तनहुँ । तनहुँमा आज एक जनालाई सामाजिक बहिष्कार गरिएको छ । युवा व्यवसायी लक्ष्मण रानाभाटलाई उनकै गाउँ रिसिङ-४, रोमुडका स्थानीयवासीको बुधबार सम्पन्न भेलाले सामाजिक बहिष्कार गर्ने निर्णय गरेको हो । भेलामा व्यास नगरपालिका, भादगाउँका केही व्यक्तिसमेत गएका बताइएको छ ।
सोही गाउँका शिक्षक दानबहादुर रानाभाट र निजका छोरा अमीर रानाभाटले अनधिकृत रूपमा स्थानीय सामुदायिक वनबाट काठ बिक्री गरेको अभियोगमा जिल्ला वन कार्यालयमा उजुरी परेको विषयलाई लिएर सामुदायिक वन उपभोक्ता समितिकै अगुवाइमा भेला गरी करिब १०० जनाले हस्ताक्षर गरेका पीडित पक्षको भनाइ छ ।
`लकडाउनको समयमा सोझासिधा जनतालाई भेला गरी यस्तो असामाजिक निर्णय गरिएको छ´ पीडित पक्षका एक व्यक्तिले भने । रानाभाट बाबुछोराले यसअघि पनि वैशाख २६ गते शुक्रबार त्यस्तै भेलामा ७५ वर्षीय वयोवृद्ध कालिदास रानाभाटलाई ढुङ्गाले हानी घाइते बनाएका पीडितको आरोप छ । घाइतेको गण्डकी अस्पताल पोखरामा उपचार गराएपछि सोही विषयमा उजुरी दिँदा जिल्ला प्रहरी कार्यालय दमौलीले गाउँमै मिलाउन सुझाएर पठाएको थियो । स्थानीय प्रहरी चौकीमा निवेदन दिइएको भए पनि विवाद नमिलेपछि सोही विषयलाई लिएर भएको करिब १५० जनाको भेलाले लक्ष्मणलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको बताइएको छ ।
सामाजिक बहिष्कार गर्नुपर्ने कुनै पनि काम आफूबाट नभएको रानाभाटको भनाइ छ । घटनामा स्थानीय बुद्धिजीवी भनिनेकै संलग्नता रहेको पीडितको भनाइ छ ।
No comments:
Post a Comment