साहित्यिक समाचार - अन्तरङ्ग

अन्तरङ्ग अपडेट




Saturday, May 16, 2020

साहित्यिक समाचार


साहित्यिक समाचार

शताब्दी पुरुष जोशी १०१ वर्षमा, भन्नुहुन्छ– नेपाली साहित्यले नोवेल पुरस्कार पाएको देख्न मन छ

ललितपुरवरिष्ठ साहित्यकार संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुग्नु भएको छ । नेपाली कला, संस्कृति र साहित्यमा अतुलनीय योगदान गर्नु भएका जोशी वैशाख ३० गते १०१ वर्ष मा पदार्पण गर्नु भएको हो ।
यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रोक्न लकडाउन गरिएको कारणले उहाँलाई शुभकामना दिने औपचारिक कार्यक्रमहरू आयोजना भएनन् । गत वर्ष ललितपुर उपमहानगरपालिले  सत्यमोहनको सम्मानमा नगरपरिक्रमा, रक्तदान, नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान लगायतका कार्यक्रम गरेको थियो ।

यो वर्ष जोशी १०१ वर्ष पुग्नु भएको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिनु भएको छ । उहाँले संस्कृतिविद् जोशीको सुस्वास्थ्यको कामना गर्दै ट्वीटरमार्फत् शुभकामना दिनु भएको हो । राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित सांस्कृतिक प्रतिरूपको उपमा दिनु भएको छ ।


यसैबीच, उहाँको १०१ औं जन्मदिनको अवसरमा उहाँलाई भेट्न आउने आफन्त, शुभचिन्तकहरू तथा सञ्चार माध्यमका भीडमा पनि जोशी सधैंझैं सामान्य अवस्थामा देखिनु हुन्थ्यो । एकपछि अर्को सञ्चार माध्यमका क्यामरा र प्रश्न सामना गर्दै भन्नुभयो, ‘अब मलाई मेरो शारीरिक अन्त्यको डर छैन ।किनकि, उहाँको भौतिक र औपचारिक रुपमा सय वर्ष काट्ने इच्छा थियो, जो आजबाट त्यो सय वर्ष नाघ्ने इच्छा पनि पूरा भएको थियो ।

पत्रकारले उहाँलाई सोधे ‘‘अब चाहिँ तपाईंको इच्छा के छ?’ उहाँले भन्नुभयो, ‘‘मलाई अब कुनै नेपालीले साहित्यमा नोबेल पुरस्कार जितेको हेर्ने इच्छा छ ।
‘‘यो सम्भव होला र ? ‘तपाईंले त्यस्तो सम्भावना देख्नुभएको छ र ?’ भन्ने थप जिज्ञासामा जोशीले थप जोड्दै भन्नुभयो, ‘‘राष्ट्रकवि माधवप्रसाद घिमिरेको अश्वत्थामालाई नोबेल पुरस्कार दिलाउन मदनमणि दीक्षितले भरमग्दुर प्रयत्न गरेकै हुन्,’ जोशीले थप्नु भयो, ‘‘हाम्रो धर्मशास्त्रका घटना र पात्रलाई पश्चिमाहरूले मनन् गर्नै सकेनन् ।
दुई फरक समाज र संस्कृतिको भेदले नै यस भेगका लेखकहरूको नोबेल पुरस्कारसम्म पहुँच पुग्न नसकेको उहाँको  धारणा छ । त्यो परिस्थिति फेरिने बित्तिकै नेपालीले पनि नोबेल पुरस्कार जित्न सक्ने उहाँको भनाइ छ ।
यतिबेला कोरोना भाइरसको आतंकलाई लिएर संसारभर हलचल मच्चिरहँदा आफूलाई भने त्यति भय नलागेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘मर्छु भनेर डराउनुको खासै अर्थ देख्दिनँ, ‘हामी सबैको भौतिक अन्त्य एकदिन हुनु नै छ ।
यस किसिमका महामारी आफूले सयवर्षे जीवनमा धेरैपटक देखेको र कहिल्यै विचलित नभएको उहाँले स्मरण गर्नु भयो । उहाँले बताउनु भयो, ‘‘मेरो बाल्यकालमा बिफरको खोप थिएन, पछि वैद्यले जीवनभर नाडीमा कालो दाग देखिने गरी सियोले घोचेको क्षण पनि देखियो, ‘जस्तोसुकै अवस्थामा संसार अघि बढेको छ ।
जस्तोसुकै महामारी आए पनि सृष्टिले आफ्नो गन्तव्य लिएरै छाड्छ । उहाँले भन्नुभयो, ‘आज बिहानै मलाई अमेरिकामा बस्ने नेपालीहरू सम्म सोझै लैजाने गरी मोबाइलबाट प्रत्यक्ष प्रसारण गरिएको क्षण पनि भोगेँ ।बिफरको मात्र के कुरा ? भन्दै २००३ सालतिर प्लेगले पनि धुन्धान मानिस मरेको मैले देखेको उहाँले सम्झनु भयो ।
जोशीलाई पछिल्लो समय आँखाको कमजोरीले लेखपढमा समस्या हुन थालेको छ । तर पनि रातको ११ बजेसम्म केही लेखपढ गर्ने गर्नु हुन्छ । आफ्नो दैनिकी सुनाउँदै भन्नुभयो, ‘‘सधैंजस्तै आज पनि बिहान पाँच बजे नै समाचार सुन्न उठिसकेको थिएँ ।
जोशीले पछिल्लो समय आफू लिखित ‘‘श्वेत चैत्यलाई दामोदर शर्माले अंग्रेजीमा अनुवाद गर्नु भएको र त्यसलाई प्रकाशन निम्ति महानगरपालिकाले प्रेसमा लगिसकेको जानकारी दिनुभयो ।
शताब्दी पुुरुष जोशीको ललितपुरको बखुम्बहालस्थित पुख्र्यौली घर भत्काएर त्यहाँ लोक साहित्य भवन बनाउने जानकारी निर्माण समितिकी कोषाध्यक्ष लक्ष्मीशोभा शाक्यले दिनुभयो ।

स्मरणीय छ, शताब्दी पुरुष जोशी गत वर्ष एक सय वर्ष पुग्नु हुँदा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक बिदा दिएको थियो । शतवार्षिकीमा उहाँको भव्य नागरिक अभिनन्दन गरिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी उहाँको जन्मशताब्दी मनाउने घोषणा गरेको थियो ।

No comments:

Post a Comment