कोभिड—१९ अनि ‘सुतेका र मरेका’ शिक्षक
-गौरी ढकाल |
जब हामी विद्यार्थीेहरुका बारेमा चिन्ता गर्न थाल्दछौँ, त्यहाँ शिक्षकको उपस्थिति र महत्वलाई व्याख्या गरिरहनै पर्दैन । विद्यालय तहदेखि विश्वविद्यालय तह र अनुसन्धान तहसम्म पनि हाम्रो शिक्षण सिकाइको रुप तथा शैक्षिक कार्यक्रम मुख्यतः प्रत्यक्ष अन्तरक्रियात्मक (face-to-face) सिकाइको अवधारणामा आधारित रहेको छ तर कोभिड—१९ को सङ्क्रमणको खतराको कारण गत चैत एघार गतेदेखि मुलुक लकडाउनमा रहेको छ ।
यस प्रतिकूलताको सबैभन्दा छटपटी र हुटहुटी कसैलाई छ भने शिक्षकलाई नै छ । त्यसैले शिक्षकहरुले जुन ठाउँमा जसरी सम्भव छ, त्यसरी नै विद्यार्थीको पठनपाठनलाई सहयोग पुर्याउन सकिने विकल्पहरुको खोजी र प्रयोगको प्रयास गरिरहेका छन् ।
त्यसैले, शिक्षक तथा विद्यार्थीे विद्यालयमा उपस्थित भई सिकाइका क्रियाकलाप गर्न सक्ने स्थिति छैन । यस्तो अवस्थामा अभिभावक, विद्यार्थीे तथा शिक्षासँग सरोकार राख्ने सम्पूर्ण निकायहरुका साथै शिक्षक आफैँले पनि केही ठोस अवधारणा बनाएर कार्यान्वयनमा जान नसकेको नमिठो यथार्थ सर्वविदित नै छ । यस प्रतिकूलताको सबैभन्दा छटपटी र हुटहुटी कसैलाई छ भने शिक्षकलाई नै छ । त्यसैले शिक्षकहरुले जुन ठाउँमा जसरी सम्भव छ, त्यसरी नै विद्यार्थीको पठनपाठनलाई सहयोग पुर्याउन सकिने विकल्पहरुको खोजी र प्रयोगको प्रयास गरिरहेका छन् ।
यो विषम समयमा शिक्षा मन्त्रालयदेखि स्थानीय तहसम्मका शिक्षासँग सरोकार राख्ने र जिम्मेवार क्षेत्रहरुबाट पनि महामारीका बीचमा शिक्षालाई व्यवस्थित गर्न सकिने उपायका बारेमा विचार, विमर्श र छलफलहरु भइरहेका छन् । विभिन्न विद्धान् तथा शिक्षाविद्हरुले पनि सम्भावित विकल्पहरुका बारेमा सुझाव दिइरहनुभएको छ । विद्यालय बन्द रहेका र त्यसको सम्भावित विकल्पहरुको खोजी चलिरहेको यो सङ्कटपूर्ण अवस्थामा रहिरहँदा केही दिनयता नेपालका एक जना शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाको एउटा वक्तव्यले सामाजिक सञ्जाल राम्रैसँग तातिएको छ । उहाँ भन्नुहुन्छ, “शिक्षक र प्राध्यापक अहिले सुतेर बसेका छन् । अझ मरेर बसेका छन् भन्छु म ।” उहाँको यो अभिव्यक्तिले इमानदार र कर्तव्यनिष्ठ तथा यस पेसाप्रति गर्व गर्ने सम्पूर्ण शिक्षकहरुको पेसागत स्वाभिमानमाथि ठूलो प्रहार भएको छ । शिक्षकहरुमा सधैँ यसरी नै प्रहार भइरहँदा आम शिक्षक वर्गको पेसागत आत्मसम्मानमा ठूलो आघात पुगेको छ ।
यस्तो महामारीका बेला पनि शिक्षकले देशव्यापी रुपमा आफ्नो साधन, श्रोत र क्षमताले भ्याएसम्म विद्यार्थीहरुलाई मनोपरामर्श दिने, अनलाइन शिक्षण, रेडियो तथा टेलिभिजनबाट शिक्षण गर्ने आदि कार्यहरुमा आफूलाई व्यस्त राखिरहेका छन् । अझै, उनीहरु आफ्नो, परिवार तथा समुदायको स्वास्थ्यलाई पनि ध्यानमा राख्दै समय व्यवस्थापन गरेर केही न केही सिर्जनशील तथा पेसागत क्षमता अभिवृद्धिका काममा व्यस्त राखिरहेका छन् । देशभरबाट स्वतःस्फूर्त रुपमा शिक्षकहरुले आफ्नो सूचना तथा सञ्चार प्रविधि (ICT) सीप तथा शिक्षण कौशल (Pedagogy) क्षमता विस्तारका लागि विभिन्न अनलाइन मिटिङ, ट्रेनिङ तथा वेविनारहरुमा सहभागी भएर ज्ञानसीपको पुनःताजगी गर्ने कार्यमा शिक्षकहरु दत्तचित्त भएर लागिपरेको अवस्था रहेको छ । सरसर्ती हेर्दा यो लकडाउन अवधिमा नेपालमा घरभित्रै बसेर सबैभन्दा बढी सङ्ख्यामा शिक्षक नै सक्रिय छन् ।
शिक्षासँग सम्बन्धित विभिन्न संस्थाहरु— अङ्ग्रेजी भाषा शिक्षकहरुको राष्ट्रिय संस्था (NELTA), प्रविधिमैत्री शिक्षक समाज (STFT), शिक्षकका विभिन्न सङ्घ/सङ्गठनहरु, विषयगत समूहहरु तथा व्यक्तिगत तवरबाट अत्यधिक सङ्ख्यामा तालिम तथा छलफल कार्यक्रमहरु दिनहुँ सञ्चालन भइरहेका छन्, जसमा असङ्ख्य शिक्षकहरुको सक्रिय र उत्साहजनक सहभागिता रहेको छ । त्यस्तै, British Council, US Embassy, Scholar’s Association Nepal लगायतका संस्थाहरुले चलाइरहेका अन्तर्राष्ट्रिय शैक्षिक बहस तथा क्षमता विकासका कार्यक्रमहरुमा सहभागी भएर यस महामारीको समयमा विभिन्न देशमा गरिएको शैक्षिक अभ्यासको जानकारी लिँदै आफ्नो तहबाट के गर्न सकिन्छ भनी शिक्षकहरु चिन्तनशील भइरहेका छन् ।
शिक्षा क्षेत्रको लागि न त शिक्षकको तर्फबाट एकै पटक यत्तिका धेरै कार्यक्रमहरु यसभन्दा अगाडि कहिल्यै गरिएको थियो, न त सरकार वा अन्य कुनै सार्वजनिक सरोकारका संस्थाबाट नै । विश्वव्यापी परिस्थिति, नेपालको वर्तमान भौगोलिक, आर्थिक, प्रशासनिक तथा शैक्षिक अवस्था, हाम्रा व्यावहारिक वस्तुस्थितिको अध्ययन गर्दै तत्काल भइरहेका सम्पूर्ण क्रियाकलापको बारेमा सरोकारवालाहरुको तर्फबाट केही न केही अवलोकन तथा मूल्याङ्कन अवश्य नै भइरहेको पनि होला । के शिक्षक र प्राध्यापक साँच्चै सुतेर बसेका र मरेर बसेका होलान् त शिक्षाविद्ज्यू ?
पोखरा, dgauri58@gmail.com
स्रोत : saranginews.com
स्रोत : saranginews.com
No comments:
Post a Comment