पाईन्छ । बोल्न हुन्न । बोल्यो कि त दक्षिणकाले ठेले र पेले भन्ने मात्र उहाँको भनाई आउँछ तर कस्ले हो नामै तोकेर बोल्न सक्ने हैसियत उहाँको छैन ।
आफै दल मिलाउन नसकेर दलदलमा परेको बेला देश कसरी मिलाउँथे यो रामराज्यका अरिङ्गालका माउले ? अरिङ्गालको गोलोलाई व्यवस्थित गर्न उत्तरको धुप बाल्नु पर्ने हो र ? यान्छि भन्ने कान्छिले धुप धुँवार गरेपछि यो गोलो मत्थर भएर त्यहाँका एक टाउके अरिङ्गालले रामराज्यको हुँकार फालिरहेका छन् तर राम राज्यका मानिसले सरिता गिरी जस्तै मानिसलाई देश निकालाको माग गरेका छन् के यो सम्भव होला ? राम राज्यका मानिसले अंगिकृत नागरिकता भएका मानिसलाई रामराज्यको सभामा देख्न चाहेका छैनन्, के यो सम्भव होला? राम राज्यका मानिसले बुद्धको जन्मभूमि यहि भूमि हो भनेर स्थापित भएको हेर्न चाहन्छन् के यो सम्भव होला ? रामराज्यका मानिसले कालापानी यहिँ भएको हेर्न चाहन्छन् अनि तपाईले बोलेका हरेक कुरा हावादारी नभै सत्य नै हो भन्न चाहन्छन् । अनि सम्बृद्धि हाम्रै पालामा भएको हेर्न चाहन्छन् । हामीलाई भारतको अयोध्या नै हामीलाई चाहिन्न, हामीलाई नभएको पानी जहाज पनि चाहिँदैन । हामीले चाहेको समुन्नत समाज हो । के दिन सक्नुहुन्छ हजुरले? अनि बल्ल भनुँला यहाँलाई रामराज्यमा हार्दिक स्वागत छ भनेर । तारेमाम्
No comments:
Post a Comment