रामलाल जोशीको ऐनालाई मदन पुरस्कार
लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री
काठमाडौं, असोज ४ गते । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीको ऐना कथा संग्रहलाई दिने निर्णय गरेको छ ।
गुठीले ऐनालाई मदन पुरस्कार र लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको छ । दुबै पुरस्कारको राशी दुई-दुई लाख रुपैयाँ छ ।
मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग थिए ।
यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।
अझै परिपक्व भएर लेख्ने रामलाल जोशीको भनाइ
कैलालीको धनगढीमा बसेर साहित्य कर्म गर्दै आएका रामलाल
जोशीले आफ्नो कथासंग्रह ‘ऐना’ ले मदन पुरस्कार पाएको खबर
धनगढीमै पाए ।
धनगढीबाट उनले भने, ‘कहिल्यै चर्चामा नआएको र पर्दामा नदेखिएको लेखकको
सिर्जनालाई मदन पुरस्कारले विश्वास गर्यो । निष्पक्ष मूल्यांकन भएको महसुस
भइरहेको छ ।’
नेपालमा राजनीति, साहित्यका साथै हरेक
क्षेत्रमा सोर्स-फोर्स र विकृति देखिरहेको बेला आफूले मदन पुरस्कार पाउँदा स्वच्छ
मूल्यांकन हुने ठाउँ पनि रहेछ भन्ने लागेको उनले बताए ।
हत्तपत्त राजधानीको नजर
नपर्ने मोफसलमा बसेर साहित्य सिर्जना गरिरहेका उनले पाठकको मन जित्न सक्छु कि
सक्दिनँ भन्ने दोधारमा गत वर्ष कथासंग्रह ‘ऐना’ प्रकाशनमा ल्याएका थिए ।
तर, कृति प्रकाशनमा आएसँगै
सुदूरपश्चिमको आञ्चलिक स्वाद पस्किएको भनेर पाठकबाट त राम्रो तारिफ पाए नै, प्रतिष्ठित पुरस्कार पाएपछि
केन्द्र मोफसलप्रति पूर्वाग्रही हुने गरेको धारणा पनि मेटिएको महसुस गर्न पाएका
छन् ।
डोटी जिल्लाको कानाचौरबाट
०५० सालमा धनगढी झरेका रामलाल पछिल्लो समय धनगढीमै साहित्य तथा जीवनकर्ममा व्यस्त
छन् । त्यहाँ हुने हरेक साहित्यिक कार्यक्रममा उनी पुगेकै हुन्छन् । उनी धनगढीकै
पञ्चोदय उच्चमाविमा नेपाली विषयका शिक्षक हुन् । साहित्यिक कार्यक्रममा सरसंगति
गर्दै सिर्जनामा रमाउँदै जाँदा उनले ०५७ सालमा गजलसंग्रह ‘हत्केलामा आकाश’ प्रकाशनमा ल्याएका थिए । ‘ऐना’ उनको दोस्रो कृति हो ।
गजलबाट किन कथा लेखनमा हात
हाले रामलालले ?
‘गजल सानो विधा भएकोले मैले
देखे-भोगेको स्थानीय जनजीवनका कुरा उतार्न सम्भव थिएन । सुदूरपश्चिमको जनजीवनलाई
चित्रात्मक र विम्बात्मक रुपमा उतार्न कथा नै लेख्नुपर्ने देखेँ’ उनले भने ।
ऐना संग्रहमा १९ वटा कथा
छन् । तिनमा सुदूरपश्चिम क्षेत्रका सामाजिक पीडा, वादीहरुको भोगाइ लगायतका
विषय समेटेका छन् ।
धेरै नेपाली लेखकको सपना
हुन्छ, मदन
पुरस्कार पाउने । यस्तो पुरस्कार पाइसकेपछि रामलालको अबको सपना के छ ? यो पुरस्कारबाट आफ्नो
लेखनमा के फरक पर्ने उनले महसुस गरेका छन् ?
जोशीले सुनाए, ‘कथासंग्रहबाट
पाठक-समीक्षकहरुबाट राम्रो टिप्पणी पाएँ । अझै सुध्रेर र परिपक्क भएर लेखनमा
लाग्छु ।’
धेरै कवि, लेखकहरुले उपन्यासमा आफ्नो
आकार फैलाइरहँदा उनको पनि यस्तै सोच छ कि ?
उनले थपे, ‘सुदूरपश्चिममा नउघ्रेका
पाटाहरु धेरै छन् । त्यसलाई साहित्यमा राम्ररी ल्याउन उपन्यास लेख्ने पनि सोच छ ।’
अनलाइन खबर डट कमबाट साभार
No comments:
Post a Comment